काठमाडौं। ॐकार शक्ति नेपालले महाशिवरात्रीको अवसरमा शान्ति पदयात्रा गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी ॐकार शक्ति नेपालले शिवरात्रीको अवसरमा १००८ त्रिशूलसहितको शान्ति पदयात्रा कार्यक्रम तय गरिएको जानकारी गराएको हो ।
सनातन धर्मका विषयमा विभिन्न प्रकारका शंका-उपशंका पैदा भएले त्यसको निराकरणका लागि त्रिशूलसहितको धार्मिक पदयात्रा तय गरिएको आयोजक संस्थाले जनाएको छ । ‘धर्मो रक्षति, रक्षितः’ को मूल मर्मलाई आत्मसात् गर्दै धर्मको रक्षाबिना कसैको पनि संरक्षण र सुरक्षा सम्भव नहुने सो संस्थाको भनाइ छ ।
शिवरात्रीको अवसरमा पहिलोपटक ऐतिहासिक रूपमै १००८ त्रिशूलसहितको शान्ति पदयात्रा गर्न लागिएको धर्मगुरु व्यास आचार्य किशोरकुमार गौतमले जानकारी दिए । शान्ति पदयात्राले भगवान पशुपतिनाथलाई परिक्रमा गर्ने उनले बताए ।
‘हाम्रो पहिचान खोज्ने हो भने हाम्रो धर्म, संस्कार, संस्कृति र नेपाली कूल परम्परालाई जोगाउनुपर्छ’ उनले भने–‘देशलाई नेताले कता लगिरहेको छन् ? हामी कहाँ पुग्दैछौं ? अब हामीले धार्मिक कार्यक्रमलाई विशेष प्राथमिकता दिन आवश्यक छ,।’
विश्व हिन्दू युवासंघका राष्ट्रिय अध्यक्ष ऋषिकेशजंग शाह,सनातन हिन्दू राष्ट्रका अभियन्ता एवं साहित्यकार ऋषभदेव घिमिरे, धार्मिक अभियन्ता एवं कृषि विज्ञ पुष्पराज सापकोटा र प्रा.डा. शास्त्रदत्त पन्तले ॐकार शक्ति नेपालले सुरु गरेको अभियान अहिलेको आवश्यकता भएको बताए ।
Facebook Comment
Comment