अन्तर्वार्ता

उपनिर्वाचनलगत्तै रास्वपा प्रवेश गर्नसक्छु : जगन्नाथ पौडेल

जगन्नाथ पौडेल चितवनका पुराना कांग्रेस नेता हुन् । पूर्वसभासदसमेत रहेका पौडेल अहिले भने कांग्रेसबाहिर छन् ।

नेपालभ्युज

उपनिर्वाचनलगत्तै रास्वपा प्रवेश गर्नसक्छु : जगन्नाथ पौडेल

काठमाडौं । जगन्नाथ पौडेल चितवनका पुराना कांग्रेस नेता हुन् । पूर्वसभासदसमेत रहेका पौडेल अहिले भने कांग्रेसबाहिर छन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा भरतपुर महानगरपालिका प्रमुखमा बागी उम्मेदवारी दिएपछि निलम्बनमा परेका उनले वैशाख १० मा हुने संसदीय उपनिर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समर्थन गर्ने निर्णय गरेका छन् ।

रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उम्मेदवार छन् । उनैलाई समर्थन गर्ने प्रतिबद्धता पौडेलको छ । नेपालको अहिलेको अवस्थाले रविको ‘स्पीड्’ को नेता खोजेको उल्लेख गर्दै उनले आफ्ना समर्थकहरूलाई रविलाई मतदान गर्न उर्दीसमेत जारी गरेका छन् ।

स्थानीय सदस्य तह निर्वाचनमा पौडेलले १४ हजार ७२८ मत ल्याएका थिए । यद्यपि अहिले उनको समूहबाट दिनेश कोइराला, भीमबहादुर श्रेष्ठ, टेकबहादुर गुरुङहरू छुटेका छन् । यस्तो अवस्थामा उनको मत घटेको बताइएपनि मत निर्णायक छ भनिन्छ । उनले त्यहाँ रविले जित्ने दाबीसमेत गरेका छन् ।

त्यसो त उनले रास्वपा प्रवेश गर्ने चर्चा छ । यी नै सन्दर्भमा नेपालभ्यूजले उनै पौडेलसँग संक्षिप्त कुराकानी गरेको छ ।

उपनिर्वाचनलाई कसरी हेरिरहनुभएको छ ?

सामान्यरूपमा हेरिरहेको छु, दलहरूले कसरी प्रतिस्पर्धा गरिरहेका छन् भन्ने कुराको जानकारी लिँदै बसेको छु । स्वाभाविकरूपमा चितवन २ को माहोललाई अल्लि बढी नियालिरहेको छु । अवस्था सामान्य छ ।

चितवन २ मा तपाईंसँग निर्णायक मत छ भनिन्छ, तपाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने बताउनुभएको छ, कांग्रेस छाडेर किन रास्वपालाई समर्थन गर्नुभयो ?

देशका लागि आवश्यक शक्ति र ऊर्जा उसँगै देखेँ । त्यसैले मैले रास्वपालाई समर्थन गर्ने भनेको छु । देशले छोटो समयमा विकास, सुशासन र समृद्धि खोजेको छ, त्यो काम रास्वपाले गर्न सक्छ भनेर मैले उसैलाई समर्थन गर्ने भनेको छु । मेरो समर्थन उसैलाई रहन्छ । जहाँसम्म नेपाली कांग्रेसको प्रसङ्ग छ, म कांग्रेसलाई समर्थन गर्ने पक्षमा छैन । कांग्रेसलाई मेरो समर्थन चाहिएको पनि छैन ।

चितवनका कांग्रेस नेता जगन्नाथ भन्छन्- मेरो समर्थन रवि लामिछानेलाई रहन्छ

तपाईं रास्वपा प्रवेश गर्दै हुनुहुन्छ भनेर चर्चा पनि छ नि ? 

समर्थन गरिसकेपछि चर्चा हुनु अनौठो होइन, यसलाई मैले स्वाभाविकरूपमै लिएको छु । यसबारे पछि थप कुरा गर्नेछु ।

कहिले प्रवेश गर्दै हुनुहुन्छ त ?

रास्वपा सभापति रविजीले मलाई उपनिर्वाचनअगावै पार्टी प्रवेश गर्नूस् भनेर भन्नुभएको सत्य हो । मैले अहिल्यै नगरौँ, पछि विचार गरौँला भनेर भनेको हुँ । निश्चय नै उपनिर्वाचनपछि यसमा थप संवाद हुनेछ र संवादबाट आएको परिणामका आधारमा अघि बढ्छु । यद्यपि रविजीले जत्तिसक्दो चाँडै प्रवेश गर्नूस् भन्ने शुभेच्छा दिनुभएको छ । मैले त्यहाँ हुन्छ भन्ने प्रतिक्रिया दिएको छु ।

प्रवेशचाहिँ गर्नुहुन्छ होइन त ?

गर्नसक्छु । मैले भनिहालेँ, थप संवाद र छलफल गर्छु त्यसपछि अगाडि बढ्छु । तर, प्रवेश गर्नसक्छु ।

तपाईंको कांग्रेसप्रति किन यत्तिधेरै वितृष्णा बढ्यो ? 

मलाई कांग्रेस नचाहिएको होइन, कांग्रेसलाई म नचाहेको हो । लामो समय काम गरेको कांग्रेसको माया छ तर, त्यहाँ रहनसक्ने अवस्था पनि छैन । त्यसैले उपनिर्वाचनमा पनि मैले कांग्रेसलाई समर्थन नगर्ने भनेर भनेको छु । विगतमा म कांग्रेस भएपनि अहिले स्वतन्त्र हुँ, स्वतन्त्रप्रेमी हुँ । म अहिले कांग्रेसभन्दा निकै टाढ छु ।

अब कांग्रेस-राजनीतिबाट सधैँका लागि टाढिनुभएको हो ?

अहिलेलाई यो भन्दा ठिकै हुन्छ । पछिको कुरा पछि नै देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved