२ अर्ब हिनामिनाको आरोपपछि फरार भएका नगरप्रमुख काठमाडौंमा भएको आशंका !

विश्वास छैन भने लाइन लाग्नु एक घण्टामा सबैको पैसा फिर्ता गर्छु भन्थे– पीडितहरू

नेपालभ्युज

२ अर्ब हिनामिनाको आरोपपछि फरार भएका नगरप्रमुख काठमाडौंमा भएको आशंका !

काठमाडौं। दुई सातादेखि बेखबर रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली भारत पुगेको आशंका गरिए पनि उनि काठमाडौंमै बसेर राजनीतिक भेटघाट र ‘सेटिङ’ मिलाई रहेको आशंका पिडितले गरेका छन्। नेपालीले एउटै नाममा दुईवटा सहकारी सञ्चालन गरी झण्डै २ अर्ब हिनामिना गरेको पीडितहरूको अनुमान छ। उनले पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी नामको २ वटा सहकारी सञ्चालन गरेका थिए।

बागलुङमा सहकारीको मुख्य कार्यालय बागलुङ बजारमा छ भने बुर्तिवाङ र गलकोटमा सेवा केन्द्रमार्फत आर्थिक कारोबार हुँदै आएको छ। त्यही नामको सहकारी पोखरामा पनि दर्ता छ। पोखरामा इमेज सहकारीको ५० करोड र बागलुङमा डेढ अर्ब रकम हिनामिना भएको पीडितको दाबी छ।

दुवैतर्फका सहकारी सदस्य र बचतकर्ता गरी झण्डै ५ हजार जनाको रकम सहकारीमा बचत गरिएको थियो। जहाँ एकै  व्यक्तिले २ हजारदेखि ३ करोडसम्म बचत जम्मा गरेको देखिएको छ। सहकारीको आफ्नै भवन र मेयर नेपालीको समेत काठमाडौं, पोखरा, बागलुङ बजार, बुर्तिबाङमा समेत घर छ। त्यसैगरी, उनले पर्यटक लक्षित ‘होटल दरबार’ नामको भव्य होटल निर्माण गरेका छन्।

राजनीतिकरूपमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पहुँच बनाएका मेयर नेपाली प्रायजसो ‘हेलिकोप्टर’मार्फत काठमाडौं आउ जाउ गर्दथे। २०७४ अगाडिसम्म नेकपा माओवादी केन्द्रमा रहेका नेपाली ०७४ को स्थानिय निर्वाचनमा माओवादीबाट ढोरपाटनको मेयर बन्न चाहन्थे तर, माओवादीले टिकट नदिएपछि एमाले प्रवेश गरे। एमाले प्रवेशसँगै टिकट पाएर मेयर बनेका नेपाली २०७९ को स्थानिय निर्वाचनमा दोस्रोपटक मेयर निर्वाचित भए।

नेकपा एमालेबाट दोस्रोपटक नगरप्रमुख निर्वाचित नेपाली सो पार्टीको गण्डकी प्रदेश कमिटी सदस्यसमेत हुन्। रकम हिनामिनाको आरोप लागेपछि उनलाई एमाले गण्डकीले निलम्बन गरिसकेको छ।

नगरप्रमुख नेपाली जेठ ५ देखि सम्पर्कमा छैनन्। नेपाली माथि सहकारी संस्थाको २ अर्बभन्दा बढी रकम हिनामिनाको आरोप छ। सोही कारण उनि सम्पर्कविहीन भएका हुन्। तर, उनी फरार हुनुमा प्रहरी प्रशासनसमेत जिम्मेवार रहेको पीडितहरू बताउँछन्। ‘सहकारीमा समस्या आएको थाहा पाएर गुनासो सुनाउँदा पनि प्रहरी अधिकृतले नै सहयोग नगरेको देखियो। पीडितले लगेको उजुरी दर्तासमेत गरिएन । जसका कारण देवकुमारले फरार हुने अवसर पाए’ पीडित भन्छन्–‘अहिले पनि प्रशासनले चाहने हो भने पक्राउ पर्न सक्छन्। उनि काठमाडौंमै बसेर सेटिङ मिलाउँदै छन्।’

बागलुङ प्रशासनले मेयर नेपाली सम्पर्कमा नरहेको र रकम हिनामिनाको आरोप लागेपछि देश बाहिर जानसक्ने भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र स्थलमार्ग भएर जाने नाकामा कडाइ गर्न पत्राचार गरेको थियो। तर, पीडितहरूसँग समन्वय भने नगरिएको गुनासो छ। ‘हामीले समयमै जानकारी गराउँदा र निवेदन लिएर जाँदा प्रहरी प्रशासनले बेवास्ता गर्‍यो’ बागलुङ बजारका पीडित भूपेन्द्र खड्का भन्छन्,–‘तपाईंको पैसा दिन्छु भन्दाभन्दै उ भाग्यो तर, प्रहरीले उजुरी लिनसमेत आनाकानी गर्‍यो।’

सहकारीमा समस्या आयो भन्ने थाहा पाउनेबित्तिकै बचतकर्ताले आफ्नो रकम फिर्ता माग्न थालेपछि नेपालीले ‘घर बेचेर पनि दिन्छु’ भन्दै टार्दै गएको बचतकर्ता लालचन्द्र राजभण्डारी बताउँछन्। ‘तपाईंहरूको पैसा फिर्ता गर्न कुनै समस्या छैन, त्यस्तो विश्वास लाग्दैन भने लाइन बस्नुस् म एक घण्टामा सबैको पैसा हातमा हालिदिन्छु भन्यो’ उनले नेपालभ्युजसँग भने,–‘मेरो त मंसिरमा नै फिक्सको समय पुगेर रिन्यु नगर्ने सोंचेको तर, उसको कुराले झन् विश्वास बढ्यो र पुनः एक वर्षको लागि रिन्यु गरें तर, अहिले यस्तो अवस्था आयो।’

राजभण्डारीकै जस्तो समस्या सरिता श्रेष्ठको पनि छ। उनले पनि सहकारीमा ब्याज बढी हुने भएकोले बच्चाबच्ची पढाउन सजिलो हुने ठानेर बचत गरेको तर, अहिले बचत फिर्ता नपाउँदा समस्या भएको उनको गुनासो छ। ‘बजारमै करोडौं पर्ने घर छ। फेरि जननिर्वाचित नगरप्रमुख जस्तो मानिस भनेर विश्वास धेरै गरियो’ नेपालभ्युजसँग उनले भनिन्–‘हाम्रो परिवारको मात्रै होइन,बागलुङ बजारको कुनै टोल बाँकी छैन जसले त्यो सहकारीमा पैसा नराखेको भेटियोस्। हरेक टोलबाट १५ लाखभन्दा बढी २ करोडसम्म बचत गरेको देखियो।’

स्रोतका अनुसार ढोरपाटन नगरपालिकाका पूर्वकर्मचारीले नेपाल बैंकबाट ऋण लिएर उक्त सहकारीमा बचत गरेको समेत भेटिएको छ। अहिले डिलबहादुर काकीको संयोजकत्वमा पीडित संघर्ष समिति गठन गरी प्रशासन, सहकारी विभाग र गृहमन्त्रीलाई समेट भेटेर निवेदन दिइएको र गण्डकी प्रदेश सभामा समेत सांसदहरुले कुरा उठाएर ध्यानाकर्षण गराएको पीडितले बताए।

यसैगरी, पीडित बचतकर्ताले जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि दिएका छन्। सोही निवेदनका आधारमा नेपालीलाई विदेश जान नदिन गृह मन्त्रालय र आवश्यक छानबिन गरी कारबाही गर्न सहकारी रजिस्ट्रार कार्यालयमा पत्राचार गरेको छ। अध्यक्ष नेपालीले बागलुङकै संगीता थापा मगरलाई अपरेसन हेड र आफ्नै भतिज सुनील नेपालीलाई ऋण अधिकृत नियुक्त गरेका थिए। स्रोतका अनुसार मगर र नेपाली पनि अहिले पीडित र प्रशासनको सम्पर्कमा छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved