माधव नेपाल एमालेमा आउन गाह्रो छ, एकीकृत समाजवादीमा जान्नँ : भीम रावल

खह्रोरूपमा बोल्ने स्वभावका कारण मूलधारका सञ्चारमाध्यममा छाइरहने रावल केहीदिनयता भने चुपचाप बसिरहेका छन् । राष्ट्रिय राजनीतिमा देखिएको पछिल्लो ‘नाटकीय’ परिवर्तनका बारेमा पनि उनले बोलेका छैनन् । यही मौकामा हामीले रावलसँग कुराकानी गरेका छौँ ।

माधव नेपाल एमालेमा आउन गाह्रो छ, एकीकृत समाजवादीमा जान्नँ : भीम रावल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा (एमाले) मा नेतृत्वलाई टक्कर दिनसक्ने एकमात्र नेता भनेर चिनिएका डा. भीम रावल यतिबेला पार्टीमा सक्रिय छैनन् ।

१०औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग भिडेका रावल त्यसयता शीर्ष नेतृत्वको कट्टर आलोचक बने । जसका कारण ओलीले उनलाई निर्वाचनमा टिकटसमेत दिएनन् । उनले जबरजस्ती पनि गरेनन् ।

उनले भन्ने गरेका छन्, ‘चाहेको भए मैले स्वतन्त्ररूपमै पनि उम्मेदवारी दिएर जित्न सक्थेँ । तर त्यसो गर्न मन लागेन । पार्टीमा इमान्दारिता हुनैपर्छ ।’

यद्यपि उनी राष्ट्रिय राजनीतिक वृत्तबाट टाढा भने जाँदैनन् । राष्ट्रिय मुद्दामाथि आवाज उठाइरहन्छन् । खासगरी स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकताबारे खह्रोरूपमा बोल्ने स्वभावका कारण मूलधारका सञ्चारमाध्यममा छाइरहने रावल केहीदिनयता भने चुपचाप बसिरहेका छन् ।

राष्ट्रिय राजनीतिमा देखिएको पछिल्लो ‘नाटकीय’ परिवर्तनका बारेमा पनि उनले बोलेका छैनन् । यही मौकामा हामीले रावलसँग कुराकानी गरेका छौँ ।

राष्ट्रिय राजनीतिमा देखिएको पछिल्लो परिदृश्यलाई कसरी हेरिरहनुभएको छ ?

तपाईंले सरकार गठनको कुरा गर्नुभएको होला । यसमा मैले अहिल्यै केही टिप्पणी गर्दिनँ । यसका बारेमा म अध्ययन गरिरहेको छु ।

सरकारमा रहेका दलले न्यूनतम साझा कार्यक्रम ल्याउने भनेका छन्, साझा योजनाहरू बनाएर काम गर्ने भनिरहेका छन् । यी सबै हेरेर, अध्ययन गरेरमात्रै म सरकारबारे बोल्छु । अहिल्यै टिप्पणी गर्नु उचित हुँदैन ।

नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकीकरण गर्ने भनेर केही नेताहरू दौडधुप गरिरहेका छन्, यो सम्भव देख्नुहुन्छ तपाईं ?

यस सम्बन्धमा कुनै जानकारी छैन मलाई । कुनै नेताले पनि कुनैखाले जानकारी दिनुभएको छैन । कमरेड माधव नेपाल पनि यो पक्षमा हुनुहुन्छ जस्तो लाग्दैन मलाई ।

माधव नेपालले त भीम रावल हाम्रो पार्टीमा आउन तयार हुनुहुन्छ भन्नुभएको छ, तपाईं जान तयार हो ?

मलाई लाग्छ—उहाँले भीम रावल आउँदै हुनुहुन्छ भनेर भन्नुभएको छैन । उहाँ र मेरोबीचमा फोनमा कुराकानी भएको हो । अहिलेको स्थिति के छ, कस्तो छ भन्ने सन्दर्भमा विचार आदान–प्रदान भएको हो ।

यो राजनीतिमा भइरहने नै कुरा हो भनेर भनेको छु । त्यसबाहेक अन्य विषयमा हाम्रो कुराकानी भएको छैन ।

म कुनै पार्टीमा जान्नँ । ५० वर्ष काम गरेको पार्टी छाडेर अन्य कुनै पार्टीमा जानुपर्छ भनेर पनि ठान्दिनँ । एमाले छाड्ने र अरु नै कुनै पार्टीमा जोडिनेबारे मैले कहिल्यै सोचेको छैन र सोच्ने पनि छैन ।

नेताहरू त माधव नेपाललाई पुनः एमालेमै फर्काउने भनेर लाग्नुभएको छ, यो सम्भव देख्नुहुन्छ तपाईं ?

मैले समाचारमा पढेअनुसार एमालेका केही स्थायी समितिका नेताहरूले कमरेड माधव नेपाललाई भेट्नुभएको छ । उहाँहरूबीच के कुराकानी भयो, त्यस सम्बन्धमा म जानकार रहने कुरै रहेन ।

पार्टीमा फर्किनका लागि नेताहरूले उहाँ (माधव नेपाल) लाई आग्रह गरेको समाचार पनि पढेको हुँ । यस सम्बन्धमा सम्बन्धित नेताहरूलाई नै सोध्नुपर्ला । मलाई कुनै जानकारी छैन । तर, कमरेड माधव नेपाल फेरि फर्किनुहोला भन्नेचाहिँ लाग्दैन ।

उसो भए एमाले-एकीकृत समाजवादीबीच एकता हुँदैन ?

हुन्छ/हुँदैन मलाई जानकारी भएन । तर, प्रयास गर्नु त राम्रै कुरा हो । त्यसले औचित्यता दिन्छ/दिँदैन, त्यो अर्कै कुरा हो । अबको परिस्थितिले जे गराउँछ, त्यही हुन्छ । अहिले यही भइहाल्छ भनेर भन्न सकिने अवस्था देख्दिनँ ।

एमालेको मुख्य समर्थनमा नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा बनेको सरकारको आयुका बारेमा पनि टिप्पणी सुरू भएका छन्, यसबारे तपाईंको बुझाइ के छ ?

यसबारे तत्कालका लागि मसँग भन्नू केही छैन । सरकारले पूर्णता नै पाइसकेको छैन । न्यूनतम साझा कार्यक्रम नै आइसकेको छैन । मूलत: यस्तै काम र कार्यक्रमले सरकारको आयु निर्धारण गर्ने हुन् ।

सरकार बनिसकेपछि, साझा कार्यक्रम आइसकेपछि तपाईंसँग फेरि कुरा गरौँला । अहिले केही भन्दिनँ ।

अन्त्यमा, तपाईं एमालेको राजनीतिमा निष्क्रियजस्तो देखिनुभएको छ है ?

म एमालेकै राजनीतिमा सक्रिय छु । जसले ५ दशक लामो समय यही पार्टीमा रहेर काम गरेको छ, त्यसलाई निष्क्रिय भन्न पाउनुहुन्न तपाईं । म एमालेकै सदस्य हुँ, म एमालेमै सङ्घर्ष गरेर रहन्छु ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved