काठमाडौँ । सर्वोच्च अदालतले नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनासम्बन्धी विवादको सुनुवाइ संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज संवैधानिक व्याख्याको प्रश्न देखिएको उल्लेख गर्दै संवैधानिक इजलासमा सुनुवाइ गर्न आदेश दिएको हो ।
सरकारको अन्तरिम आदेश खारेजीसम्बन्धी भ्याकेटको निवेदनमा सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने निर्णय गरेको हो ।
सरकारले माथिल्लो कर्णाली आयोजना वित्तीय व्यवस्थापनका लागि भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राव जिएमआरलाई दुई वर्ष समय थप गरेको थियो ।
उक्त निर्णयलाई चुनौती दिँदै स्थानीय बासिन्दाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।
नेपाल लगानी बोर्डसँग जीएमआरले २०७१ असोजमा २ वर्षका लागि परियोजना विकास सम्झौता गरेको थियो । उक्त अवधिमा काम नभएपछि २०७३ पुसमा १ वर्षका लागि समय थपिएको थियो ।
वित्तीय व्यवस्थापनका लागि भन्दै पुन: बोर्डले म्याद थपेर २०७४ कात्तिकमा अर्को १ वर्ष म्याद थप्यो । त्यसपछि म्यादभित्र काम पनि भएन र नयाँ निर्णयबाट सम्झौताको अनुमोदन पनि गरिएन ।
यसअघि बोर्डले निर्णय गरी म्याद थप्दै आएकोमा एक्कासि २०७९ असार ३१ गते मन्त्रिपरिषद्ले २ वर्षका लागि म्याद थपेको हो । मन्त्रिपरिषद्को उक्त निर्णयलाई चुनौती दिँदै अभियन्ता रतन भण्डारीलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।
९ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको आयोजना निर्माणमा १ खर्ब १६ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । सरकारले २७ प्रतिशत सेयर पुँजी निःशुल्क पाउने र १२ प्रतिशत अर्थात् १०८ मेगावाट विद्युत् पनि निःशुल्क पाउने गरी सम्झौता भएको छ । रासस
Facebook Comment
Comment