काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जलाशययुक्त दुधकोशी जलविद्युत परियोजनामा लगानी प्रक्रिया अगाडी बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका छन् । बिहीवार अर्थ मन्त्रालयमा माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन विभिन्न दातृ निकायका प्रतिनिधिरुसंग छलफल भएको थियो ।
सो छलफलका क्रममा अर्थमन्त्री महतले जलाशययुक्त दुधकोशी जलविद्युत परियोजनामा पनि लगानी प्रक्रिया अगाडी अगाडी बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका हुन् । उनले सुख्खायाममा भारतबाट बिजुली आयात गर्नु परेको उल्लेख गर्दै नेपाललाई धेरै जलाशययुक्त योजनाहरु आवश्यक रहेको उल्लेख गरे ।
उनले नेपालमा पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेको भन्दै यहाँ जलविद्युतको ठूलो सम्भावना रहेको बताए । ‘अहिले पनि नेपालले सुख्खायाममा भारतबाट बिजुली आयात गर्नुपरेको छ । त्यसैले हामीलाई धेरै जलाशय युक्त योजना आवश्यक छ । प्रधानमन्त्रीको भारत भ्रमणले पनि नेपालमा उत्पादिन १० हजार मेगावाट बजार सुनिश्चित गरेको छ’ उनले भने, ‘हामी आन्तरिक बजार बढाउँदै पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेका छौं । त्यसैले नेपालमा जलविद्युतको ठूलो सम्भावना छ ।’
उनले विश्व बैंकले माथिल्लो अरूणमा लगानी गर्न खोज्नु सकारात्मक भएको बताए । ‘हामीले अरूण तेश्रोमा नै विश्व बैंकले लगानी चाहेका थियौं । विश्व बैंक पनि लगानी गर्न तयार थियो, तर विविध कारणले अरूण तेश्रोमा लगानी हुन सकेन’ उनले भने, ‘अहिले माथिल्लो अरूणमा लगानीको विषयमा छलफल हुँदा निकै खुशी लागेको छ ।’
१०६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विश्व बैंक, एशियाली विकास बैंक, जाइका, जर्मनी सरकार, ओपेक फण्ड, युरोपियन युनियन, युरोपियन लगानी बैंक, कुबेद फण्ड, जर्मन, नर्वे, साउदी विकास फण्ड लगायतका दातृ निकायका प्रतिनिधिहरुसँग छलफल भएको थियो ।
Facebook Comment
Comment