गगन प्रति संकेत गर्दे लेखकले भने- सभापति हटाउने विषय एउटा व्यक्तिले भनेर हुँदैन

नेपालभ्युज

गगन प्रति संकेत गर्दे लेखकले भने- सभापति हटाउने विषय एउटा व्यक्तिले भनेर हुँदैन
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआई पार्टी सभापति शेरबहादुर देउवालाई पदबाट हटाउन नमिल्ने बताएका छन् ।

महामन्त्री गगनकुमार थापाले पार्टी सभापति देउवाले मार्ग प्रशस्त गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक गरेका बेला उनले महाधिवेशनले मात्रै सभापतिलाई पदबाट हटाउन सक्ने विधि र प्रक्रिया रहेको प्रष्टयाएका हुन् ।

पार्टी सभापति, केन्द्रिय समिति चयन गर्ने प्रक्रिया र पद्धति महाधिवेशन भएकाले त्यसबाट मात्रै सभापति चयन हुने वा परिवर्तन हुन सक्ने प्रमुख सचेतक लेखकको भनाई थियो । शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले महामन्त्री थापाप्रति संकेत गर्दै सभापति हटाउने विषय एउटा व्यक्तिले भनेर नहुने बताए ।

काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले यहाँभित्र नेतृत्वप्रति विरोध, समर्थन, आलोचना हुन सक्ने भन्दै प्रमुख सचेतक लेखकले पार्टी सभापति र केन्द्रिय कार्य समितिको नेतृत्व पार्टीका १० लाख क्रियाशील सदस्यहरुको भावनाको प्रतिनिधित्वको आधारमा हुने स्मरण गराए।

‘ कांग्रेस ठूलो, जीवन्त र लोकतान्त्रिक पार्टी हो । कांग्रेसमा वादविवाद, प्रतिवाद, आलोचना, समालोचना, समर्थन, विरोध सबै हुन्छ । जहाँसम्म सभापति को हुने, के हुने भन्ने कुरामा  एउटा निश्चित प्रक्रिया र पद्धतिबाट हुन्छ र, एउटा निश्चित प्रक्रिया र पद्धतिबाट काँग्रेसको सभापति परिवर्तन हुन्छ’ उनले भने, ‘त्यो भनेको  महाधिवेशनबाट कांग्रेसको सभापति बन्ने हो । आगामी महाधिवेशनबाट कांग्रेसको सभापति परिवर्तन हुने हो । त्यसो भएको हुनाले यो एक जना मैले, तपाईले, अर्काले भनेर मात्रै हुने विषय होइन ।’

‘नेपाली काँग्रेसका १० लाख क्रियाशील सदस्य छन । उनीहरुको भावनाको अभिव्यक्ति हो । पार्टीको सभापति बन्ने, केन्द्रिय कार्य समिति बन्ने । किनभने ती दश लाख क्रियाशील सदस्यबाट छानेर आएको प्रतिनिधिहरुले केन्द्रिय कार्य समिति बनाउने हो’ उनले अगाडी भने, ‘त्यसो भएको हुनाले यसको निर्माणको पनि एउटा पद्धति छ । यसको परिवर्तनको पनि एउटा पद्धति छ । यो पद्धति बमोजिम नै हुन्छ ।’

प्रमुख सचेतक लेखकले अरु पार्टीहरुको भन्दा युवा पुस्ता नेतृत्वमा पुर्‍याउने काम नेपाली काँग्रेसले गरेको दावी समेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved