प्रदेशलाई संस्थागत गर्नेगरी नीति कार्यक्रम आउनेछ : मुख्यमन्त्री पाण्डे

नेपालभ्युज

प्रदेशलाई संस्थागत गर्नेगरी नीति कार्यक्रम आउनेछ : मुख्यमन्त्री पाण्डे

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई संस्थागत गर्ने गरि सरकारले नीति कार्यक्रम ल्याउने बताएका छन् ।

१६औं गणतन्त्र दिबसको अवसरमा सोमबार गण्डकी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले भने ‘यो सुन्दर व्यवस्थालाई अझै मजबुत बनाउन गण्डकी प्रदेश सरकार दृढ संकल्पका साथ अघि बढिरहेको छ ।’

लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्न संविधानले परिकल्पना गरेबमोजिम संघ, प्रदेश र स्थानीय सरकारको जनताप्रति आ–आफ्नै उत्तरदायित्व रहेको उनले बताए । ‘यो संवैधानिक व्यवस्थाको अवधारणा संस्थागत गर्न सहयोग पुग्ने गरि प्रदेश सरकारले आफ्ना नीति कार्यक्रम, योजना र बजेट व्यवस्था गरेको छ’ मुख्यमन्त्री पाण्डले भने । आगामी वर्षका लागि प्रदेश सरकारले नीति कार्यक्रम र बजेटको तयारी गरिरहेका बेला मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्।

नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सरसफाइ खानेपानी पर्यावरणलगायत आधारभूत अधिकारलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्नु सरकारको प्रमुख दायित्व रहेको उनले बताए । सबैजाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताको बलमा मुलुकलाई सामाजिक, आर्थिक समृद्धिको दिशामा लैजानु आजको राष्ट्रिय आवश्यकता रहेको मुख्यमन्त्री पाण्डेले बताए ।

प्रदेश सरकारले कृषि उत्पादनमा लाग्ने लागत कम गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले लिफ्ट सिँचाइमा लाग्ने विद्युत् महशुल नि:शुल्क गर्ने, लिफ्टिङ खानेपानी योजनामा पनि विद्युत् महशुल नि:शुल्क गर्ने निर्णय गरेको मुख्यमन्त्री पाण्डेले बताए । सन्तुलित विकास र झन्झटमुक्त सेवा प्रवाहको माग संवोधन गर्नु लोकतान्त्रिक सरकारको कर्तव्य भएको बताउँदै मुख्यमन्त्री पाण्डेले भने ‘जनअपेक्षा पूरा गर्न थप प्रयत्न गर्नुपर्ने अवस्था देखिएको छ, प्रदेश सरकार सिमित स्रोत साधनको तालमेल मिलाउन प्रयासरत छ ।’

मुलुक परिर्वतनको संवाहकको रूपमा रहेको युवा शक्तिमा मुलुकभित्रै नै केही गर्न सकिन्छ भन्ने सकारात्मक भावनाको विकास गर्नु आजको प्रमुख चुनौतीको रूपमा देखापरेको छ । यो चुनौतीलाई सम्बोधन गर्नका लागि युवाहरूलाई शासन व्यवस्थामा सहभागिता गराउन प्रोत्साहन, युवा उद्यमशीलता, नवपर्वद्धन र स्वरोजगार जस्ता कार्यक्रममार्फत प्रदेश सरकारप्रति सकारात्मक भावनाको विकास गराउने मुख्यमन्त्री पाण्डेले बताए ।

प्रदेशको विकास र समृद्धिको लागि पहिचान गरिएका सात मुख्य संवाहक पर्यटन उर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, मानव संसाधन र सुशासनलाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गर्ने मुख्यमन्त्री पाण्डेले बताए । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सर्वोत्कृष्ट कार्यालय, उत्कृष्ट कार्यालय, राष्ट्रसेवक कर्मचारीलाई पुरस्कृत गरिएको थियो । दिवसको अवसरमा शहीद पार्कदेखि मुख्यमन्त्री कार्यालयसम्म प्रभातफेरी गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved