कोशी प्रदेशका सिँचाइ तथा स्वास्थ्यमन्त्री मेन्याङ्बोमाथि आक्रमणको प्रयास (भिडिओसहित)

नेपाल भ्युज

कोशी प्रदेशका सिँचाइ तथा स्वास्थ्यमन्त्री मेन्याङ्बोमाथि आक्रमणको प्रयास (भिडिओसहित)

उदयपुर। कोशी प्रदेशका सिँचाइ तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोमाथि आक्रमणको प्रयास भएको छ । बिहीबार यहाँ भुल्केमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका उनलाई पहिचान पक्षधरहरूले आक्रमणको प्रयास गरेका हुन् ।

कोशी प्रदेश नामकरण खारेजीसँगै पहिचानको आधारमा पुन:नामकरणको माग गर्दै आन्दोलनरत घटकहरूले मेन्याङ्बोमाथि आक्रमणको प्रयास गरेका हुन् । उनीहरूले ‘कोशी प्रदेश मुर्दावाद’, ‘कोशी प्रदेश खारेज गर’, ‘पहिचानका आधारमा पुन:नामकरण गर’लगायतका नाराबाजीसमेत गरेका छन् ।

नेकपा (एमाले) को तर्फबाट ताप्लेजुङ प्रदेश सभा १ बाट निर्वाचित मेन्याङ्बो सिँचाइ तथा स्वास्थ्यमन्त्री हुन् । जनता समाजवादी पार्टी (जसपा) की एक्ली सांसद निर्मला तावा लिम्बूले राजीनामा दिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि उनैलाई दिएका हुन् । लिम्बू स्वास्थ्यमन्त्री थिइन् ।

मेन्याङ्बो सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि अल्पमतले परेको कार्की नेतृत्वको सरकारले आन्दोलनरत पक्षसँग वार्ता गर्न गठित वार्ता समितिका संयोजकसमेत हुन् ।  मेन्याङ्बोसँगै उपसभामुख सृजना दनुवार र प्रदेश स्वास्थ्य सचिव डा. सुधा देवकोटासमेत थिए ।

२०७९ फागुन १७ गते प्रदेश सभाले कोशी नामकरण गरेपछि निरन्तर आन्दोलनरत पहिचान पक्षधर घटकहरूले कोशी प्रदेश नामकरण खारेज नभइन्जेल आन्दोलन नरोक्ने अडान लिएका छन् । आन्दोलनका क्रममा पदम लिम्बू ‘लाजेहाङ’को निधन भइसकेको छ भने सयौं घाइते भइसकेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved