विमान दुर्घटनाको कमजोरी ढाकछोप गर्न उड्डयन प्राधिकरणको झुट

सेफ्टी अडिट चलिरहँदा भएको दुर्घटनाले नेपाललाई अर्को समस्या

वायुसेवा प्रदायक संस्थाले सुरक्षा नियम पालना गरे/नगरेका विषयमा नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले  नजरअन्दाज गर्दै आएकाे छ। अनुगमन भएर त्रुटि भेटिए पनि वायुसेवा सञ्चालकको प्रभावमा छुट दिने गरिएको छ। जसका कारण उडानरत वायुयानको उड्डयन तथा हवाई सुरक्षाको खतरा बढेको छ।

नेपालभ्युज

विमान दुर्घटनाको कमजोरी ढाकछोप गर्न उड्डयन प्राधिकरणको झुट

काठमाडौं। विभिन्न तथ्य जाँचहरूले पोखरा जहाज दुर्घटनासम्बन्धी जहाज भित्रबाटै लाइभ गरिएको भिडिओ सही भएको पुष्टि गरिरहँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले भने भ्रामक रहेको भन्दै पन्छिँदै आएको छ। आफ्नो कमजोरीबाट उम्किने प्रयासस्वरूप उड्डयन प्राधिकरणले अर्कै भिडिओ भएको दाबी गरेको छ।

१९९४ देखि तथ्य जाँच गरिरहेको विदेशी संस्था, भारतीय फ्याक्ट चेक संस्था तथा नेपालका फ्याक्टचेक संस्थाहरूले लाइभ फुटेज दुर्घटना हुनुअघि यती विमानभित्रकै भएको दाबी गरेका छन्। आइतबार पोखरामा यतीको जहाज दुर्घटना हुनुअघि विमान अवतरणको क्रममा यात्रु सोनु जैसवालले फेसबुकमा लाइभ गरिरहेका थिए। जाँचबुझ आयोगले छानबिन नगर्दै प्राधिकरणले आफ्नो कमजोरी ढाकछोपको प्रयास गर्दै आएको छ।

सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त भिडिओ आइतबार काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजको नभएको बताएका थिए।

आफ्नो कमजोरीको विषयमा आलोचना हुन थाले पनि प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्नसमेत चेतावनी दिएको छ। विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर कुनै पनि व्यक्ति, संस्था, सम्बन्धित निकाय र पूर्व कर्मचारीहरूलाई नबोल्न निर्देशन दिएको हो।

दुर्घटना हुनुअघि विमान उड्दाउड्दै फेसबुक लाइभ गर्ने यी व्यक्ति को हुन् ?

सामान्यतया विमान उडान र अवतरणको क्रममा मोबाइल तथा विद्युतीय उपकरण चलाउन पाइँदैन। मोबाइल फोन फ्लाइट मोडमा राख्न आग्रह गरिन्छ। उडान र अवतरणमा विमान जमिनबाट धेरै नजिक हुने र मोबाइल फोनको सिग्नलले विमान र विमानस्थलको टावरबीचको सम्पर्कलाई बाधा पुर्‍याउन सक्ने भन्दै फ्लाइटमोडमा राख्न भनिन्छ।

विश्वमा भएका धेरै विमान दुर्घटनामा मोबाइल फोन पनि कारक मानिएपछि यो नियम राखिएको हो। तर, नेपालमा भने यात्रुले उलंघन गरिरहेको पाइन्छ। नियम पालनाको गराउनको लागि सम्बन्धित विमान कम्पनीसँगै उड्डयन प्राधिकरणको पनि भूमिका हुन्छ। वायुसेवा प्रदायक संस्थाले सुरक्षा नियम पालना गरे नगरेको विषयमा नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले  नजरअन्दाज गरिरहेको प्राधिकरणकै अधिकारी बताउँछन्।

नाम नलेख्ने शर्तमा एक अधिकारी भन्छन् ‘‘ नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनअनुसार वायुसेवा कम्पनी चलेका छन् कि छैनन् भन्ने नियमन गर्ने निकायले धेरै कुरामा लापरबाही गरिरहेको छ। उड्डयन सुरक्षा व्यवस्थापनसम्बन्धी नियम पालना भए नभएको राम्राेसँग अनुगमन गरिएको छैन। अनुगमन भएर त्रुटि भेटिए पनि वायुसेवा सञ्चालकको प्रभावमा छुट दिने गरिएको छ। जसका कारण उडानरत वायुयानको उड्डयन तथा हवाई सुरक्षाको खतरा बढेको छ।’’

नागरिक उड्डयन प्राधिकरणले भने यस आरोप अस्वीकार गर्दै आएको छ। नागरिक उड्डयन प्राधिकरणसम्बन्धी सम्पूर्ण कानुन कार्यान्वयन गराउँदै आएको र सुरक्षालाई जोखिममा पार्ने वा पर्नसक्ने गरी कसैले विमान नउडाएको उड्डयन प्राधिकरणका प्रवक्ता निरौलाको जिकिर छ।

उनले नेपाल भ्युजसँग भने ‘‘हामीले उड्डयन सुरक्षाका सबै नियम पालना गराएका छौँ। हाम्रो कमजोरी छैन। लाइभ फुटेजको विषयमा भने विमान उडिरहँदा फोनमा नेटवर्क टिप्न सक्दैन र विमानमा लाइभ गर्न सकिँदैन कि भनेर अनुमान गरेका हौँ। तर, लाइभ गरे पनि के भयो र । यात्रुलाई नियम पालना गराउने काम सम्बन्धित विमान कम्पनीको हो।’’

आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर ७२ जहाज दुर्घटना भयो । अहिलेसम्म ७१ जनाको शव फेला परेको छ। १ जनाको खोजी कार्य जारी छ। हवाई दुर्घटना हुनुमा विमान कम्पनीलाई सुरक्षा मापदण्ड पालना गराउनुमा उड्डयन प्राधिकरणको प्रमुख भूमिका भए पनि उसले उदासीनता देखाएको आरोप लाग्दै आएको छ।

‘विमान थोत्रो’ भएकै कारण दुर्घटना भएको हो त ? के भन्छन् विज्ञ ?

दुर्घटनाले नेपाल उत्तीर्ण हुन नसक्ने खतरा

नेपाल सन् २०१३ देखि युरोपेली युनियनको सुरक्षा चासोको सूचीमा रहेकोले प्रतिबन्धमा परेको छ। जसले गर्दा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीले युरोपको आकासमा उडान गर्न पाउँदैनन्। केही महिनाअघि ईयू मातहतकै मुलुकका वायुसेवाले समेत नेपाल आएर हवाई सुरक्षाबारे अडिट गरेका थिए। अहिले पनि हवाई उड्यन गतिविधि निगरानी गरिरहेका छन्।

युरोपेली युनियन एभिएसन सेफ्टी एजेन्सी (आएसा) ले नेपालको सेफ्टी अडिट गरिरहँदा दुर्घटना भने नरोकिएकाले खतरा बढेको विज्ञ बताउँछन्।

यसै वर्ष हवाई क्षेत्रमा दुई ठूला दुर्घटना भए। मुस्ताङमा भएको तारा एयरको जहाज दुर्घटनामा १९ जनाको ज्यान गयो । १ माघमा यतीको जहाज दुर्घटनामा आन्तरिकतर्फ अहिलेसम्मकै ठूलो क्षति भयो। सन् २०१० पछि लगातार भएका दुर्घटनाका कारण सन् २०१३ मा ईयूले नेपाली हवाई कम्पनी र उड्डयन क्षेत्रलाई कालोसूचीमा राखेको थियो। यसले नेपाली वायुसेवाको युरोप उडान रोकिएको छ।

दुर्घटनामा परेको विमानका क्याप्टेन कमल केसीसँग थियो ३२ वर्षे उडान अनुभव

अहिलेको नेपाल नागरिक उड्डयन प्राधिकरणको कमजोरी, विमान कम्पनीको लापरबाही र विमान दुर्घटनाको तथ्यांकले यो प्रतिबन्ध कायमै रहने चिन्ता देखिएको हवाई उड्डयनका जानकार निनाम लोवात्ती भन्छन् ‘‘युरोपेली युनियन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको सन्दर्भमा हवाई सुरक्षासँग सम्बन्धित धेरै चासो उठाएका छन्। नेपालले अन्य क्षेत्रमा तुलनात्मकरूपमा राम्रो प्रदर्शन गरिरहेको छ। तर, दुर्घटनाको क्षेत्रमा भने कमजोरी दोहोरिरहेको छ। नेपालमा दुर्घटना भए मात्र आयोग गठन हुन्छ। नियमित झक्झकाउने स्वतन्त्र निकाय छैन। विमान दुर्घटनापछि पर्यटन मन्त्रालय र प्राधिकरणलाई दिएका सुझावसमेत कार्यान्वयन हुँदैनन्। यसले पनि नेपाल सेफ्टी अडिटमा पास हुन कठिन छ।’’

ईयूले कालोसूचीमा राखेपछि कुनै पनि नेपाली वायुसेवा कम्पनीका विमान युरोपको आकाशमा उड्न पाएका छैनन्। लामो अन्तर्राष्ट्रिय उडानलाई लक्षित गरेर ल्याइएका नेपाल वायुसेवा निगमका वाइडबडी विमान छोटो दूरीका गन्तव्यमै उड्न बाध्य छन्। त्यस्तै, अन्तर्राष्ट्रिय उडानमा केन्द्रित निजी क्षेत्रको हिमालयन एयरलाइन्सले पनि बजार विस्तार गर्न पाएको छैन। विदेशी विमान मात्रै उडान भइरहँदा सेवा महँगो तथा नेपाली कम्पनीले बिजनेस पाउन सकेका छैनन्।

हवाई दुर्घटना, हवाई सुरक्षाको विश्वव्यापी मापदण्ड तथा सिफारिसको कमजोर परिपालना र औसत परिपालनाको न्यूनदरका आधारमा नेपाल कालोसूचीमा परेको हो। अन्तर्राष्ट्रिय उड्डयन प्राधिकरणको मापदण्डअनुसार १९४ देशका विमान कम्पनी सञ्चालित छन्। कालोसूचीमा नेपालसहित २२ मुलुकका ३ सय विमान कम्पनी छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण आफैँ नियामक र सेवा प्रदायक भएकोमा पनि ईयूको आपत्ति छ। सेवा प्रदायक र नियामक एउटै हुँदा सुरक्षा मामिलामा सम्झौता हुने ईयूको ठहर छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका केही अधिकारी भने प्राधिकरणको सङ्गठन संरचना सुधारमा काम भइरहँदा यस पटकको अडिटमा नेपाल उत्तीर्ण हुने र नेपाल ईयूको कालोसूचीबाट हट्ने अपेक्षामा छन् ।

को–पाइलट अन्जु जसले १६ वर्षअघि विमान दुर्घटनामै पाइलट पति गुमाएकी थिइन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved