रास्वपा भन्छ- सरकारबाट बाहिरिँदैनौँ भनेर भन्न सकिन्न

संसद्‌को चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

नेपालभ्युज

रास्वपा भन्छ- सरकारबाट बाहिरिँदैनौँ भनेर भन्न सकिन्न

काठमाडौं । संसद्‌को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

३ विभागीय मन्त्रालयसहित १ राज्यमन्त्री लिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएको रास्वपाले गृह मन्त्रालय नपाएसँगै सरकारबाट बाहिरिने चेतावनी दिएको हो ।

‘सरकारमा रहने वा नरहने भन्ने विषयमा निर्णय हुनुभन्दा पहिले सुरूमा हाम्रै भागमा परेको गृह मन्त्रालय पुन: पाउँछौँ कि पाउँदैनौँ भन्ने विषयको टुङ्गो लाग्नुपर्छ । गृह नपाएको खण्डमा सरकारमा नरहन सक्छौँ,’ प्रवक्ता मुकुल ढकालले भने ।

यसअघि पुस १० गते गठित सरकारमा रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीका रूपमा सरकारमा सहभागी भएका थिए । उनको नागरिकता सम्बन्धमा परेको मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले माघ १३ गते सांसद पद खारेज गरिदिएसँगै गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँगै छ । प्रधानमन्त्री प्रचण्ड तत्कालै गृह मन्त्रालयको जिम्मेवारीमा कसैलाई नपठाउने ‘मूड’मा देखिन्छन् ।

रविले भने पुन: आफैँलाई गृह फर्काइदिन प्रधानमन्त्री प्रचण्डलाई भनिरहेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले भने रविलाई मात्रै नभएर रास्वपालाई समेत गृह मन्त्रालय दिन नसकिने बताएको सूत्रहरू बताउँछन् ।

त्यसो त प्रधानमन्त्री प्रचण्डको दल नेकपा (माओवादी केन्द्र) का पदाधिकारीहरूले तत्कालका लागि गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहनुपर्ने धारणा राखिरहेका छन् । यसकारण प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल नेकपा (एमाले) को दबाबमा पर्दासमेत गृह मन्त्रालय आफैँसँग राखिरहेका छन् ।

माओवादी केन्द्रका एक पदाधिकारीले भनेका छन्, ‘तत्कालका लागि गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहनुपर्छ भन्ने पार्टीको धारणा छ । यसमा थप छलफलपछि निर्णय हुनसक्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved