एजेन्सी । खुट्टाको दुखाई जो कसैलाई पनि हुन सक्छ । थकान, कमजोरी, अत्यधिक शारीरिक श्रम वा कुनै रोगका कारण खुट्टामा दुखाई हुनु सामान्य हो । तर कतिपय व्यक्तिलाई यसले ठुलो दुख: दिइरहेको हुन्छ । लामो समय हुने दुखाई गम्भीर प्रकारको पनि हुन सक्छ ।
यदि तपाईंलाई खुट्टामा दुखाईको समस्या भइरहेको छ र यो निको नै भइरहेको छैन भने सबैभन्दा पहिला यसको पछाडिको कारण जान्न जरुरी हुन्छ । रातमा खुट्टा दुख्ने समस्या लाखौं मानिसलाई हुने गरेको अध्ययन देखाएको छ ।
अब जानौं यस्तो दुखाईंको कारण जसलाई पत्ता लगाएर तपाईं पनि यस्तो समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ ।
१. प्लेन्टर फेसिसीटिज
खुट्टाको अगाडिको भागदेखि कुर्कुचासम्म जाने तन्तुलाई प्लेन्टर फेसिसीटिज भनिन्छ । जब यसमा दबाब पर्छ तब खुट्टा सुन्निने तथा दुख्ने समस्या हुन्छ । प्लेन्टर फेसिसीटिज कुर्कुचा दुख्ने सबैभन्दा सामान्य समस्या मध्ये एक हो ।
यदि तपाईंलाई प्रायः कुर्कुच्चामा दुखाइ हुन्छ भने, प्लेन्टर फेसिसीटिजमा कुनै प्रकारको दबाब हुन सक्छ । यो दुखाई मोटोपन र लामो समयसम्म उभिने कारणले पनि हुन सक्छ । यो सामान्यतया बिहान हुन्छ ।
२. मोर्टन न्यूरोमा
यो एउटा पिडादायी अवस्था हो । यसले गर्दा नसाहरुमा जलन तथा कडा खालको दुखाई हुन्छ । यस्तो पीडा कहिलेकाँही दिन र रात जतिबेला पनि हुने गर्दछ । विशेष गरी जब तपाईं हिड्नुहुन्छ वा खुट्टामा धेरै दबाब पर्ने काम गर्नुहुन्छ यो दुखाई सुरु हुन्छ ।
३. गर्भावस्था
गर्भावस्थाको समयमा तपाईंको शरीरले क्याल्सियमलाई फरक तरिकाले प्रशोधन गर्दछ । क्याल्सियमको स्तरमा भएको यो परिवर्तनले गर्दा खुट्टा दुख्ने समस्या आउन सक्छ ।
४. मधुमेह
रगतमा चिनीको मात्रा बढ्दा सम्पूर्ण स्नायु प्रणालीलाई हानी पुर्याउन सक्छ । जसमा तपाईंको खुट्टाका नसा पनि समावेश छन् । कतिपय अवस्थामा यही कारणले खुट्टामा दुखाई हुन थाल्छ र पछि गएर यो समस्या बढ्दै जान्छ ।
५. फाइब्रोमायल्गिया
यो एउटा क्रोनिक (लामो समयसम्म रहने बिमारी) स्थिति हो जो कडा दुखाईको कारण बन्छ । यसले खुट्टा तथा अन्य शरीरका अंगमा पनि दुखाई हुन्छ । कतिपय अवस्थामा शरीरमा श्रमका कारणले पनि दुखाई हुन्छ । रातको समयमा एन्टी इन्फ्लामेटरी हर्मोन कार्टिसोल न्यून हुने कारणले पनि दुखाई बढ्ने गर्छ ।
६. नसामा दबाब
तपाईंको घुँडाको नसामा दबाब छ भने पनि यसले टार्सल टनेल सिन्ड्रोम निम्त्याउँछ । कम्मरको छेउमा रहेको साइयाटिक नर्भमा दबाबका कारण पनि खुट्टामा दुखाई हुन सक्छ । यी दुवै अवस्थामा नसामा दबाब पर्दा रातको समयमा धेरै पिडा हुने गर्दछ ।
७. गलत तरिकाले उठबस
खुट्टा दुख्ने धेरै सामान्य कारण पनि छन् जस्तो तपाईं कसरी बस्नुहुन्छ र कस्तो जुत्ता लगाउनुहुन्छ । लामो समयसम्म बस्ने वा उभिने, हिँड्ने वा दौडिने गर्दा पनि खुट्टा दुख्ने समस्या हुन्छ । जुन दुखाई औषधी खाँदा वा व्यायाम गरेर पनि निको हुन सक्छ ।
८. खुट्टाको बनावट
कतिपयलाई खुट्टाको बनावटका कारणले पनि रातमा दुखाई हुने गर्दछ । खुट्टाको पैतला एकदमै चेप्टो वा समतल भएको व्यक्तिलाई खुट्टा वा कुर्कुच्चाको दुखाई धेरै हुने गर्दछ ।
खुट्टामा हुने दुखाई धेरै प्रकारका हुने गर्दछन् । त्यसैले तपाईंको पनि यी मध्ये कस्तो खालको दुखाई यो त्यो पहिचान गर्न आवश्यक हुन्छ । जसअनुसार तपाईंले आफ्नो दुखाईको उपचार गर्न सक्नुहुन्छ ।
यदि लामो समयदेखि यस्तो समस्या भइरहेको छ भने घरेलु उपचारले निको नहुन पनि सक्छ । त्यसैले चिकित्सकलाई देखाउनु जरुरी हुन्छ ।
Facebook Comment
Comment