वामदेव-मुकुन्दको नाममा ७० वर्षे उमेरहद हटाएर पुन: अध्यक्ष बन्ने ओलीको ध्याउन्न !

वामदेव गौतम भन्छन्- 'उमेरहद हटे पुन: एमाले फर्किन्छु'

वामदेव-मुकुन्दको नाममा ७० वर्षे उमेरहद हटाएर पुन: अध्यक्ष बन्ने ओलीको ध्याउन्न !

काठमाडौं । काठमाडौंमा भएको नेकपा (एमाले) को ९औं महाधिवेशनले ७० वर्षे उमेरहद राखेको थियो । त्यहीअनुसार चितवनमा भएको १०औं महाधिवेशनबाट पदाधिकारी निर्वाचित भए । उमेर हदका कारण कतिपय नेता बिदा भए । तर, अहिले उमेरहद हटाउने तयारी गरिएको छ । नेपालभ्यूजसँग एक पदाधिकारीले भने, “उमेरहद हट्ने भएको छ ।”

यसअघि गत जेठ १९ गते बसेको एमाले सचिवालय बैठकमा यसबारे छलफल भएको थियो । त्यसमा बहुमत सदस्यहरूले उमेरहद हटाउनुपर्नेमा जोड दिएका थिए । सचिवालयका एक सदस्य भन्छन्, “अर्को महाधिवेशनबाट सालाखाला धेरै नेताचाहिँ आउनै नपाउने भए । त्यसरी त सङ्गठन नै कमजोर हुन्छ कि भन्ने चिन्ताले यसो गरिएको हो ।”

सचिवालयले ‘७० वर्षे उमेरहद हटाउनुपर्छ’ भन्ने प्रस्ताव पारित नै गरेको छ । अब यसलाई विधान महाधिवेशनमा लगिने ती सदस्यले बताएका छन् । “अब यसलाई विधान महाधिवेशनमा पठाइन्छ, त्यहाँ कस्तो निर्णय हुन्छ त्यहीअनुसार अगाडि बढाइन्छ,” उनले भने ।

जेठ १९ को सचिवालय बैठकमा यसबारे केपी शर्मा ओलीले नै प्रस्ताव गरेका थिए । त्यसपछि अन्य पदाधिकारीले सहमति जनाएका थिए । ओलीले उमेरहद हटाइएको खण्डमा अन्य दलबाट पाका नेताहरू आउने बताएका थिए । ओलीलाई उद्धृत ती सदस्यले भने, “हामीले उमेरहद हटाउनुपर्छ । यसो गर्दा अरु दलबाट पनि पाका नेता आउनेछन् । त्यसले हाम्रो पार्टीलाई फाइदा नै गर्नेछ ।”

त्यसो त यसअघि पूर्वएमाले ‘लीगेसी’ भएका नेता वामदेव गौतमले एमालेमा ७० वर्षे उमेरहद हटेको खण्डमा पुन: फर्किने बताएका थिए । ओलीमाथि आरोपै-आरोप लगाएर २०७८ भदौ १८ गते दोस्रोपटक एमाले त्यागेका गौमत अब पुन: एमाले फर्किनसक्ने भएका छन् ।

गौतमले उमेरहद हटाए आफू एमाले फर्किने बताइसकेका छन् । “उमेरहद पूरै हट्नुपर्छ । त्यो मानवताविरोधी छ, नेपालको संविधानविरोधी छ । उमेर भनेको एउटा शारीरिक अवस्था हो । र, शारीरिक अवस्थाको आधारमा तँ पार्टीमा रहन पाउँछन् र तँ पाउँदैन् भन्नू विभेद हो र विभेद गर्नुहुँदैन भन्छ संविधान । त्यसैले यो पूरै हट्नुपर्छ, संविधानविरोधी प्रावधान राखिनुहुन्,” उनले भनेका छन्, “७० वर्षे उमेरहद पूरै हट्यो र मलाई बोलाए भने म पुन: एमाले फर्किन्छु ।”

गौतमले एमाले विधानको धारा ६४ मा गरिएको ७० वर्षे उमेरहदको व्यवस्था हटे आफू फर्किने बताएकोबारे ती सदस्य खुसी मान्छन् । वामदेव गौतमलाई पार्टीमा फर्काउन पनि यसो गरिएको हो ? भन्ने प्रश्नमा ती नेता भन्छन्, “उहाँमात्रै होइन, उहाँजस्तै अरु थुप्रै र मुख्यत: सिङ्गो पार्टीका लागि हो । उहाँ फर्किने कुरा त खुसीकै कुरा हो ।”

वामदेव भन्छन्- ‘७० वर्षे उमेरहद हट्यो र मलाई बोलाइयो भने फेरि एमाले फर्किन्छु’

जसै ७० वर्षे उमेरहद हट्ने आश्वासनपछि नै (नेकपा) एकीकृत समाजवादीका मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंहलगायतका नेताहरूले एमाले प्रवेश गरिसकेका छन् । उनीहरू दुवै ७० वर्ष नाघिसकेका छन् ।  ती नेता ७० वर्षे उमेरहद हट्नु भनेको एमालेको दह्रो सङ्गठन बन्नु पनि भएको बताउँछन् । “केही पाका नेता आइसक्नुभएको छ, अझै केही आउनुहुन्छ । उमेरहद हटाउनू भनेकोचाहिँ पार्टीलाई सुदृढ बनाउनु पनि हो,” उनी भन्छन् ।

यसले पार्टीभित्रै रहेर निष्क्रियजस्तो देखिएका डा. भीमबहादुर रावलजस्ता नेताहरूलाई पनि सक्रिय बनाउने बुझाइमा छन् एमाले नेताहरू । १०औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि चुनाव लडेर पराजय भोगेका रावल त्यसयता खासरूपमा पार्टीमा सक्रिय छैनन् । यदि ७० वर्षे उमेरहद रहरहँदा आउँदो नेतृत्व महाधिवेशनमा उनी पनि पदाधिकारी बन्न पाउँदैनथे । यसकारण ७० वर्षे उमेरहद हट्नुले रावलजस्ता नेता जुर्मुराउने नेताहरूको दाबी छ । रावल अहिले ६८ वर्ष भइसकेका छन् । एमालेको अर्को महाधिवेशन २०८३ सालमा हुन्छ, त्यसबेला उनी ७१ को भइसक्नेछन् ।

अध्यक्षमा ओली नै ‘ढुक्क’

अरु दलहरूबाट पाका नेताहरू बटुलेपनि अध्यक्ष ओली भने फेरि पनि नेतृत्वमै रहने तयारीमा देखिएका छन् । उनले पछिल्लो जिम्मेवारी हेरफेर पनि आफूअनुकूल गरेका छन् । यदि ७० वर्षे उमेरहद नहटेको भएचाहिँ ११औं महाधिवेशनमा उनी अध्यक्ष बन्न पाउँदैनथे । पहिलो विधान महाधिवेशनबाट आफूअनुकूल विधान बनाएर ७० वर्ष पुग्नु केही महिनाअगावै नेतृत्व महाधिवेशन गरेका ओली अहिले ७२ वर्षका भइसकेका छन् ।

उनी चितवन महाधिवेशनमै ७० लागिसकेका थिए । तर फेरि अध्यक्ष बन्नकै लागि उनले विधानको धारा ६४ को २ मा ‘…तर ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन/अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा पुगेको मानिने छैन’ भनी व्यवस्था गराएका थिए ।

अब ७० वर्षे हदम्याद पनि हटाउनुको मुख्य उदेश्य बाहिर जे भनिए पनि ओलीलाई फेरि पनि अध्यक्ष बनाउन बाटो खोल्ने नै हो । ओलीले आफूलाई अध्यक्ष बन्न सहज होस् भनेरै पछिल्लो जिम्मेवारी हेरफेरमा पनि विशेष ध्यान दिएको देखिन्छ । पालिका, जिल्ला र प्रदेशका इन्चार्ज ओलीले आफूलाई सहज हुनेगरी चयन गरेका छन् ।

ओलीलाई नै अध्यक्ष बनाउनकै लागि हदम्याद हटाइएको त हैन भन्ने नेपालभ्यूजको प्रश्नमा उनीनिकट मानिएका एक नेता भन्छन्, “हाम्रो सङ्गठनका लागि राम्रो त्यही नै हुन्छ । तर, फेरि उहाँको लागि मात्रै बाटो खुल्यो बन्यो भन्ने नै होइन । फेरि उहाँ नै अध्यक्ष बन्नुहुन्छ भन्ने कुरा अहिल्यै बताउनु राम्रो हुँदैन ।”

एमालेको पछिल्लो निर्णयबाट नयाँ पुस्ता अघि बढ्ने बाटो भने अवरुद्ध भएको छ । ६० वर्ष उमेर वरिपरि रहेका र आगामी महाधिवेशनमा नेतृत्व ताकिरहेका केही नेता भने यो निर्णयबाट खासै खुसी छैनन् । तर अध्यक्ष ओलीका अगाडि बोल्न भने उनीहरूलाई सहज छैन । त्यसैले चुपचापप्राय: छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved