मझधारमा माधव : झलनाथ असन्तुष्ट, मुकुन्द एमाले फर्किँदै

सङ्कटमा एकीकृत समाजवादी !

मंसिर ४ को निर्वाचनमा सोचेजस्तो परिणाम नआउनु, पार्टीमा असन्तुष्टि बढ्नु र नेता व्यवस्थापनमा चुनौती थपिँदै जानुले माधवकुमार नेपाल नेतृत्वको पार्टी संकटमा फसेको छ ।

नेपाल भ्युज

मझधारमा माधव : झलनाथ असन्तुष्ट, मुकुन्द एमाले फर्किँदै

काठमाडौं । मंसिर ४ को निर्वाचनमा सोचेजस्तो परिणाम नआउनु, पार्टीमा असन्तुष्टि बढ्नु र नेता व्यवस्थापनमा चुनौती थपिँदै जानुले माधवकुमार नेपाल नेतृत्वको पार्टी संकटमा फसेको छ ।

पार्टीभित्र कलह बढ्दै जादा नेकपा (एकीकृत समाजवादी) का संस्थापक नेताहरू एमाले फर्किने तयारीमा पुगेका छन् । केही दिनमा उनीहरूलाई एमालेमा स्वागत गर्ने तयारी छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि यसबारे छलफल भइसकेको नेताहरूले बताएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको वरीयतामा रहेका वरिष्ठ नेता मुकुन्द न्यौपानेको नेतृत्वमा एउटा समूह एमाले फर्किने भएको हो । अध्यक्ष नेपाल र नेता न्यौपानेबीच पछिल्लो समय भेटघाट र बोलचालसमेत बन्द भएको छ ।

एकीकृत समाजवादीले न्यौपानेलाई एक साताको समय दिएर स्पष्टीकरण सोधेको छ । स्रोतकाअनुसार उनी स्पष्टीकरण बुझाउने पक्षमा छैनन् । यसैगरी उपाध्यक्ष केदार न्यौपाने र स्थायी समिति सदस्य चुडामणिा जंगलीले पनि पार्टी छाड्ने भएका छन् ।

न्यौपाने र जंगलीले पार्टीमा दिएको राजीनामासमेत स्वीकृत भएकाले उनीहरूको पनि एमाले फर्किने मनस्थिति छ । ‘हाम्रो सोचअनुसारको पार्टी बन्न सकेन । कम्युनिष्ट घटकबीच एकता हुनुपर्नेमा फुट हुँदै जानु दुर्भाग्य भयो,’ पूर्वसांसदसमेत रहेका जंगलीले भने, ‘म राजनीति गर्ने कि छाड्ने दोधारमै छु । यदि राजनीति गर्ने अवस्थामा एमालेमै सक्रिय हुनसक्छु ।’

अर्कोतिर एमालेसँग मिल्ने कुरामा सम्मानित नेता झलनाथ खनाल, सचिव रामकुमारी झाँक्री र स्थायी समिति सदस्य सोमप्रसाद पाण्डेसमेत सकारात्मक छन् । उनीहरूले अध्यक्ष नेपालसँग गम्भीर छलफल गरी निर्णय लिने तयारी गरेका छन् । ‘एमालेबाट छुट्टिनुको औचित्य पुष्टि गर्न सकेनौँ । काङ्ग्रेसको पछि लाग्नु र प्रचण्डको विश्वास गर्नु दुवै घातक भयो ।’

चुनावमा गठबन्धन गर्दा थोरै सिट पाउनु, प्रत्यक्षमा जम्मा १० सिट मात्रै जित्नु र राष्ट्रिय पार्टी बन्न नसक्नुले सोचेअनुरुप पार्टीलाई अगाडि बढाउन नसकिएको भन्दै यसको गम्भीर समीक्षा आवश्यक भएको खनाल पक्षको बुझाइ छ ।

पछिल्लो समय एमालेले राष्ट्रपति बनाउन खोज्दा अध्यक्ष नेपालले शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’का कुरा सुनेर पछि हटेको आरोपसमेत पार्टीभित्रैबाट लागेको छ ।

एकीकृत समाजवादीका केही नेताले लामो समयदेखि एकीकृत समाजवादीले फरक मत राख्दै आएको र कांग्रेसको सहयोगी भएर वामपन्थी आन्दोलनको हित नहुने भन्दै एमालेसँग मिल्न लिखित प्रस्तावसमेत राखेको बुझिएको छ ।

अध्यक्ष नेपालको पछिल्लो गतिविधिप्रति पार्टीभित्रै धेरै नेता सन्तुष्ट नभएको स्रोतको भनाइ छ । मन्त्री बन्न नपाउने भएपछि प्रेम आले, किसान श्रेष्ठ, मेटमणी चौधरी र राजेन्द्र पाण्डेसमेत असन्तुष्ट छन् । कम्युनिष्ट पार्टीबीच एकता र सहकार्य हुनुपर्ने भन्दै उनीहरूले माओवादी केन्द्र र एमालेसँग समेत मिलेर जानुपर्ने कुरा उठाउन थालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved