स्वर्णिमलाई किसानको प्रश्न : त्यताका दाइ-भाउजूले अन्याय गरे कहाँ जानुहुन्छ ?

नेपालभ्युज

स्वर्णिमलाई किसानको प्रश्न : त्यताका दाइ-भाउजूले अन्याय गरे कहाँ जानुहुन्छ ?

काठमाडौं। कांग्रेसमा रहँदा दाजु–भाउजूबाट अन्याय भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ १ मा उम्मेदवार रहेका अर्थविद् डा.स्वर्णिम वाग्लेलाई नेकपा एकीकृत समाजवादीका नेता एवंम् प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठले व्यंग्य गरेका छन्।

उनले कांग्रेसमा दाजु-भाउजूबाट पेलिएका वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि दाजु-भाउजू रहेको र त्यहाँ पनि अन्याय भएमा कहाँ जाने ? भनेर प्रश्नसमेत गरेका छन्। कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकै अगाडि श्रेष्ठले दाजु र भाउजूको प्रसंग उठाएका हुन्।

गठबन्धनको तर्फबाट तनहुँको दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले भने–‘रास्वपामा पनि दाजु रवि लामिछाने र भाउजू निकिता पौडेल छन्। त्यहाँबाट अन्याय गरे कुन पार्टीमा जाने हो ?’

रास्वपा र एमालेका उम्मेदवार भन्दा गठबन्धनका उम्मेदवारलाई मत दिनुपर्ने कारणहरूसमेत भन्दै गएका श्रेष्ठले तनहुँबाट गोविन्द भट्टराईले जित्नैपर्ने बताए। उनले पार्टीमा अन्याय भयो भनेर अर्को पार्टीमा गएर गाली गर्नुलाई अर्थविद् वा विज्ञ भन्न नसकिनेसमेत जिकीर गरे।

कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणाको पेलानमा परेको भन्दै महामन्त्रीद्वय थापा र शर्मालाई मेसेज लेखेर वाग्लेले पार्टी छाडेका थिए। सोही प्रसंग जोड्दै महामन्त्री थापा र शर्माकै अगाडि श्रेष्ठले भने–‘यताका दाजु भाउजूको पेलान सहन नसक्नेलाई त्यताका दाजु भाउजूले पनि पेल्न थाले कहाँ जाने ?’
कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले दाजु-भाउजूका कारण पार्टी नछाडेको र अहिले अवसर पाएको भन्दै सांसद श्रेष्ठले तनहुँ नेता आयात गर्ने नभई निर्यात गर्ने भूमि भएकोले आयातित नेतालाई जिताउन नहुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved