मतदान अगावै प्रचण्डले क-कसलाई बाँडे पद ?

नेपालभ्युज

मतदान अगावै प्रचण्डले क-कसलाई बाँडे पद ?

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार भोजपुरमा गठबन्धनबाट त्यहाँ प्रतिनिधिसभाका उम्मेदवार बनेका माओवादी नेता सुदन किराँतीलाई जिताएमा मन्त्री बनाउने सार्वजनिक अभिब्यक्ति दिए।

उनले सोही दिन धरानका गठबन्धनका उम्मेदवारलाई समेत जिताएमा मन्त्री बनाउने आश्वासन दिन भ्याए। उनले एकै दिन दुबै जनालाई मन्त्री बनाउने आश्वासन दिए। प्रचण्डले केही समय अगाडि काठमाडौं क्षेत्र नं २ को चुनावी सभामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीलाई विकासे मन्त्री बनाउने सार्वजनिक घोषणा गरे।

उनले चुनावी कार्यक्रम सम्बोधन गर्दै भनेका थिए, ‘ओनसरीलाई तपाईंहरूले जिताउनुहोस् मन्त्री बनाउने जिम्मा मेरो भयो।’ केही दिनअघि हुम्लाको चुनावी सभामा प्रचण्डले जीवनबहादुर शाहीलाई समेत कर्णालीको पुनः मुख्यमन्त्री बनाउने आश्वासन दिएर भ्याए। उनले आफू जहाँ पुग्छन् त्यहाँका उम्मेदवारलाई स्थानीय मतदाताले विजयी बनाए।

प्रधानमन्त्री मन्त्री र मुख्यमन्त्री बनाउने उधारो आश्वासन बाँड्दै आएका छन्। गोरखा २(ख) बाट प्रदेशसभातर्फ उम्मेदवारी दिएका कांग्रेसका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पनि मुख्यमन्त्री बनाउने घोषणा गरिसेका छन्। गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउने भन्दै आफ्नै पार्टीबाट स्याङजामा प्रदेशसभातर्फ अमृता थापालाई उम्मेदवारी दिन लगाएका छन्।

यस्तै आइतबार मात्रै उनले तनहुँ पुगेर रामचन्द्र पौडेललाई अत्यधिक बहुमतले विजयी गराए प्रधानमन्त्री बनाउने आफ्नो जिम्मा भएको घोषणा गरेर फर्किए। चुनावको नजिक आइपुग्दासम्म प्रचण्डले प्रधानमन्त्री र मन्त्रीको आश्वासन धेरै उम्मेदवारलाई दिइसकेका छन्।

कांग्रेसभित्रै महामन्त्री गगन थापा, अर्का नेता शशांक कोइराला र प्रकाशमान सिंहले प्रधानमन्त्री दाबी गरिरहँदा प्रचण्डले पौडेललाई प्रधानमन्त्री बनाउने आश्वासन तनहुँका मतदातासमक्ष गरेका हुन्। प्रचण्डले नेपालमा हालसम्मका अधिकांश (केही बाहेक)लाई आफूले प्रधानमन्त्री बनाएको दाबी गर्दै आएका छन्।

उनका अभिब्यक्तिहरू अनेकौं उम्मेदवारलाई हौसाउँदै चुनावी फण्डाको रुपमा मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीको स्वघोषित आश्वासन दिँदै आएका छन्। उनी आफैं तेस्रो तर निर्णायक दल हुने सार्वजनिक अभिब्यक्ति दिइ सकेका छन्। देशभर ४३ स्थानमा उम्मेदवारी दिएको उनको पार्टीको निर्वाचन परिणाम पश्चात कति सिट आउने हो अझै यकिन छैन। यसरी पदहरू बाँड्दै जानुले उनी आफूलाई गठबन्धनको सर्वेसर्वा र निर्णायक हुँ भन्ने देखाउन खोजिरहेका स्पस्ट हुन्छ।

प्रचण्डले जसलाई जेको मनोकांक्षा छ त्यही नै सार्वजनिक अभिब्यक्ति दिइरहेका छन्। उनले लामो समयदेखि प्रधानमन्त्रीको आकांक्षा ब्यक्त गरिरहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री नै बनाउने आश्वासन दिए। त्यसैगरी गोरखाका पाण्डेलाई मुख्यमन्त्री बनाउने बचनबद्धता पनि जनाएका छन्।

आफूले भने हुने र आफ्नो प्रस्ताव कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार नगर्ने समेत उनले दाबी गरेका छन्। तथापि आश्वासनमा उनका केही शर्त भने ब्याप्त छन्। पौडेललाई प्रधानमन्त्री बनाउन उनले भारी मतान्तरले जिताउनुपर्ने शर्त तनहुँ क्षेत्र नं १ का मतदातासमक्ष राखेका छन्।

प्रचण्डको पदीय आश्वासनले सत्ता गठबन्धनमै किचलो उत्पन्न हुने आशंका बढेर गएको छ। उनले आफ्नो निहित स्वार्थ र उम्मेदवारलाई जिताउने फण्डाको रुपमा पदको आश्वासन दिएको गठबन्धनका नेताहरूको बुझाइ छ।

परिस्थिति हेर्दै, आश्वासन बाँड्दै

सत्ता राजनीतिक कुटिल खेलाडी प्रचण्ड परिस्थिति हेरेर बोली फेर्न माहिर छन्। परिस्थिति हेरेरै आफूलाई रुपान्तरित गर्ने ताकत भने उनमा छ। भिन्न परिवेश अनुरुप उनका प्रतिवद्धता फरक हुन्छन्। कतै प्रधानमन्त्री त कतै मन्त्री र मुख्यमन्त्रीको आश्वासन बाड्दै हिडेका उनी आजभोलि मन्त्रीको आश्वासन बग्रेल्ती दिँदै हिडेका छन्। जसको चुनावी सभामा जहाँ पुग्छन् , त्यहा मन्त्रीको आश्वासन नदिइएको सायदै कमै होला।

सरकारको निर्णायक हुने हालसालै घोषणा गरेका प्रचण्डको उक्त अभिब्यक्ति र आश्वासन आफूलाई मजबुद र पद बाँडफाँटमा शक्तिशाली भएको सावित गर्न गरिएको हुन सक्ने राजनीतिक विश्लेसकहरू बताउँछन्। आगामी चुनावको सम्भावित परिणामको आकलन र त्यसैको आधारमा हुने सरकार निर्माणमा संसदीय शक्ति सन्तुलनको दृष्टिले निर्णायक हुने उनले बताइरहेका छन्।

आफ्नो दलको हैसियत सत्ता समिकरणमा निर्णायक बन्ने भएकाले उनी गठबन्धनका दललाई पूर्व जानकारीस्वरुप मनोवैज्ञानिक रुपमा सचेत गराउँदै बार्गेनिङ पावर बढाउने उद्देश्यले पदीय आश्वासन बाडेको हुन सक्ने राजनीतिक वृत्तमा आकलन गरिएको छ। गठबन्धनले निर्वाचनको परिणाम आफ्नो अनुकुल आउनेमा निर्धक्क रहेको पव्रचण्डको अभिब्यक्तिबाट प्रष्ट हुन्छ।

रामचन्द्रलाई भोट माग्दै प्रचण्डले भने- जिताउनुस् कार्यकारी भूमिकामा पुग्ने सम्भावना बढ्यो

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved