रास्वपा सांसद सङ्ख्या २१ कि २२ ?

स्मरण रहोस्, आयोगले यसअघि नै रास्वपाका २१ जना प्रत्यक्ष एवम् समानुपातिक सांसदहरूलाई प्रमाणपत्र दिइसकेको छ ।

नेपालभ्युज

रास्वपा सांसद सङ्ख्या २१ कि २२ ?

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विन्दावासिनी कंसाकारलाई समानुपातिक सांसदको प्रमापत्र दिइसकेको छ । स्मरण रहोस्, आयोगले यसअघि नै रास्वपाका २१ जना प्रत्यक्ष एवम् समानुपातिक सांसदहरूलाई प्रमाणपत्र दिइसकेको छ ।

पोखराबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेपछि रास्वपाले उक्त स्थानमा कंसाकारलाई सिफारिस गरेको थियो । जसअनुसार आयोगले कंसाकारलाई प्रमाणपत्र दिइसकेको छ । “उहाँ (विन्दावासिनी कंसाकार) ले प्रमाणपत्र पाइसक्नुभएको छ,” आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेले भनेका छन् ।

यसरी हेर्दा आयोगले रास्वपाका २२ जना सांसदहरूलाई प्रमाणपत्र दिएको छ । त्यसो त श्रेष्ठको सांसद पद पनि पूर्णरूपमा निष्क्रिय भइसकेको छैन । सर्वोच्च अदालतले रास्वपाले गरेको कारबाही तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको छ ।

ढाकालाई पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने रास्वपाको निर्णयमा प्रक्रिया पूरा नभइ संसद् सचिवालयलाई पत्र पठाएको भन्दै निर्णय बदर माग गरेर श्रेष्ठले पार्टीको पुनरावेदन समितिसहित अदालतको ढोका ढक्ढकाएका थिए । पार्टीभित्रैबाट निर्णय बदर हुने सम्भावना हुँदाहुँदै रास्वपाले संसद् सचिवालयलाई पत्र पठाएको जिकिरसहित श्रेष्ठले अदालत गुहारेका थिए ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ मा सांसदलाई अनुशासनात्मक कारबाही गर्नसक्ने व्यवस्था छ । रास्वपाले यही व्यवस्थालाई टेकेर श्रेष्ठलाई कारबाही गरेको थियो । यो दफाको उपदफा १ मा ‘विधानविपरीत काम गर्ने वा दलको आचारसंहिता पालना नगर्ने सदस्य वा पदाधिकारीलाई विधानमा व्यवस्था भएबमोजिम दलले अनुशासनात्मक कारबाही गर्न सक्नेछ’ भन्ने उल्लेख छ ।

उता श्रेष्ठपछिको रोलक्रममा समानुपातिक सूचीमा नाम भएका मेघ आलेलाई सांसद नबनाइ रास्वपाले विन्दावासिनी कंसाकारलाई समानुपातिक सांसद बनाउन स‌ंसद् सचिवालयलाई पत्र पठाएको थियो । आदिवासी जनजाती कोटाबाट श्रेष्ठ सांसद बन्दा उनीभन्दा दोस्रो रोलक्रममा आले थिए । तर रास्वपाले आलेलाई सांसद बन्नबाट बञ्चित गर्दै विन्दावासिनीलाई अवसर दिएको हो ।

अदालतको आदेशसँगै हाललाई कंसाकारको समेत संसद् प्रवेशमा ‘ब्रेक’ लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved