२ वटा लेटरहेड चलाउँदै धरान उपमहानगरपालिका, कोशी प्रदेश हटाइएको हो ?

उपमहानगरपालिका प्रशासन भन्छ- 'आधिकारिक निर्णय भएको छैन'

नेपालभ्युज

२ वटा लेटरहेड चलाउँदै धरान उपमहानगरपालिका, कोशी प्रदेश हटाइएको हो ?

सुनसरी । धरान उपमहानगरपालिकाले २ वटा लेटरहेड चलाइरहेको पाइएको छ । उपमहानगरपालिकाले कोशी प्रदेश र प्रदेश नं. १ राखिएको दुवै लेटरहेड चलाइरहेको छ ।

बुधबार (आज) मात्रै काटिएको एउटा पत्रमा प्रदेश नं. १ नै उल्लेख छ । जबकी तत्कालीन प्रदेश नं. १ को नाम २०७९ फागुन १७ गते नै कोशी प्रदेश भइसकेको छ । उपमहानगरपालिकाकै शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गणेशप्रसाद खतिवडाद्वारा हस्ताक्षरित चलानी नम्बर ८०७० भएको ‘बिदा सम्बन्ध’को पत्रमा प्रदेश नं. १ नै उल्लेख छ ।

तर, तत्कालीन प्रदेश नं. १ कोशी प्रदेश भएपछिका अन्य पत्रहरूमा भने कोशी प्रदेश नै उल्लेख छ । यसअघि जेठ १८ गतेमात्रै उनै महाशाखाका प्रमुख खतिवडाद्वारा नै हस्ताक्षरित ७९२९ चलानी नम्बर भएको ‘बिदा सम्बन्ध’कै पत्रमा भने कोशी प्रदेश नै उल्लेख छ ।

यसबारे उपमहानरपालिका प्रशासकीय अधिकृत मातृका भट्टराईसँग बुझ्दा उनले कोशी प्रदेश नहटाइएको बताए । “लेटरहेडबाट कोशी प्रदेश हटाइएको होइन, त्यसबारे निर्णय भएको छैन,” प्रशासकीय अधिकृत भट्टराईले नेपालभ्यूजसँग भने, “त्यसमा नगरप्रमुखज्यूले पनि कुनैखाले निर्देशन दिनुभएको थाहा छैन । आधिकारिक निर्णयहरू पनि भएका छैनन् ।”

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गणेशप्रसाद खतिवडा पनि लेटरहेड नफेरिएको बताउँछन् । तर तपाईंद्वारा नै हस्ताक्षरित दुई फरक पत्रमा फरक-फरक लेटरहेड छ नि ? भन्ने नेपालभ्यूजको जिज्ञासामा उनी भन्छन्, “हामीले पुरानै अर्थात् प्रदेश नं. १ कै लेटरहेड सच्याएर चलाउँदै आएका थियौँ । त्यसमा आजको पत्रमा चाहिँ सच्चिएन रहेछ । तर, लेटरहेड नै परिवर्तन गर्ने निर्णयचाहिँ होइन ।”

उनले त्यसमा प्राविधिक गल्ती भएको स्वीकारे । “हामीले सच्याउँदै चलाउँदै आएका थियौँ । हामीले स्वत:स्फूर्तरूपमा प्रदेश नं. १ लेख्न पाउँदैनौँ । सरकारको निर्णयलाई मान्नुपर्छ । अहिले आन्दोलन चलिरहेकै छ, यस्तो अवस्थामा हामी संयमित हुनुपर्ने कुरा जानकारी हुँदाहुँदै पनि यस्तो हुन पुग्यो होला, तर निर्णय नै भएको भने होइन, सच्याउन मात्रै भुलिएको हो,” उनले भनेका छन् ।

यसअघि पहिचानका आधारमा पुन: प्रदेशको नामकरण हुनुपर्ने मागसहित आन्दोलनरत पक्षले नगरप्रमुख हर्कराज राईलाई भेटेर कोशी नलेख्न र लेखिएका दस्तावेजहरू सच्याउन माग गरेको थियो । तर नगरप्रमुख राईले उक्त आग्रहअनुसार सच्याउने काम गरेका छैनन् ।

यसपछि आज मात्रै सोही उपमहानगरपालिकाको शिक्षा महाशाखाबाट काटिएको पत्रमा प्रदेश नं. १ नै देखेपछि पहिचान पक्षधरहरूमा खुसीसमेत छाएको छ । कतिपयले उक्त पत्र सामाजिक सञ्जालमार्फत साझेदार गर्दै खुसीसमेत व्यक्त गरेका छन् । उनीहरूले कोशी हुनुभन्दा प्रदेश नं. १ नै रहिरहने राम्रो हुने बताउँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved