अनमोल केसीलाई निर्माताको झटारो–‘मेगा स्टारले आत्मसमर्पण गरिबक्स्यो’

नेपाल भ्युज

अनमोल केसीलाई निर्माताको झटारो–‘मेगा स्टारले आत्मसमर्पण गरिबक्स्यो’

काठमाडौं। झन्डै ३ करोड बजेटको चलचित्र ‘छड्के २.०’ असफल भएपछि निर्माता र नायक अनमोल केसीबीच सामाजिक सञ्जालमा ‘वार’ सुरु भएको छ ।

चलचित्र प्रदर्शनको एक हप्ता पनि हलमा टिक्न नसकेपछि नायक अनमोल केसीले आफू अभिनीत चलचित्र ‘छड्के २.०’ बाट दर्शकलाई निराश बनाएको भन्दै माफी सहितको स्टाटस लेखेका थिए । अनमोलले आगामी चलचित्रबाट निरास नबनाउनेसमेत भनेका थिए ।

त्यसको जवाफमा चलचित्र ‘छड्के २.०’ का जापानका लागि वितरक सचिन आचार्यले लेखेका छन्–‘‘उता मेगा स्टारलाई सहानुभूति कमाउनु थियो। पूरै आत्मसमर्पण गरिबक्स्यो। आफ्नो यता अझै शो हुँदै छ।’

नायक अनमोलले जापानमा ‘छड्के २.०’ लाग्दालाग्दै स्टाटस लेखेका कारण आफ्नो लगानी डुबेको समेत आचार्यले दुःखेसो गरेका छन्। उनले ‘माफी मागेर दर्शक भड्काएको’ भन्दै अनमोलको आलोचनासमेत गरेका छन्।

निर्माता आचार्यले अनमोललाई जापानका दर्शकलाई चलचित्र हेर्न आग्रह सहितको भिडियो सन्देश पठाउन आग्रह गर्दा समेत अनमोलले नमानेको पनि भनेका छन्।

‘मेरो शो राम्रो बनाउन १० सेकेन्डको भिडियो पठाउन नमान्ने तिमीलाई मेरो शो बिगार्ने पनि कुनै अधिकार थिएन। याद गर्नु महँगो पर्छ यो हर्कत तिमीलाई।’

दीपकराज गिरीको चलचित्र छक्कापञ्जा ४ सँग जुधेको चलचित्र ‘छड्के २.०’ ले नेपालका हलहरूबाट नगन्य मात्रै पैसा उठाएको वितरक सुनील मानन्धरले स्विकारिसकेका छन्।

दीपकराज गिरीसँग नजुध्न दिइएको सल्लाहसमेत अनमोलको क्रेजले पैसा कमाउँछ भनेर निर्माताले वास्ता गरेका थिएनन्।

नेपालका वितरक मानन्धरले डेढ करोडमा चलचित्रको राइट्स किनेका थिए। तर, चलचित्रले सोचेजस्तो व्यापार नगरेपछि उनीसँगै सबै चकित भएका थिए ।

केही दिनमै चलचित्र हलबाट उत्रिएपछि निर्माता निरास भइरहेका बेला नायक अनमोलले दर्शकसँग माफी मागेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved