मिथिलाको एक महिने मकर मेला सम्पन्न, यस्तो छ परम्परा

‘प्रेमलाई धार्मिक विधिअनुसार विवाहमा रुपान्तरण गर्न धनुषलाई साक्षी राखी विवाह गर्ने परम्परा पनि यहाँ छ’

मिथिलाको एक महिने मकर मेला सम्पन्न, यस्तो छ परम्परा

जनकपुरधाम । धार्मिक सभ्यताको धरोहर मिथिलाञ्चल क्षेत्र धनुषाको उत्तरपूर्वी क्षेत्र स्थित धनुषाधाममा लाग्ने धार्मिक मेला ‘मकरमेला’ आज सम्पन्न सम्पन्न भएको छ।

माघ महिनाको प्रत्येक आईतबार लाग्ने मकर मेलाले धुनषावासी मात्र होइन स्वदेशी तथा भारतीय हिन्दु अनुयायीलाई पनि भक्तिभावमा लीन गराउने गर्दछ।

माघको प्रत्येक आइतबार भक्तजन यहाँ रहेको धनुष मन्दिरमा पूजाअर्चनामा लीन हुन्छन्। मर्यादा पुरुषोत्तम भगवान मानिने राम र सीताको विवाह सन्दर्भ जोडिएको यो पर्व विवाहिता छोरी र आमाबीच भेट जुराउने अवसरदेखि भाकल पूरा गराउने आस्थाको धरोहरका रुपमा मिथिलाबासीबीच प्रचलित छ। त्यसबाहेक प्रेमी जोडीको विवाहको साक्षी पनि बन्छ धनुष मन्दिर।

राम सीता स्वयंबर र भाँचिएको पीनाक धनुष

त्रेता युगमा राजा जनकले छोरी सीताको विवाहको लागि आयोजना गरेको सीता स्वंयम्बरमा मर्यादा पुरुषोत्तम भगवानका रुपमा स्वीकारिने श्रीरामले भाँचेको पिनाक धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको किम्बदन्ती रहेको छ।

विष्णु पुराणअनुसार दधिचि ऋषिको हाडबाट बनेको बडेमानको धनुष त्रिपुरासुर संग्रामपछि शंकर भगवानले परशुरामलाई दिएका थिए। परशुरामले उक्त धनुष राजा जनकलाई दिए। छोरी सीताका लागि योग्य बर छान्न त्यही बडेमानको धुनषमा बाण चढाउने सक्ने व्यक्तिको खोजी भयो। धेरै पहलमान असक्षम भए तर भगवान रामले उक्त धनुषमा वाण चढाउनेमात्र के लागेका थिए धनुषको तीन टुक्रा भयो।

किंबदन्तीअनुसार तीन टुक्रामध्ये एक टुक्रा आकाश हुंदै भारतको दक्षिण प्रान्त रामेश्वरमा पुगेर खस्यो। दोस्रो टुक्रा पातालमा गाडियो। जुन स्थान अहिले जनकपुरमा धनुषसागर पोखरीको रूपमा चिनिन्छ। अर्को टुक्रा मध्यभाग आएर खसेको ठाउँ धनुषाधाम रहेको मन्दिरका महन्थ भरत दास बताउँछन् ।

धनुषाधाममा खसेको भनिने धनुषको कालो रंगको शीलामाथि अहिले पिपलको रुख छ । उक्त रुख ५ सय वर्ष पुरानो रहेको जनविश्वास छ । पिपलको बोटमा नाग को बास रहेको बताइन्छ । औंसी तिथिका दिन मध्य रातमा नागमणि देखिने र पुरै मन्दिर हरियो रंगले रंगिने गरेको जनविश्वास छ। धनुषको मध्यटुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर बनेपछित माघको प्रत्येक आईतबार महिनामा मकर मेला लाग्ने गरेको छ।

भक्तजनको आस्था

जनकपुरदेखि करिब १९ किलोमिटर उत्तर–पूर्वमा रहेको धनुषाधाममा सो धनुषको पूजाअर्चना गर्न बर्षेनि लाखौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउँछन्। भक्तजनको संख्या बर्सेनि बढ्दो पनि छ।

मन्दिरका महन्थ भरतदासको भनाइलाई मान्ने हो भने भक्तजनले अर्पेकोे पुष्पजलका कारण बर्षेनी धनुषको आकार पनि बढ्दै गएको छ। धनुषाधाममा लाग्ने मेला भर्न भारत तथा नेपालका असंख्य धर्मावलम्बी आउने गर्दछन् । धार्मिक तथा पौराणिक महत्व बोकेको धनुषाधामको आफ्नै विशेषता छ। यहाँ विषेश गरी भारतीय पर्यटक आउने गर्दछन् । यद्यपि तेस्रो मुलुक अमेरिका, थाइल्याण्ड, सिंगापुर लगायत अन्य देशबाट पनि केही पर्यटक आउने गर्छन्।

पाँच महिनामा पाँच मेला

धनुषामा ५ महिना मेला लाग्छन्। मंसिरमा विवाह पञ्चमी महोत्सव, माघमा तिलासंक्रान्ती र ५ वटा आइतबारसम्म मकर मेला, फागुनमा मध्यमा परिक्रमा(नवमी), चैत्रमा महिनामा रामनवमीका दिन गरी कुल ५ पटक मेला लाग्ने गर्छ ।

विवाह पञ्चमी, मकर र परिक्रमा मेलामा लाखौंको संख्यामा तिर्थालुहरु दर्शन गर्ने गर्छन् ।मिथिला महात्मयका अनुसार ५ मकर स्नान गरेर धनुष भगवानको दर्शन गरेपछि १ सय रामेश्वरमको दर्शन बराबर हुन्छ । परम्परागत हिसावले पनि वर्ष भरी गरिएको आकलभाकल माघ महिनाभरी चढाउने गरिन्छ।

पोखरी डिलमा आमा छोरी, प्रेमको साक्षी धनुष

मकर मेलामा धनुषाधामको मकर मेला आमाछोरीको मिलनस्थलको पनि हो। विवाहपछि पतिको घर गएकी छोरी लामो समयसम्म माइती आउने साइत नजुरेपछि एक अर्काको खबर लिन मकर मेलामा आउँछन् र भलाकुसारी गर्दछन्।

धनुषा गोविन्दपुर–६का सतीश लाल कर्ण बताउँछन्, ‘लामो समयपछि भेटेका आमाछोरीहरु पोखरीको डिलमा भेट्छन् र दुःख, सुखका कुरा गर्छन्।’

मन्दिरका महन्थ भरत दासका अनुसार मेलभरमा पाँचौ हजार आमाछोरी पोखरी डिलमा गफिन्छन्।

मेला भर्न युवा युवती पनि ओइरिन्छन्। युवायुवतीबीचको आकर्षण आपसी प्रेममा परिणत भएर विवाहसमेत हुने गरेको महन्थ दास बताउँछन्। ‘प्रेमलाई धार्मिक विधिअनुसार विवाहमा रुपान्तरण गर्न त्यहीँ धनुषलाई साक्षी राखी विवाह गर्ने परम्परा पनि यहाँ छ,’ दासले भने ।

धनुषाधामको अर्को विशेषता भनेको शरीरमा मुसा पलाउँदा भान्टाको भार चढाउने भाकल गर्नेको संख्या पनि बाक्लो नै रहेको छ। धनुष बाबा मन्दिरमा शरीरमा हुने मुसो (अ‍ैल्हा) रोग निवारणको लागि भाकल गर्ने प्रचलन छ।

पूजाको क्रममा हुने सम्भावित होहल्ला र उच्छश्रृंखला क्रियाकलाप नियन्त्रण गर्नको लागि नेपाल र सशस्त्र प्रहरीले संयुक्त रुपमा सुरक्षामा खटिएका हुन्छन् ।

यस वर्ष पनि दुवै सुरक्षा निकायले संयुक्त रुपमा मन्दिर भित्र र बाहिर सुरक्षा प्रदान गरेको जिल्ला प्रहरी कार्यालय धनुषाधामका प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।

राज्यसँगको अपेक्षा

धनुष मन्दिरको नाउँमा आफ्नो कुनै सम्पति छैन। अहिले यो मन्दिर जनकपुरको जानकी मन्दिरको स्वामित्वमा छ। महन्थ भरत दास भन्छन्, ‘२०४२ साल देखि मैले पुजा गरिरहेको छु, भगवानको नाममा विना तलब । बुवा रामदेव दासले पनि ३२ वर्ष जति पुजा गर्नु भयो।’

यहाँ बस्नको लागि पटनाका ताराचनले बनाएको ३४ कोठाको धर्मशाला त छ तर, उक्त धर्मशाला पनि अव्यवस्थित रहेका कारण पर्यटकहरु धर्मशालामा बास वस्दैनन। पर्यटक आगमन बढाउन पूर्वाधार विस्तार गर्नुपर्ने स्थानीयको भनाई छ।

मेला पर्वमा शान्ति सुरक्षा रहे पनि अन्य समय सुरक्षित वातावरण नभएको स्थानीय बताउँछन्। धनुषाधामलाई पर्यटक स्थलको रुपमा विकास गर्नको लागि राज्यको विशेष पहलको प्रतीक्षामा छन् स्थानीय बासिन्दा।

धनुषाधाम मेलाको कोसेली तेजपात

मेलाबाट ल्याइने कोसेली (सनेस) अनेक हुन सक्छन् । मेलाको कोसेली रुपमा धेरैको छनोटमा मिठाई, कपडा, खेलौना आदि भएपनि धनुषाधाम मेलाको कोसेली मेल तेजपात हुने गर्दछ।

यस मेलामा तेजपातका लागि छुट्टै बजार लाग्ने गर्दछ । यहाँ तीन जना तेजपातका मुख्य व्यापारीले छुट्टाछुट्टै व्यापार गर्दै आएका छन् । उदयपुर जिल्लाबाट तेजपात ट्रकमा ल्याएर भण्डारण गरी खुद्रा व्यापारीलाई बेच्ने गरेको थोक बिक्रेता रामजतन साहले जानकारी दिए ।

२५ वर्षदेखि धनुषाधाममा तेजपातको थोक व्यापार गर्दै आएको उनले भने, ‘मेला अवधिभर २४–२५ ट्रक तेजपात बिक्री भएको छ । एक ट्रकमा औसतमा २५–३० क्विन्टल तेजपात ल्याउने गरेको छु ।’ अन्य व्यापारीको समेत गरी मेलामा सात सय क्विन्टलभन्दा बढी तेजपात व्यापार भएको जानकारी दिए।

वर्षमा यसै मेलामा तेजपातको व्यापार गरी घरपरिवार चलाउने गरेको अर्का थोक व्यापारी बलराम साहको कथन छ । अन्य बाहिरको बजारभन्दा यसै मेलामा सबभन्दा बढी तेजपातको व्यापार हुने गरेको जानकारी दिँदै व्यवसायी भरत साहले भने, ‘मेलाको केही समयअघि देखि तेजपात ल्याएर भण्डारण गर्छौं । मेला अवधिभरि यही बास बस्ने, खाना पकाएर खाएर व्यापार गर्छौं ।’

थोक व्यापारीबाट प्रतिकिलो ४५–५० रुपियाँमा खरिद गरी खुद्रामा प्रतिकिलो ६० रुपियाँमा बिक्री गरिरहेको खुद्रा व्यापारी बताउँछन् ।

नेपालमा पाइने प्रजातिको तेजपात बास्नायुक्त सदावहार वनस्पति भएको हुँदा भारतीय पर्यटक, श्रद्धालुभक्तजन धेरै मात्रामा किन्ने गरेको उनले बताए।

धनुषाधामको मेला भर्न आउने जोकोहीले यहाँबाट तेजपात कोसेली (सनेस) लिएर घर फर्किन्छन् । यहाँको कोसेली सामान्य लागे पनि आफ्नै महत्व रहेको छ ।

धनुषा सबैलाका रामकुमार साहले पुस्तौँदेखि यो मेलाबाट कोसेलीमा तेजपात (पतरक) अनिवार्य लिएर घर फर्किने गरेको बताए।

  


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved