डा. अनिल कार्की समूहको एजेन्डा : अस्पतालमा छुट्टै सुरक्षाकर्मीदेखि चिकित्सकका परिवारलाई छुट्टै अस्पतालसम्म

नेपालभ्युज

डा. अनिल कार्की समूहको एजेन्डा : अस्पतालमा छुट्टै सुरक्षाकर्मीदेखि चिकित्सकका परिवारलाई छुट्टै अस्पतालसम्म

काठमाडौं । नेपाल चिकित्सक संघको आसन्न निर्वाचनका लागि डा. अनिल विक्रम कार्कीको प्यानलले एजेन्डा सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै लोकतान्त्रिक समूहको तर्फबाट अध्यक्ष पदका उम्मेदवार कार्कीले १७ बुँदे एजेन्डा सार्वजनिक गरेका हुन् ।

उनले चिकित्सकहरूको तलब बृद्धि गर्नेदेखि चिकित्सकलाई समयानुसार बिदाको व्यवस्था गर्ने एजेन्डा अघि सारेका छन् । चिकित्सक ऐन ल्याउन पहल गर्नेदेखि चिकित्सक र उनीहरूका परिवारका लागि छुट्टै अस्पताल बनाउन पहल गर्नेसम्मका योजना रहेको कार्कीले बताएका छन् ।

कार्कीसहितको समूहले सार्वजनिक गरेको १७ प्रमुख एजेन्डामा तलब वृद्धिसहित चिकित्सकको आर्थिक उन्नतिका लागि थप पहल गर्ने, अनलाइन टिडिएसको व्यवस्था गर्ने, चिकित्सकको ड्युटी आवरलाई वैज्ञानिक गर्दै १५ दिनको पेड ट्राभल बिदाको व्यवस्था गर्न पहल गर्ने, चिकित्सक सेवा आयोगको व्यवस्था गर्न पहल गर्ने र दरबन्दी थपका लागि दबाब दिनेलगायत रहेका छन् ।

अस्पताल र स्वास्थ्य संस्था सुरक्षाका लागि छुट्टै स्वास्थ्य सुरक्षा बल बनाउन पहल गर्ने विषयपनि उनको एजेन्डामा समावेश गरिकएको छ । निर्वाचन कार्यतालिकाअनुसार माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र मतदान हुँदैछ ।

संघको केन्द्रीय कार्यकारिणी समितिका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्याक्ष, ७ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्ष र ६ सदस्य गरी १९ जनाको निर्वाचन हुँदैछ ।

यद्यपि १९ जनामध्ये सात जना निर्विरोध भइसकेका छन् । वरिष्ठ उपाध्यक्षमा डा. बद्री रिजाल, प्रदेश एक उपाध्यक्षमा डा.बिपिन आचार्य , लुम्बिनी प्रदेश उपाध्यक्षमा डा. नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा. केशरबहादुर ढकाल, कोषध्यक्षमा डा. प्रमोद जोशी , सहकोषाध्यक्षमा डा. विक्रान्त ढकाल र सहसचिवमा डा. लिजन महर्जन निर्विरोध निर्वाचित भएका हुन्।

निर्विरोध निर्वाचित हुनेहरू सातैजना प्रजातान्त्रिक समूहका उम्मेदवार हुन् । एक/एक जनाको मात्र उम्मेदवारी परेका कारण उनीहरू निर्विरोध भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved