समाजवादी मोर्चा बन्दै, नेतृत्वमा आलोपालो

नेपालभ्युज

समाजवादी मोर्चा बन्दै, नेतृत्वमा आलोपालो

काठमाडौं । दलहरू समाजवादी मोर्चा निर्माणको अन्तिममा तयारीमा जुटेका छन् । सत्तारूढ दल (माओवादी केन्द्र), सत्ता साझेदार दलहरू जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) सँगै नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसमेत मोर्चामा समाहित हुनेछ ।

यसका लागि शुक्रबार (आज) निर्णायक छलफल हुँदैछ । त्यसअघि आजै नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एकता महाअभियानका संयोजक वामदेव गौतमसँग छलफल गर्ने माओवादी केन्द्रका एक नेताले बताए । समाजवादी मोर्चाको अवधारणा डा. बाबुराम भट्टराईकै भएपनि अहिले उनी सकारात्मक देखिँदैन । अहिलेको मोर्चाको प्रयास सत्ताकेन्द्रित मात्रै रहेको उनको बुझाइ छ । यसबारे यसअघि बसेको नेसपा केन्द्रीय समिति बैठकले पनि यस्तै निष्कर्ष निकालेको छ ।

मोर्चाको गृहकार्यमा जुटेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले ४ दलहरूबीच मोटामोटी सहमति भइसकेको बताउँछन् । “माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र संसद्‌बाहिरको नेकपाबीच लगभग सहमति भइसकेको छ,” उनले नेपालभ्यूजसँग भने ।

मोर्चाका लागि मस्यौदा नै बनिसकेको छ । मस्यौदाअनुसार समाजवादी केन्द्र सङ्घीय शासन प्रणालीअनुरूपको नेपाली विशेषताको समाजवाद निर्माणमा उन्मुख रहने महरा बताउँछन् । “प्राप्त उपलब्धिहरूको रक्षा गरेर थप थपलब्धिका लागि प्रयास गर्नका लागि यो समाजवादी मोर्चा बन्ने हो,” उनले भनेका छन्, “सङ्घीय शासन प्रणालीअनुरूपको समाजवाद बनाउनका लागि यसको गठन हुने हो ।”

नेतृत्वमा आलोपालो

मोर्चाको नेतृत्वमा भने आलोपालो हुने एक नेता बताउँछन् । “नेतृत्वको सन्दर्भमा मस्यौदामा आलोपालोको प्रावधान राखिएको छ,” ती नेताले नेपालभ्यूजसँग भने । समाजवादी केन्द्रको गठन विधि, सञ्चालन, निर्णय प्रक्रिया र आबद्ध दलहरूको स्वायत्तताको विषयमा समेत मस्यौदामा स्पष्ट पारिएको छ ।

मोर्चा बनेपछि ऊसँग प्रतिनिधिसभामा ५४ सांसद हुनेछन् । माओवादी केन्द्रका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved