अध्यक्षलाई नै सोध्छन् -‘अध्यक्षज्यू खोई ?’ (भिडिओसहित)
एकपटक पालिका प्रमुखहरू सहभागी हुने कार्यक्रम थियो। जब गण्डकी त्यहाँ पुगिन्। उनलाई टाढैबाट नमस्कार गर्दै आयोजकले भने, ‘‘अहो, उपाध्यक्षज्यू पनि आउनुभएछ। तर यहाँ अध्यक्षकै मात्रै कार्यक्रम हो। तपाईं बाहिरै बस्नुहोस्।’’
नेपालभ्युज
बागलुङ। बागलुङको बडिगाड गाउँपालिकामा प्रमुख छिन्, गण्डकी थापा अधिकारी। उनको कार्यकक्षको टेबलमा ‘गण्डकी थापा अधिकारी, पालिका अध्यक्ष’ लेखिएको नेमप्लेट छ।
उनी त्यही टेबल अगाडिको कुर्सीमा बस्छिन्। कतिपय सेवाग्राहीहरू ढोकाभित्र छिर्नेबित्तिकै सुरुमै अनुहार हेरेर भन्छन्, ‘नमस्कार उपाध्यक्षज्यू’। अनि उनीहरू सोध्छन्, ‘खै अध्यक्षज्यू हुनुहुन्न ?’ अनि अध्यक्ष गण्डकीले ‘म नै हो अध्यक्ष, भन्नुस् न’ भन्दै स्पष्टीकरण दिन्छिन्। उनीहरू अकमकिन्छन्।
पुरुषप्रधान समाज कतिसम्म छ भने ४३ वर्षीय गण्डकीलाई स्थानीय सरकारको प्रमुख हो भनेर सुरुमा पत्याउनसमेत अधिकांश तयार भएनन्।
आमनेपाली महिलाको जीवन चुलोचौको गर्दैमा र बालबच्चा हुर्काउँदैमा बित्छ । त्यहीमाथि राजनीतिमा पुरुषका तुलनामा महिलामा नेतृत्वमा अवसर हुँदैन। स्थानीय तहमा त महिला उपमेयरमै सिमिति बनाइन्छ।
यसको परिणाम स्वरूप बडिगाड गाउँपालिकाकी प्रमुख गण्डकीले राजनीति हिंसा भोग्दै आएकी छिन्। अहिले भने बिस्तारै आफ्नो पालिकामा सबैले चिनिसकेको र बाहिर भने अझै झेलिरहनुपरेको उनको गुनासो छ।
नेपालभ्युजसँग स्थानीय तह हाँकेको एकवर्षे कार्यकालको सुखदुःख साट्ने क्रममा उनले अनुभूत गरेका लैङ्गिक दृष्टिकोणका नमिठा अनुभव कैयौँ सुनाइन्। पितृसत्तात्मक सोचले जरा गाडेको हाम्रो समाजमा अझै जीउडाल, उमेर र लैङ्गिक हिसाबको सोचका कारण अर्को नमिठो अनुभव भोगिन्।
एकपटक पालिका प्रमुखहरू सहभागी हुने कार्यक्रम थियो। जब गण्डकी त्यहाँ पुगिन्। उनलाई टाढैबाट नमस्कार गर्दै आयोजकले भने, ‘‘अहो, उपाध्यक्षज्यू पनि आउनुभएछ। तर, यहाँ अध्यक्षकै मात्रै कार्यक्रम हो। तपाईं बाहिरै बस्नुहोस्।’’
महिला देख्नेबित्तिकै उपाध्यक्ष भन्ने गरेको उनका अनुभव उनको यति मात्रै छैन। उप भनेको महिला नै हो भन्ने धेरैलाई लाग्ने गरेको उनको अनुभव छ।
कतै बैठकमा सहभागी हुँदा रजिस्टारमा नाम पछाडि उपप्रमुख लेख्ने गरेको उनको गुनासो छ। उनी भन्छिन् ‘‘कतिपय ठाउँमा बैठकमा जाँदा उपस्थिति रजिस्टरमा मेराे नामको पछाडि उपाध्यक्ष लेखेर हस्ताक्षर गर्न दिनुहुन्छ। कतिपय ठाउँमा मैले लेखेको मेरो नाम र अध्यक्ष पद लेखेको ठाउँको अगाडि उप थप्दिनुहुन्छ। हाम्रो पालिकामा पुरुष उपप्रमुख हुनुहुन्छ। उहाँसँगै कतिपय कार्यक्रममा जाँदा मलाई अहाे ! उपाध्यक्षज्यू पनि आउनुभएछ, भन्छन्।’’
एक्लो हुनुको छैन चिन्ता
गण्डकी प्रदेशमा तीन पालिकामा मात्र महिलाको नेतृत्व छ। बडिगाडकी गण्डकी थापासहित पर्वतको मोदीका प्रमुखमा हीरादेवी शर्मा र पूर्वी नवलपरासीको हुप्सेकोटमा गाउँपालिकामा लक्ष्मीदेवी पाण्डे छिन्।
१० पालिका रहेको बागलुङमा गण्डकी एक्ली महिला प्रमुख हुन्। उनलाई आफू एक्लो हुनुको चिन्ता छैन, भन्छिन्, ‘‘म आफ्नो जिल्लामा एक्लो महिला प्रमुख हुँ। प्रदेशभरमा तीनजना मात्र छौँ। देशभर २५ जना छौँ।’’
महिलालाई प्राथमिकता
गण्डकी बडीगाडकी प्रमुख भएपछि उनले गाउँ-गाउँमा सडक, नाला, खानेपानीलगायत भौतिक पूर्वाधार पुर्याइन्। त्योबाहेक महिलालाई प्राथमिकतामा राखेर आफ्नो काम गरेको बताउँछिन्।
‘‘यस्तोसम्म अनुभव रह्यो कि उहाँहरू मेयरको कार्यकक्षमा आएर सीधै आफ्ना कुरा राख्न सक्नुहुन्थ्यो। यो कुर्सीमा पुरुष भएको भए हामी आफ्ना कुरा पनि राख्न सक्थेनौं होला भन्नुहुन्थ्यो,’’ उनी भन्छिन्।
संविधानले अब्बल नेतृत्व भएकालाई राष्ट्रपतिसमेत हुन पाउने व्यवस्था गरेको छ। राजनैतिक रूपमा ठूलो फड्को मारे पनि पितृसत्तात्मक राज्यसत्ताबाट हुर्किँदै आएको समाजको सोच, चिन्तन, व्यवहार महिलाप्रति अझै उदार नभएको पाएको उनको गुनासो छ।
उनी भन्छिन्,‘‘हामी त एउटा नेतृत्व गर्न सक्ने जनताका प्रतिनिधि हौँ। हाम्रो दिमागमा हामी महिला मात्र होइनौँ तर हेर्नेको दिमागले त्यस्तो सोच्यो भने के लाग्छ?’’
जनमुखी काममा लगानी
सडक निर्माण र भौतिक पूर्वाधारको विकासका परम्परागत कामका अतिरिक्त गण्डकीको चासो महिला सशक्तीकरण, महिला स्वास्थ्य र महिला जागरणमा केन्द्रित छ। राष्ट्रिय प्रसारणको विद्युत् नपुगेकाले विद्युत् अभावमा स्वास्थ्य चौकीको सेवा चुस्त नभएपछि गाउँपालिकाले विद्युतीय थालेको छ ।
उनको नेतृत्वमा ‘उज्यालो बडिगाड’ भन्ने नारासहितको नीति कार्यक्रम र बजेट निर्माण भइसकेको छ। आफ्नो एकवर्षे कार्यकालको अनुभव सुनाउँदै गण्डकीले भनिन्, ‘‘अब त महिलाले पनि गर्न सक्छन् भन्ने प्रमाणित हामीले गरिसक्यौँ। त्यही भएकाले हामीले आफ्नो पार्टीमा पनि अर्को पटकबाट अधिकांश महिलालाई उम्मेदवार बनाउनुपर्छ भनेर प्रस्ताव राखेका छौँ।’’
महिला भएको स्थानमा सुशासनको अवस्थामा पनि सुधार आउने महालेखापरीक्षकको प्रतिवेदनले पुष्टि गरेको उनी बताउँछिन्। उनको दाबी छ– उनको पालिकामा अनावश्यक खर्च कम गरेर जनमुखी काममा लगानी गरिएको छ।
महिलालाई प्रेरणा
महिलाको हातमा नगरप्रमुखको नेतृत्व आउँदा राजनीतिमा लागेका समग्र महिलाहरूलाई अघि बढ्न प्रेरणा मिल्ने उनको ठम्याइ छ ।
भन्छिन्, ‘‘आउने दिनमा दिनमा प्रमुख पदमा महिलाले दाबी गर्न थप सहज भएको छ ।’’ अवसर पाउँदा महिलाले पनि अब्बल काम गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्ने गरी काम गरिरहेको गण्डकी बताउँछिन्।
‘‘मलाई समस्या महसुस गर्ने सुविधा छैन । किनभने मेरो सफलता–असफलता म व्यक्तिसँग मात्र जोडिने होइन । सबै महिला दिदीबहिनीमा जोडिन्छ,’’ उनले भनिन्, ‘‘मैले राम्रो गर्न सकिनँ भने भावी दिनमा मलाई देखाउँदै मलाई पछाडि पारिन्छ, यदि राम्रो भयो भने मलाई देखाउँदै दिदीबहिनी अघि बढ्छन्।’’
जिल्लामा सबै उपप्रमुख पनि पुरुष
दुर्लभ संयोग, बागलुङका १० वटा पालिकामध्ये ४ नगरमा प्रमुख र उपप्रमुख तथा ४ वटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पुरुष हुँदा उनी मात्रै एक्ली महिला हुने। गत वर्ष भएको कांग्रेस महाधिवेशनमा पार्टीको जिल्ला सचिव भएकी छिन्।
लगत्तै भएको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष चुनिएकी हुन्। ७७ जिल्लाको कांग्रेस जिल्ला कार्यसमितिमा पाल्पा र बागलुङमा मात्रै महिला सचिव छन्।
महिला भएकै कारण पछि नपर्ने बरु हरेक ठाउँमा हस्तक्षेपकारी रूपमा प्रस्तुत हुनुपर्छ भन्ने विचार भएकी गण्डकी आफ्नो कार्यकालमा केही विशेष काम गर्ने योजनाका साथ अघि बढेकी छिन्। धेरैले निर्वाचित भएपछि आफूलाई चुनौतीले घेरिएको पाउँछन्। तर, गण्डकीले काम गर्न अवसर ठानेकी छिन्।
Facebook Comment
Comment