कम्युनिस्टहरूको बृहत्तर एकताका लागि समाजवादी मोर्चा छिट्टै बन्छ : प्रधानमन्त्री दाहाल

नेपालभ्युज

कम्युनिस्टहरूको बृहत्तर एकताका लागि समाजवादी मोर्चा छिट्टै बन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी सहितको समाजवादी मोर्चा केही दिनमै निर्माण हुने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई शनिबार सम्बोधन गर्दै प्रचण्डले माओवादी आन्दोलन र कम्युनिस्ट आन्दोलनबाट आएका सबै शक्तिलाई मिलाएर समाजवादी मोर्चा बनाउने तयारी भएको बताए।

माओवादी आन्दोलन र उपलब्धिको रक्षाका निम्ति पनि पूर्वमाओवादी शक्तिहरू एक ठाउँ आउनुपर्नेमा समेत उनको जोड थियो । उनले कम्युनिस्टहरूको बृहत्तर एकताका लागि बहस सुरू भएको र त्यसले मुर्त रुप लिने बनि दाबी गरे ।

‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन। त्यसैले सबै यसैमा केन्द्रित हुनेबेला आयो’ उनले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरुरी छ।’

माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच यो विषयमा छलफल भइरहेको भन्दै उनले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमबाट टुंगो लगाउनुपर्नेमा माओवादी धारबाट आएका सबै नेता एकमत रहेको समेत बताए ।

प्रचण्डले समाजवादी मोर्चा बनेपछि कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने र त्यसको पहल माओवादीहरूले नै गर्नुपर्ने पनि बताए ।‘एमालेभित्र पनि ठूलो पङ्क्ति वामपन्थीहरूको एकताको पक्षमा छ।

हिजोको नेकपा पुनर्स्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ’ उनले भने–‘त्यो मत क्रान्तिको हितमा छ, कम्युनिस्ट आन्दोलनको हितमा छ। त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved