हिउँद नसकिँदै गर्मी सुरु, भारतबाट प्रदुषणसहितको तातो हावा आउँदै, पानी नपर्दा हाहाकार

“भारतका विभिन्न प्रान्तमा यतिखेर तातो वायुको चाप बढ्दै छ, कतिपय स्थानमा चैत, वैशाखमा हुनुपर्ने ४० डिग्री सेल्सियसआसपासको तापक्रम अहिले पुगेको छ ।”

नेपालभ्युज

हिउँद नसकिँदै गर्मी सुरु, भारतबाट प्रदुषणसहितको तातो हावा आउँदै, पानी नपर्दा हाहाकार
फाइल तश्वीर

काठमाडौं। यसपालि हिउँद नसकिँदै देशका अधिकांश भू–भागमा अधिक गर्मी महसुस हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन । भएका स्थानमा पनि अति कम वर्षा भएको छ ।

नेपालजस्तै दक्षिण एसियाका अन्य मुलुकमा पनि हिउँद नसकिँदै गर्मीको राप बढ्न थालेको त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बताए ।

उनले भने “भारतका विभिन्न प्रान्तमा यतिखेर तातो वायुको चाप बढ्दै छ, कतिपय स्थानमा चैत, वैशाखमा हुनुपर्ने ४० डिग्री सेल्सियसआसपासको तापक्रम अहिले पुगेको छ ।”

राजस्थानलगायत मरुभूमिले छोएका स्थानमा तातो वायु र हावा एकैसाथ बहन थालेको बताउँदै उनले यसको असर नेपालमा एक÷दुई दिनयता बढेको गर्मीले आभास गराएको दाबी गरे ।

नेपालमा हिउँदे याम सकिन अब करिब एक साता मात्र बाँकी छ । यस्तोमा बिस्तारै गर्मी बढ्दै जानुपर्नेमा ह्वात्त उतारचढाव आउनेगरी गर्मीको राप बढ्नु राम्रो नभएको पोखरेल बताउँछन् ।

भारतसँगै दक्षिण एसियाका पाकिस्तान, बङ्गलादेश, भुटानलगायतका देशमा पनि तातो वायुको असर देखिन थालेको छ । श्रीलङ्कामा भने अन्यत्रका तुलनामा वर्षा राम्रो भएको छ । त्यसकारण गर्मीको प्रभाव बिस्तारै अग्रसर हुँदै छ ।

पोखरेलका अनुसार विश्व मौसम सङ्गठन र अमेरिकाको मौसम सङ्गठनको मौसमी विश्लेषणले पनि दक्षिण एसियामा अबको एक सातासम्म तातो वायुको प्रभाव बढ्ने देखाएको छ । भारतमा तातो वायु बढ्ने र हावाहुरी आउने समय एकैसाथ परेकाले त्यो वायुसँगै उच्च प्रदूषणसहितको वायु नेपाल प्रवेश गर्ने सम्भावना उच्च छ ।

नेपालमा वर्षा नहुँदाको अवस्थामा ठूला सहरमा यतिखेर आन्तरिक प्रदूषणको चाप त्यसै बढी छ । त्यसमाथि भारतबाट हावाहुरीसाथ आउने तातो वायु र प्रदूषणले यहाँको वातावरण झन् दूषित हुने पोखरेलको ठम्याइ छ ।

उनी भन्छन, “सुक्खा र तातो हावा बहनुमा समुद्रमा हाई प्रेसर सिर्जना हुनु हो, यसले पानी पार्ने वातावरण नष्ट गर्दा वातावरण सुक्खा गराउँछ र तातो हावाको बहाव बढाउँछ ।”

हिउँदमा वर्षा गराउने प्रणाली प्रशान्त महासागरमा विकसित हुन्छ । तर त्यो विगत तीन वर्षदेखि लानिनोको स्थितिमा छ । वर्षा हुन एलनिनोको स्थितिमा हुनुपर्छ । गत वर्ष केही परिवर्तन भए पनि सन् २०२१ मा यस वर्ष जस्तैको अवस्था रहँदा हिउँदे वर्षा नभएर सुक्खासँगै खडेरी परेको थियो । यस वर्ष पनि त्यही अवस्था दोहोरिएकाले अबका दिनमा वायु प्रदूषणसँगै डढेलो र आगलागीका घटनामा वृद्धि हुने सम्भावना झन् बढेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिउँदे वर्षाको सम्भावना टर्दै गएको बताएको छ । मौसमविद् राजु प्रधानाङका अनुसार प्रशान्त महासागरमा जलवाष्पयुक्त प्रणाली विकसित नभई, हल्का वाफयुक्त हावा मात्र विकसित भएका छन् ।

त्यसले पश्चिमी वायुसँगै हावा नेपालमा ल्याए पनि वर्षा ल्याएको छैन । हालसालै अत्यधिक तापक्रम नबढे पनि अबका दिनमा तापक्रम बढ्दै जाने प्रवृत्ति केही छिटो देखिएको उनले बताए ।

अब बिस्तारै प्रि मनसुनको मौसम आउने भएकाले सुक्खा र गर्मी झन् बढ्छ । त्यसमाथि हिउँदे वर्षा नै नभएकाले गर्मी अलि बढी हुनु स्वाभाविक रहेको उनको भनाइ छ । गोरखापत्र दैनिकबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved