सरकारले दर्ता गर्‍यो बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण सम्बन्धी विधेयक

नेपालभ्युज

सरकारले दर्ता गर्‍यो बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण सम्बन्धी विधेयक

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको छ ।

सरकारले बिहीवार ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ लाई संघीय संसद सचिवालयमा दर्ता गरेको हो ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले सो विधेयक संसद सचिवालयमा बिहीवार(आज) दर्ता गरेको जानकारी दिए । उनले सो विधेयक संक्रमणकालिन न्यायलाई व्यवस्थापन गर्नका लागि बनेको स्पष्ट पारे । मन्त्रिपरिषद्को आजैको बैठकले विधेयकलाई संसदमा दर्ता गर्ने निर्णय गरेको थियो । सहायक प्रवक्ता धमलाले विधेयक दर्ता भएको दुईदिन भित्रमा प्रतिनिधि सभाका सबै सदस्यहरुलाई वितरण हुने जानकारी गराए ।

उनले विधेयक दर्ता भएको पाँच दिनपछि बस्ने जुनकुनै संसद बैठकमा पेस हुने उल्लेख गरे। ‘सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक २०७९ संघीय संसदमा दर्ता गरेको छ’ उनले भने, ‘यो विधेयक चाहीँ संक्रमणकालिन न्यायलाई व्यवस्थापन गर्न बनेको विधेयक हो । यो प्रतिनिधि सभातर्फ दर्ता भएको छ । दर्ता भएको दुई दिनभित्र सबै सदस्यहरुलाई वितरण हुन्छ ।’

‘यो सरकारी विधेयक भएको हुनाले दर्ता भएको पाँचदिन पछिका बैठकमा मात्रै यो संसदमा पेस हुनसक्छ । आगामी दिनमा प्रतिनिधि सभामा बस्ने बैठकहरुको कुनै बैठकमा यो विधेयक अगाडी बढ्नसक्छ’, उनले भने ।’

सचिवालयमा दर्ता भएको विधेयक संसदमा अगाडी बढाउने विषय राजनीतिक विषय भएको उल्लेख गर्दै उनले सभामुखले राजनीतिक दलहरुसँग छलफल गरी आगामी दिनमा प्रतिनिधि सभाको बैठकमा पेस हुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved