रामचन्द्रको बोलीमा इमान होइन, अवसरवाद छचल्कियोः एमाले नेता ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अगाडि सारेको राष्ट्रिय सहमतिको आवश्यकतालाई अवसरवादको संज्ञा दिएका छन् ।

नेपालभ्युज

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अगाडि सारेको राष्ट्रिय सहमतिको आवश्यकतालाई अवसरवादको संज्ञा दिएका छन् ।
पौडेलले मंगलबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सहमतिको सरकारको आवश्यकतामाथि जोड दिएका थिए । सहमति एजेन्डामा खोज्नुपर्नेमा कुनै पदविशेषमा जोड दिएको भन्दै ज्ञवालीले आलोचना गरेका हुन् ।
यस्तो छ ज्ञवालीको टिप्पणी-
आज प्रतिनिधिसभामा बोल्दै नेपाली कांग्रेसका नेता माननीय रामचन्द्र पौडेलले ‘राष्ट्रिय सहमति‘ को आवश्यकता औंल्याउनु भएको रहेछ । यसको औचित्यका आधारका रुपमा उहाँले तीनवटा विषयलाई अगाडि सार्नुभएको रहेछ– समस्याग्रस्त अर्थतन्त्र, भूराजनीतिक दबाब र शान्ति प्रक्रिया नटुंगिएको अवस्था ।
यी विषयहरू आज मुलुकले भोग्नु परेका गंभीर चुनौती हुन् भन्नेमा सन्देह छैन । तर माननीय रामचन्द्र पौडेल एउटा प्रश्नमा भने मौन रहनुभएको छ– यी समस्या आज अचानक देखा परेका हुन् कि हिंजैदेखि विद्यमान थिए ? समस्या त हिँजैदेखि विद्यमान थिए । तर आज अचानक यो ‘बोधिसत्व’ कसरी देखा पर्‍यो ?
अदालतलाई प्रयोग गर्दै जननिर्वाचित सरकारलाई विस्थापन गर्दा, सदनको सबैभन्दा ठूलो दललाई विभाजन गर्ने प्रयोजनकै लागि रातारात अध्यादेश ल्याउँदा, प्रतिपक्षका विरुद्ध सत्तापक्षीय गठबन्धन, घेराबन्दी र निषेधको बाटो अख्तियार गरिरहँदा र सत्तामा रहेर प्रतिपक्षलाई निमिट्यान्न पार्ने उद्घोष गरिरहँदा राष्ट्रिय सहमतिको विषय कता हराएको थियो होला ? निर्वाचनको परिणामले दिएका केही गंभीर सन्देश र मुलुकका सामु उपस्थित चुनौतीका बारेमा सार्थक छलफल गरौं भन्ने प्रस्तावलाई उपेक्षा गरिरहँदा सहमतिको विषय कुन विस्मृतिको गर्तमा पुरिएको थियो होला ? पुस १० गते बिहानसम्म पनि सबै प्रमुख कार्यकारी र संवैधानिक पदहरुमा एकल वर्चस्व कायम गर्न खोजिरहँदा राष्ट्रिय सहमति कता गायब थियो होला ?
त्यसैले आज यी विषयहरु उठाइरहँदा माननीय रामचन्द्र पौडेलका अभिव्यक्तिमा इमान होइन, अवसरवाद छचल्कियो ।
निश्चय नै उपर्युक्त विषयहरु गंभीर छन् । यसका लागि एजेण्डामा सहमति खोज्ने हो, कुनै पदविशेषमा होइन । नेपाली कांग्रेसले यी एजेण्डामा गंभीर परामर्श गर्न चाहेको हो भने सरकारले हार्दिक स्वागत गर्नुपर्छ र रचनात्मक सहयोग ग्रहण गर्न तत्पर हुनुपर्छ ।
तर होइन, नजर एकातिर र निशाना अर्कोतिर छ भने त के लाग्छ र ? त्यसै पनि, प्रमुख प्रतिपक्षको हैसियत पाऊँ भनेर पत्राचार गर्नु पर्ने अवस्था आफैमा गंभीर आत्मसमिक्षाको विषय होइन र ?

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved