प्रधानमन्त्रीलाई भेटेर माधव नेपालले भने ‘गृह चाहिँदैन, तर ३ मन्त्रालय बटमलाइन’

नेपालभ्युज

प्रधानमन्त्रीलाई भेटेर माधव नेपालले भने ‘गृह चाहिँदैन, तर ३ मन्त्रालय बटमलाइन’

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई तीन मन्त्रालय जसरी पनि चाहिने भन्दै बालुवाटारमा धर्ना दिएका छन्।

पार्टीका शीर्ष नेता सति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका अध्यक्ष नेपालले संघीय सरकारमा ३ मन्त्रालय, एउटा प्रदेशमा मुख्यमन्त्री र सबै प्रदेश सरकारमा गठबन्धनको मर्मअनुसार हिस्सा खोजेका हुन्।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वाला बालुवाटार पुगेका थिए ।

सो भेटमा नेपालले गृहमन्त्रीमा आफ्नो पार्टीको दाबी रहे पनि ३ मन्त्रालय पाउँदा गृहको सट्टा भौतिक पूर्वाधारमा लचिलो बन्न सकिने बताएको स्रोतको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिने अन्तिम तयारी गरेपछि नेकपा एसका नेताहरूले प्रधानमन्त्री भेटेका हुन् । गठबन्धनमा रहेको कांग्रेसले राष्ट्रपति, माओवादी प्रधानमन्त्री र जसपाले उपराष्ट्रपति पाइसकेकाले अब आफूहरूको रोज्ने पालो भएको नेपालको भनाइ थियो।

भेटमा नेताहरूले गृह नभए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चित्त बुझाउन तयार भए पनि तीन मन्त्रालयबाट घट्न नसक्ने ‘बटमलाइन’ भएको स्पष्ट पारेको बुझिएको छ।

तर, प्रधानमन्त्री प्रचण्डले नेकपा एसको भागमा दुई मन्त्रालय मात्रै प्रस्ताव गरेको र त्यसमा चित्त बुझाउन आग्रह गरेको स्रोतले बतायो।

तीन मन्त्रालय पाउँदा पार्टी उपाध्यक्ष डा.वेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने सो पार्टीको तयारी छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved