‘विचारात्मक स्पष्टता’का लागि माओवादी केन्द्रभित्र चार तहको पाठ्यक्रम लागू गरिँदै

प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै

पार्टीको विचारधारा बलियो र प्रभावकारी बनाउनका लागि सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले पाठ्यक्रम लागू गर्ने भएको छ ।

नेपालभ्युज

‘विचारात्मक स्पष्टता’का लागि माओवादी केन्द्रभित्र चार तहको पाठ्यक्रम लागू गरिँदै

काठमाडौं । पार्टीको विचारधारा बलियो र प्रभावकारी बनाउनका लागि सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले पाठ्यक्रम लागू गर्ने भएको छ ।

पार्टीको क्रान्तिकारी रूपान्तरण र विचारधारात्मक स्पष्टताका लागि पार्टीमा चार तहको पाठ्यक्रम लागू गरिने पार्टीको स्कूल विभागले जनाएको छ । विभागको एक सदस्यले भने, ‘मुख्यत: पार्टीको वैचारिक स्पष्टताका लागि नै यो पाठ्यक्रम लागू गर्न लागिएको हो । यसका लागि प्रशिक्षण चलाइनेछ ।’

पार्टीका उपमहासचिवसमेत रहेका स्कूल विभाग प्रमुख गिरिराजमणि पोखरेलको अध्यक्षतमा बसेको बैठकले कार्ययोजना तय गर्दै पार्टीमा चार तहको पाठ्यक्रम लागू गर्ने निर्णय गरेको छ । यही कार्ययोजनाअनुसार माओवादी केन्द्रले प्रदेश तथा उपत्यका विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ ।

जसअनुसार प्रदेश नं. १ मा फागुन १४, १५ र १६ गते प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ । उता गण्डकी प्रदेशमा फागुन १९,२० र २१ गतेका लागि प्रशिक्षण कार्यक्रमको तय गरिएको छ भने लुम्बिनी प्रदेशमा फागुन २४, २५ र २६ गते प्रशिक्षण सञ्चालन हुनेछ ।

कर्णाली प्रदेशमा फागुन २९, ३० र चैत १ गते प्रशिक्षक प्रशिक्षण कार्यक्रमको तालिका तय गरिएको छ भने सुदूरपश्चिम प्रदेशमा चैत ४, ५ र ६ गते मिति तय गरिएको छ ।

यस्तै मधेस प्रदेशमा चैत ९, १० र ११ गते र बागमती प्रदेशमा चैत १४, १५ र १६ गते प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछन् । उपत्यका विशेष प्रदेशमा चैत १७, १८ र १९ गते, सम्पर्क समन्वय प्रदेश समितिमा चैत २०, २१ र २२ गते र प्रवास समन्वय प्रदेशमा चैत २३ देखि हरेक दिन २ घण्टाका दरले एक साता गर्ने तय भएको विभागले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा प्रत्येक पालिकाबाट १ जना, प्रत्येक जिल्लाबाट ५ जना र प्रदेश स्कूल विभागबाट सबै जनाको अनिवार्य उपस्थितिको नियम बनाइएको छ । प्रशिक्षणको व्यवस्थापन सम्बन्धित प्रदेशले गर्ने र प्रशिक्षण, पाठ्यक्रम र कक्षासम्बन्धी अन्य व्यवस्थापन केन्द्रीय स्कूल विभागले गर्नेछ ।

माओवादी केन्द्रले बनाएको पाठ्यक्रममा आधारभूत तह (पाठ्यभार ३२ घण्टा), माध्यामिक तह (पाठ्यभार ४२ घण्टा) र उच्च तह (पाठ्यभार ४२ घण्टा) रहनेछन् । यस्तै अनुसन्धानात्मक तहमा समकालीन मुद्दामा केन्द्रित रहेर अनुसन्धान गर्नेगरी पाठ्यक्रम निर्माण गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved