काठमाडौं उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने

नेपालभ्युज

काठमाडौं उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने

काठमाडौं। काठमाडौं उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने भएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए ।

अहिले उपत्यकाका नदीमा वर्षामा बाढी पस्ने र हिउँदमा खोला पूर्णरूपमा सुख्खा हुने समस्या छ । नदी सफा हुनलाई प्रशोधन केन्द्र आवश्यक रहेको उनले बताए । उनले भने, “नदी पूर्णरूपमा सुख्खा हुँदा पानी प्रशोधन हुँदैन । जति पानी बढ्यो पानी प्रशोधित हुँदै जान्छ ।”

गुहेश्वरीमाथि धापमा जस्तै विभिन्न स्थानमा पार्क बनाइने समितिको भनाइ छ । पर्यटकीय हिसाबले महत्त्वपूर्ण हुने तथा हिउँदमा पानी रिचार्ज गरी वर्षामा बाढी नियन्त्रण हुने गरी धाप निर्माणको योजना रहेको उनले जानकारी दिए ।

बागमती करिडोरमा सन् २००९ देखि सन् २०१४ सम्मका लागि बागमती कार्ययोजना बनाइएको थियो । त्यसलाई अध्यावधि गरी सन् २०२३ देखि सन् २०४३ सम्मको कार्ययोजना बनाइएको छ ।

बागमती सफा गर्नका लागि ठोस मात्रै फोहर हटाएर नहुने सूचना अधिकारी अर्यालको भनाइ छ । ढल व्यवस्थापनका लागि सबै खोला किनारमा ढलको लाइन बिछ्याएर प्रशोधन गरिनुपर्ने उनको धारणा छ ।

बागमतीमा ढल निर्माण भए पनि त्यसमा मिसिने अरु खोलामा ढल निर्माण गरी त्यसलाई प्रशोधन केन्द्रमा लैजान आवश्यक रहेको उनले बताए । बागमतीका सहायक र शाखा नदी व्यवस्थित नहुँदासम्म बागमती सफा नहुने देखिएको छ ।

समितिले अहिले नदी किनारमा मात्रै ढलको काम गरिरहेको र त्यसभन्दा बाहेकमा अन्य निकायले काम गरिरहेको हुँदा आपसी समन्वय हुनुपर्ने उनको भनाइ छ ।

समितिले बागमतीको उद्गमस्थल बागद्वारबाट ललितपुरको कटुवाल दहसम्म नदी सफाइ र करिडोर सडक निर्माण एकैसाथ अघि बढाएको छ । बागमती नदी सफा बनाउने उद्देश्यले समिति स्थापना भए पनि पछि यसको कार्यक्षेत्र बिस्तार भएर सफाइसँगै नदी आसपासमा पूर्वाधार निर्माणमा लागेको थियो ।

पशुपति क्षेत्रको वातावरण सुधारका लागि विसं २०५१ चैत २८ गते यसको स्थापना भएको थियो । सुरुमा कार्यान्वयन र अनुगमन समितिका रूपमा स्थापना भएकामा २०६५ साल जेठमा यसलाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति नामकरण गरिएको थियो ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved