काठमाडौं । उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्याउन नहुने बताएका छन् । बुधवार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रको चुनौति र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बजेटको आकारलाई वास्तविक बनाउनुपर्ने बताएका हुन् ।
उनले अहिले बजेटको आकारका विषयमा छलफल चलिसकेको पनि बताए । उनले खर्च कटौतीसम्बन्धी अर्थमन्त्रालयले महत्वपूर्ण निर्णय गरेको भएपनि अर्थतन्त्रको सुधारको लागि त्यतिमात्रैले नपुग्ने बताए ।
मन्त्री पौडेलले आर्थिक नीति परिमार्जन गर्ने बेला भएको पनि बताए । उनले अर्थ कटौतिको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि आफू प्रतिवद्ध रहेको पनि बताए । मन्त्री पौडेलले अर्थतन्त्रमा काम नलाग्ने संरचना र नीतिलाई हटाउनका लागि गृहकार्य आवश्यक भएको स्पष्ट पारे ।
आगामी दिनमा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै उनले अहिलेका नयाँ समस्याहरुको चाङलाई विस्तारै कम गर्दै लैजाने बताए ।
‘मुलुकको आर्थिक समस्या र समाधानका बारेमा चर्चा भइरहेको छ । समस्याका प्रवृत्तिहरु फरक फरक छन्, कति तात्कालिक महत्वका र कति दीर्घकालीन छन्, कति मध्यकालीन छन् त्यही अनुसारका नीतिहरु अघि सार्नुपर्छ । तर तत्कालका समस्या समाधान गर्नुपरेको छ, दीर्घकालीन नीतिहरु अघि सारेर हुँदैन’ पौडेलले भने, ‘अहिले सरकारले जे जस्ता नीतिहरु अघि सार्दैछ, यो भनेको ज्वरो आउनुभन्दा अघि किन आयो भन्नुभन्दा सिटामोल ख्वाइन्छ, त्यसैले कतिपय बेला तत्कालका उपायहरु अपनाउनुपर्छ ।’
‘हामी नयाँ समस्याहरुका चाङको सामुन्नेमा छौँ, बजेटको आकारका सन्दर्भमा हमीले जस्तो अभ्यास गर्दै आएका छौँ, अब त्यही अभ्यासलाई अनुशरण गर्ने अनुमति अब हामीलाई छैन, बजेटको आकारको बारेमा हामी सच्चिनैपर्छ । गत वर्षको बजेटमा कति प्रतिशत वृद्धि गर्ने भनेर मात्रै त्यो छुट हामीलाई छैन । हामी रियालिस्टिक बजेट ल्याउने छौँ ,’ उनले भने ।
अर्थतन्त्रको सुधारका लागि अझै प्रभावकारी कार्यक्रमहरू गर्ने उनले बताए । उनले ब्याजदरका विषयमा आपसमा बसेर छलफल गर्नुपर्ने बताए ।
Facebook Comment
Comment