संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो दोस्रो तथा अन्तिम कार्यकालको उत्तरार्द्धमा छन् । महिना दिनभित्र नयाँ राष्ट्रपतिको चुनाव हुने छ, नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्नेछन् । भण्डारीको बिदाइ हुनेछ ।
संवैधानिक राष्ट्रपतिको सीमा, क्षेत्राधिकार, गरिमा र मर्यादाको दृष्टिकोणले विवादास्पद रहँदै आएकी भण्डारीले जाँदाजाँदै एक अर्को असहजता सिर्जना गरिदिएकी छन् ।
माघ २७ गते राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने कार्यक्रम थियो । यस्तो सम्बोधनको कुनै नियमित तालिका थिएन । यतिखेर राष्ट्रपतिको सम्बोधन किन र के कारणले आवश्यक थियो भन्ने न सरकारले प्रष्ट गर्यो न त राष्ट्रपति भण्डारीले नै ।
राष्ट्रपतिले सामान्यतया वर्षमा १ पटक संसदमा आएर सरकारका नीति तथा कार्यक्रम वाचन गर्ने प्रचलन हुन्छ । त्यसबाहेकको सम्बोधनका लागि राष्ट्रपतिले विशेष इच्छा जाहेर गर्नुपर्ने हुन्छ । कार्यकाल पूरा गरी बिदा हुने वेलामा संसदलाई बिदाइ सम्बोधन गर्ने उनको इच्छालाई सरकारले पूरा गरिदिएको हुन सक्दछ ।
तर, राष्ट्रपति भण्डारीको त्यो दिनको ‘राजकीय स्कर्टिङ’ ले पुरानै पीडा दोहोर्याएको मात्रै हैन, उनलाई जनस्तरमा थप विवादास्पद र निन्दाको पात्रसमेत बनाएको छ । राष्ट्रपति भण्डारी शितल निवासबाट संसद भवन आउने क्रममा घण्टौं पैदलयात्रुलाई सडक पेटीमा रोक्नु र ट्रमा सेन्टर अगाडि चिकित्सकमाथि प्रहरीले दुर्व्यवहार गर्नुले गणतान्त्रिक राष्ट्रपतिको मर्यादा झनै कमजोर भएको छ ।
एक चिकित्सिक घाइते भएका छन् भने दर्जनौंलाई अपमानपूर्णक व्यवहार गरिएको छ । त्यही क्रममा चिकित्सकसमेत आन्दोलनमा उत्रिए । सरकारले यो घटनाको छानबिन गर्ने भनेर चिकित्सकसँग सहमति गरेको छ । दुर्व्यवहार गर्ने एक प्रहरी कर्मचारीलाई निलम्बन गरेको बताइएको छ ।
तर, यो घटना र प्रवृत्ति त्यतिमै सीमित हुने वा हुन पर्ने खालको भने देखिन्न । संघीय लोकतान्त्रिक गणतन्त्रको राष्ट्रपतिको सवारी राजतन्त्रका महाराज–महारानीको जस्तो हुनुपर्ने हो कि हैन ? मुख्य प्रश्न यो हो ?
संवैधानिक राष्ट्रपति र महाराज–महारानीको संस्कार र संस्कृतिबीच नै आधारभूत भिन्नता हुनुपर्ने हो । यस दृष्टिकोणले हेर्ने हो भने परम्परागत ढाँचाको सवारी प्रचलन नै अनुचित देखिन्छ । अनावश्यक तामझाम गर्ने र सर्वसाधारणभन्दा आफूलाई फरक देखाएर शासन गर्ने संस्कृति गणतान्त्रिक राष्ट्रपतिका लागि गौरवभन्दा बढी लज्जाको विषय हुनुपर्ने हो ।
गणतन्त्र त्यस्तो व्यवस्था हो जसले राज्य प्रमुख पनि सामान्य नागरिक सरह हो, र सामान्य नागरिक नै राष्ट्रपति हुने हो भन्ने सन्देश दिन्छ । अझ गज्जबको कुरा के छ भने राष्ट्रपति भण्डारी विचार र पार्टीगत संलग्नताका दृष्टिकोणले कम्युनिस्टसमेत हुन् । कम्युनिस्टहरू हिजो ‘सबै मानिस बराबर, सबै नागरिक समान हुन्’ भन्ने कुरा गर्थे । आफूलाई सामन्तवाद र पुँजीवादको विरोधी शक्ति भएको तर्क गर्थें ।
तर, कम्युनिस्ट राष्ट्रपतिको चरित्र र व्यवहारमा सामन्तवादी संस्कार, संस्कृति र प्रवृत्तिको निरन्तरता हुनु आफैँमा पाखण्डपूर्ण हो । हुनतः संवैधानिक राष्ट्रपतिले के गर्छ र जिम्मेवार त सरकार वा प्रधानमन्त्री हुन् भन्ने तर्क गर्न नसकिने हैन। राष्ट्रपतिको सवारी गर्ने कि न गर्ने वा गरे के कसरी र कस्तो गर्ने भन्ने निर्णय सायद सरकारले नै गर्छ । सरकार पनि यस मानेमा आलोचनाभन्दा बाहिर रहन सक्दैन ।
तर, स्वयं राष्ट्रपतिको चाहना नभई यो सबै सम्भव हुँदैन । १० वर्षदेखि आलोचना भइरहेको विषयमा राष्ट्रपति जानकार छैनन् भनेर मान्न सकिँदैन । आफ्नो सवारीका कारण जनताले दुख: पाएका छन्, चर्को आलोचना पनि भइरहेको छ भन्ने जान्दा जान्दै पनि पुरानै परम्परामा रमाउन खोज्नु राष्ट्रपतिकै मुख्य कमजोरी हो।
अर्कातिर यसको जिम्मेवारी कसले लिने भन्ने भन्दा पनि संघीय लोकतान्त्रिक गणतन्त्रको राजकीय प्रचलन कस्तो बनाउने हो ? आम नागरिकलाई दुख: दिने र अपमान गर्ने कि सर्वसाधारणसरह समान र बराबरीको भूमिका गर्ने ? यो मुख्य प्रश्न हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रमा ती सबै प्रचलन जस्ताको त्यस्तै राख्न जरुरी थिएन जो राजतन्त्रको युगमा थिए । गणतन्त्र भनेको राजाको ठाउँमा राष्ट्रपतिलाई खडा गर्नु र राजालाई जस्तै मानमनितो गर्नु हैन ।
गणतन्त्रको राष्ट्रपति भनेको एक पद, एक जिम्मेवारी हो । कर्मचारीले कार्यालय गएर नियमित काम गरेजस्तै राष्ट्रपतिले पनि कानुनले दिएको तलब भत्ता बुझेर संविधान र ऐनकानुनले तोकेको आफ्नो भागको राजकीय जिम्मेवारी पूरा गर्ने हो ।
अन्य बेलामा राष्ट्रपति एक सामान्य नागरिक र नागरिकसरह हुन्छ, हुनुपर्दछ । यदि, आफू नागरिकसरह भएको अनुभूति वा बोध छैन भने त्यो राष्ट्रपति हुनु योग्य व्यक्ति हैन भन्ने अर्थ लाग्दछ ।
राष्ट्रपति सार्वभौम नागरिक भएको हैसियत र अधिकारबाट निसृत हुने पद र जिम्मेवारी हो । त्यो राजतन्त्रको राजाजस्तो कुनै व्यक्ति, वंश, परिवार वा ‘प्रिभिलेज’ समुदायको प्रतीक हैन र हुनै सक्दैन । यो पदलाई हुन दिइनु पनि हुन्न । अन्यथा संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म, भावना र गरिमा कमजोर र शिथिल हुन्छ । जनतामा गणतन्त्रप्रति नै वितृष्णा सिर्जना हुन्छ ।
राष्ट्रपति भण्डारीका कतिपय निर्णय र व्यवहारले गणतन्त्रलाई बदनाम गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनतामा वितृष्णा सिर्जना गर्ने काम गर्दै आएको जगजाहेर छ । यसबीच लगभग समाप्त प्रायः भइसकेका दक्षिणपन्थी राजनीतिक समूहको पुनर्मजबुतीमा राष्ट्रपति भण्डारीका यस्ता क्रियाकलापसमेत जिम्मेवार छन् ।
गणतन्त्रको राष्ट्रपतिलाई राजतन्त्रको महाराजा–महारानीजस्तो झुठो शान, रवाफ र तामझामपूर्ण व्यवहार प्रदर्शन गर्न दिनु हुँदैन । त्यो भनेको राष्ट्रपतिलाई नागरिकबाट आएको र नागरिक सरह जीवन बाँच्ने, नागरिक समान र बराबर बनाउनु हो ।
यसमा स्वयं राष्ट्रपतिले पनि महाराज वा महारानी बन्ने लालसा त्याग गर्नु जरुरी छ । अहिलेकी राष्ट्रपति भण्डारीले जतिसुकै आलोचना भए पनि आफ्नो हठ छाडिनन् । उनमा आफू महारानी नै भएको भ्रम परेको हुन सक्छ । तर, अब आउने राष्ट्रपतिले कम्तिमा यस्ता अनावश्यक तामझाम हटाउन विशेष ध्यान दिउन् ।
Facebook Comment
Comment