काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र र जनताको हितका लागि काम गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
शनिवार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भुमिका रहेपनि राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यक्ता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले सबै एक ठाउँमा उभिनुपर्ने बताए । उनले जनताको हीतमा समझदारी र सहमति आवश्यक रहेको उल्लेख गरे। उनले विगतका नमिठा पक्षलाई बिर्सिएर जनता र देशको विकासका लागि लाग्न आह्वान गरे ।
‘यही सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भुमिका छन् । सिद्धान्ततः त्यो कुरा हामी बुझ्छौँ पनि । तर राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यक्ता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले हर्ने हो भने हामी कतै न कतै हामी एक ठाउँमा उभिन आवश्यक छ । कहीँ न कहीँ हामीले समझदारी र सहमति कायम गर्न आवश्यक छ’ उनले भने, ‘प्रधानमन्त्रीको हैसियतले मैले हुनतः केही तीता, नमिठा पनि भएका छन्, पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा त्यसका मनोभावनाहरु छन् । तर त्यो भन्दा माथि राष्ट्र र जनता हो, त्यसकारण जनताका हीतमा काम गर्न एक हुनुपर्छ ।’
प्रधानमन्त्री दाहालले आफ्नो ठाउँबाट गर्नुपर्ने त्याग गरेको स्पष्ट पारे। उनले अहिले देशका अघि रहेका समस्या र चुनौतिको समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गरे।
Facebook Comment
Comment