नेकपा ब्युँताउने कि पुस १० अघि फर्किने ?

मनोनय दर्ता गर्न १ दिनमात्रै बाँकी छँदा पनि दलहरूको दैनिकी बाक्लो भेटघाट, छलफल तथा वार्ता मात्रै छ, कुनै ठोस निष्कर्ष छैन ।

नेपालभ्युज

नेकपा ब्युँताउने कि पुस १० अघि फर्किने ?

काठमाडौं । आलङ्कारिक राष्ट्रपति पदलाई लिएर दलहरूबीच ठूलै माथापच्ची चलिरहेको छ । मनोनय दर्ता गर्न १ दिनमात्रै बाँकी छँदा पनि दलहरूको दैनिकी बाक्लो भेटघाट, छलफल तथा वार्ता मात्रै छ, कुनै ठोस निष्कर्ष छैन ।

यद्यपि शुक्रबार (आज) प्रमुख दलका नेताहरूबीच ‘निर्णायक’ वार्ता हुने नेताहरूले बताएका छन् । यसैबीच सतहमा मूलत: २ वटा विकल्पहरू प्रस्तुत भएका छन् ।

पहिलो, नेकपा ब्युँताउने ।

खासगरी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल नेकपा ब्युँताउने पक्षमा छन् । उनले नेकपा ब्युँताउने हो भने आफू राष्ट्रपति बन्नका लागि तयार रहेको बताएका छन् ।

त्यसो त उनलाई राष्ट्रपति बन्नका लागि प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) तथा अन्य नेताहरूले प्रस्ताव गरिसकेका छन् । तर, उनले नेकपा ब्युँतनुपर्ने सर्त तेर्स्याएका छन् ।

यसअघि उनले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग यही सर्त राखेका थिए । तर, त्यसमा एमाले अध्यक्ष ओलीले भने प्रतिक्रिया दिइसकेका छैनन् । एकीकृत समाजवादीका एक पदाधिकारीले नेपालभ्यूजसँग भने, ‘उहाँ (केपी शर्मा ओली) नेकपा ब्युँतियोस् भन्नेमा देखिनुभएन । उहाँले केही प्रतिक्रिया दिनुभएन । तर यसबारे ब्रिफिङ भने भइसकेकै हो ।’

यसमा प्रधानमन्त्री प्रचण्ड भने सकारात्मक देखिएका छन् । उनले ठोसरूपमा कुनै निर्णय नगरेपनि सबै विकल्पहरू खुला राखेको महासचिव देवप्रसाद गुरुङले बताए । ‘उहाँ (प्रधानमन्त्री प्रचण्ड) ले सबै विकल्पहरू खुला राख्नुभएको छ । सबै तवरले छलफल भइरहेको छ । दूरगामी महत्त्व राख्ने खालका विषयहरू पनि भएको हुनाले अझ छलफल गरेरमात्रै निर्णय लिने काम हुन्छ,’ उनले भने ।

२०७४ सालमा एमाले र माओवादी केन्द्रबीचको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । जुन दुई अध्यक्षात्मक प्रणालीमा थियो र अध्यक्षमा ओली र प्रचण्ड नै थिए । उनीहरूबीचकै तिक्तताका कारण नेकपा फुट्यो र पुन: एमाले र माओवादी केन्द्र अस्तित्वमा फर्किए ।

त्यसपछि एमाले नै पनि सग्लो रहेन । वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत समाजवादीको नाममा एमाले चोइट्याए । अहिले नेपाल सोही पार्टीका अध्यक्ष छन् भने उनी नेकपा ब्युँताउने पक्षमा उभिएका छन् ।

दोस्रो, पुस १० गते अघिको गठबन्धन ब्युँताउने ।

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने पुस १० गते अघिको गठबन्धन ब्युँतनुपर्नेमा छ । उसले दलहरूसँग यसैगरी ‘डील’ पनि गरिरहेको छ ।

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की भन्छन्, ‘हामी स्पष्टरूपमा पुस १० अघिकै गठबन्धन ब्युँतियोस् भन्ने चाहन्छौँ । साझेदार दलहरू पनि यसमा सकारात्मक पनि छन् ।’

गठबन्धन ब्युँताउने र राष्ट्रपति पद कांग्रेसले नै पाउने विश्वास छ नेता कार्कीलाई, भन्छन्— ‘न्यायको दृष्टिले पनि त्यही राम्रो हुन्छ, शक्ति सन्तुलनको दृष्टिले पनि त्यही ठिक हुन्छ । अहिले सबैभन्दा ठूलो दल कांग्रेस हो र उसले राष्ट्रपति पाउँदा सबै मिलेर जान्छ । यसमा अरु दलहरूले पनि सोच्नुपर्छ ।’

तर, माओवादी केन्द्र भने कांग्रेसले १० पुसअघिकै गठबन्धन ब्युँताउने कुरा गरेर गल्ती गरिरहेको ठान्छ । ‘कांग्रेसले पुरानै गठबन्धन ब्युँताउने भनेर गल्ती बोलिरहेको छ,’ माओवादी केन्द्रका उपाध्यक्ष मातृका यादव भन्छन् ।

बरु कांग्रेससहितकै संलग्नतामा नयाँ गठबन्धन बन्नसक्ने तर, पुरानै गठबन्धन ब्युँतन नसक्ने तर्क छ यादवको । ‘बरु नयाँ बन्नसक्छ, तर त्यही गठबन्धन ब्युँतने कुरा हुँदैन,’ उनले भने ।

माओवादी केन्द्रका एक पदाधिकारीकाअनुसार भने पुरानै गठबन्धन ब्युँतनेसक्ने सम्भावना उच्च छ । उनले भनेका छन्, ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले निर्णय लिने कुरा हाे । तर, अहिलेको अवस्था हेर्दाखेरि चाहिँ पुस १० अघिकै गठबन्धन ब्युँतनसक्ने सम्भावना धेरै छ ।’

तर, छलफल भने सबै विकल्पहरूमा हुने उनले बताए ।

यसपछिको अपडेट यो लिंकमा छ :

बन्यो नयाँ गठबन्धन : कांग्रेसलाई राष्ट्रपति, जसपालाई उपराष्ट्रपति, माधव नेपाललाई १ वर्ष प्रधानमन्त्री


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved