युवतीले सुत्नुअघि गर्नै पर्ने एउटा काम

नेपालभ्युज

युवतीले सुत्नुअघि गर्नै पर्ने एउटा काम

एजेन्सी । मेकअप गर्दा छालालाई कसरी स्वस्थ राख्ने भन्नेमा निकै ध्यान दिनुपर्ने हुन्छ । सामान्यतया मेकअप गर्दा सावधानी अपनाए पनि हटाउँदा त्यति ध्यान दिइएको पाइँदैन ।

सुत्ने समयमा अनिवार्य रूपमा मेकअप सफा गर्नुपर्ने हुन्छ । छाला स्वस्थ राख्नका लागि मेकअप जति आवश्यक हुन्छ, यसलाई कायम राख्नका लागि सही तरिकाबाट हटाउन पनि त्यति नै जरुरी हुन्छ ।

गलत तरिकाले मेकअप हटाउँदा त्यसले छालालाई असर मात्र गर्दैन, बरु छालासम्बन्धी विभिन्न समस्या निम्त्याउने गर्छ । प्रायले मेकअपका लागि महँगो सामान प्रयोग गरिरहेका हुन्छन् । तर, सुत्ने समयमा मेकअप सफा भने गर्दैनन् ।

सामान्यतया कामकाजी महिलाले कामबाट फर्केपछि लगत्तै मेकअप हटाउन अल्छी गर्छन् । कतिपयको अनुहार सफासमेत नगरी सुत्ने बानी हुन्छ । जुन अनुहारको छालाको लागि निकै हानिकारक हो ।

मेकअप गर्दा छालामा हुने छिद्रहरू बन्द हुन्छन् जसका कारण पर्याप्त रूपमा अक्सिजन प्रवाह हुन पाउँदैन । जसका कारण छालाका कोषहरू प्रभावित हुन्छ । यस्तै, मेकअप रगडेर हटाउने बानीले पनि छालाको कोषहरूमा क्षति पुगिरहेको हुन्छ ।

मेकअप रगडेर सफा गर्दा यसमा हुने केमिकलले छालालाई कडा बनाउने तथा सुक्खा बनाउने गर्छ ।

आँखाको मेकअप

आँखालाई संवेदनशील अंग मानिन्छ तसर्थ आँखाको मेकअप गर्दा वा हटाउँदा विशेष ध्यान दिनुपर्ने हुन्छ । आँखाको मेकअप हटाउँदा टिस्यु वा ट्वाइलेट पेपर प्रयोग गर्नुहुँदैन । सकेसम्म आई मेकअप रिमुभरको प्रयोग गर्नुपर्छ ।

कपासको डल्लोलाई आई मेकअप रिमुभरमा भिजाएर हल्का हातले आँखाको मेकअप हटाउन सकिन्छ । यदि आँखाको मेकअप वाटरपु्रफ भएमा ओलिभ वा बेबी आयल प्रयोग गर्न सकिन्छ । जसले गर्दा छालामा कुनै समस्या हँुदैन ।

अनुहारको मेकअप

छालामा समस्या आउन नदिनका लागि मेकअप हटाउन उत्तिकै आवश्यक छ । यसका लागि क्लिन्जर तथा सोपी मेकअप रिमुभरको प्रयोग गर्न सकिन्छ । कटन बललाई क्लिन्जर वा मेकअप रिमुभरमा भिजाएर बिस्तारै पुछी अनुहारमा लगाइएको फाउन्डेसनको साथै अनुहारको मेकअप हटाउन सकिन्छ ।

अनुहार सफा गर्दा अल्कोहलरहित क्लिन्जर र मेकअप रिमुभरको प्रयोग गर्नुपर्छ । अनुहारमा प्राकृतिक चमक कायम राख्नका लागि दिनहँु मेकअप सफा गरेर मात्र सुत्नुपर्छ ।

ओठको मेकअप

ओठको मेकअप हटाउने सबैभन्दा सजिलो उपाय पेट्रोलियम जेलीको प्रयोग हो । पेट्रोलियम जेलीलाई ओठमा लगाएर त्यसलाई टिस्युपेपर वा नरम कपडाले बिस्तारै सफा गरे अनुहारमा हानि पुर्‍याउँदैन ।

यस्तै, कोल्ड क्रिमको प्रयोगले पनि ओठको लिपिस्टिक हटाउन सकिन्छ । यसका लागि ओठमा कोल्ड क्रिमको प्रयोग गरेर करिब दुई मिनेट राख्ने र नरम कपडाको सहायताले त्यसलाई राम्ररी सफा गर्नुपर्छ । यसरी ओठको क्रिम हटाइसकेपछि ओठ सुक्खा हुन नदिन मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।

त्यस्तै मस्कारा नहटाई सुत्दा आँखा चिलाउने हुन्छ । यस्तै लिपिस्टिक लगाएर सुत्दा यसले ओठको प्राकृतिक ओस सोस्छ, जसले गर्दा ओठ फुट्ने समस्या हुन्छ । मेकअप सफा नगरेर सुत्दा छालामा जलन बढाउनुका साथै डन्डिफोर तथा काला धब्बा पनि आउने गर्छ । यसका लागि छालाले चिल्लो र धुलो जम्मा पार्नका साथै छालाले बाहिरबाट पाउने अक्सिजन पाउन सक्दैन जसले गर्दा छाला चाउरी पर्नेजस्ता समस्या देखापर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved