जोहानेशवर्ग। दक्षिण अफ्रिकामा उडिरहेको जहाजको ककपिटमा सर्प देखिएपछि पाइलटले आकस्मिक अवतरण गराएका छन् ।
ककपिटमा अत्यधिक विषालु केप कोब्रा भेटिएपछि सुरक्षित आपतकालीन अवतरण गरेकोमा दक्षिण अफ्रिकी पाइलट रुडोल्फ इरास्मसको उडान विशेषज्ञहरूले प्रशंसा गरिरहेका छन्।
विगत पाँच वर्षदेखि विमान उडाउँदै आएका रुडोल्फले ककपिटमा कोब्रा रहेको देख्नेबित्तिकै उनले नडराइकन जहाजलाई सुरक्षित अवतरण गराएका थिए ।
उनले चार जना यात्रु लिएर सोमबार बिहान वर्सेस्टरबाट नेल्स्प्रुटका लागि सानो विमान उडाउँदै थिए। उनले यस घटनाको बारेमा टाइमलाइभ वेबसाइटसँग भनेका छन्, ‘मैले जहाज उडिरहेको बेला सर्पको टाउको देखेँ, सुरुमा खुबै डर लागेको थियो, के गर्ने भनेर सोच्नै सकिन । तर मैँले जहाजमा रहेका अरु चार जना यात्रुको पनि ज्यानको बारेमा सोँचे र जहाजलाई तुरुन्तै अवतरण गर्ने तरखर गरेँ ।’
पाइलटले यो कुरा केहिबेरसम्म यात्रुलाई नभनेको पनि उल्लेख गरेका छन् । तर केहिबेरपछि भने जहाजको कुरा यात्रुलाई भन्नुपर्छ भन्ने लागेर जानकारी गराएको पनि उनले बताए ।
उनले भने, “केही बेर म स्तब्ध भएँ, किनभने म आतंक मच्चाउन चाहन्नथें। तर के भइरहेको छ भनेर उनीहरूलाई थाहा हुनु आवश्यक थियो। मैले भने, ‘सुन्नुहोस्, समस्या छ। सर्प विमान भित्र छ। त्यसैले हामीले जतिसक्दो चाँडो विमान अवतरण गर्नुपर्छ।”
उडान वेल्कोमको एयरपोर्टको नजिक थियो, त्यसैले इरास्मसले जोहानेसबर्गको कन्ट्रोल टावरसँग आपतकालीन अवस्था घोषणा गरेर अवतरण गराए ।
Facebook Comment
Comment