पोखरा-जोमसोम हवाई रुटमा मौसमी क्यामेरा, तीन ठाउँको मौसमबारे जानकारी दिने

क्यामराबाट प्राप्त हुने मौसमबारे जानकारी पोखरा नागरिक उड्डयन कार्यालय र जोमसोम नागरिक उड्डयन कार्यालयले मात्रै लिन पाउनेछन् । उक्त क्यामराको सहयोगमा हवाई कन्ट्रोल टावरबाटै पोखरा–जोमसोम हवाईमार्गका मौसमी दृश्य थाहा पाउन सकिनेछ ।

नेपालभ्युज

पोखरा-जोमसोम हवाई रुटमा मौसमी क्यामेरा, तीन ठाउँको मौसमबारे जानकारी दिने
फाइल फोटो

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा–जोमसोम हवाई रुटमा उडान सुरक्षाका लागि तीन ठाउँमा मौसमबारे जानकारी दिने क्यामरा राख्ने भएको छ । प्राधिकरणले कालीगण्डकी कोरिडोरअन्तर्गत माहुरेडाँडा, कुटुका र लेतेमा मौसमबारे जानकारी दिने क्यामरा जडान गर्न लागेको हो ।

क्यामरा जडानका लागि महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । माहुरीडाँडा, कटुका र लेतेमा जडान गरिने मौसमी जानकारी दिने क्यामराको परीक्षण सफल भएमा अन्य विमानस्थलमा समेत सेवा विस्तार गरिने उनले बताए ।

उनले भने, “पोखरा–जोमसोम हवाईमार्गको समुद्री सतहबाट दुई हजार तीन सय मिटरदेखि तीन हजार तीन सय मिटर अग्लो स्थानमा आविष्कार केन्द्रले उक्त अत्याधुनिक क्यामरा जडान गर्नेछ ।”

प्राधिकरण र आविष्कार केन्द्रबीच भएको सम्झौताअनुसार क्यामरा जडानमा लाग्ने खर्च प्राधिकरणले बेहोर्नेछ भने प्रविधि भने राष्ट्रिय आविष्कार केन्द्रले जुटाउनेछ ।

क्यामराबाट प्राप्त हुने मौसमबारे जानकारी पोखरा नागरिक उड्डयन कार्यालय र जोमसोम नागरिक उड्डयन कार्यालयले मात्रै लिन पाउनेछन् । उक्त क्यामराको सहयोगमा हवाई कन्ट्रोल टावरबाटै पोखरा–जोमसोम हवाईमार्गका मौसमी दृश्य थाहा पाउन सकिनेछ । केन्द्रले क्यामरामा कैद भएका दृश्य अन्य निकायलाई बिक्री गर्न पाउने छैन । केन्द्रले क्यामरा बिहान सूर्य उदाएदेखि बेलुकी सूर्यास्तसम्म सञ्चालन गर्नुपर्नेछ ।

क्यामरा जडानका लागि अन्य अपरेसनल पावर आवश्यक परेमा नेपाल टेलिकमको टावरहरू पनि प्रयोग गरिने प्राधिकरणले जनाएको छ । प्रस्थान बिन्दु र गन्तव्य बिन्दुको मौसम सफा हुँदा उडेका जहाज उडानमा रहँदा हुने खराब मौसमका कारण दुर्घटनामा पर्ने जोखिम हिमाली भेगमा बढी हुने गरेको छ ।

यसको न्यूनीकरण गर्न क्यामरा जडानको काम सुरु भएको प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेले बताए । पर्यटकीय गतिविधि बढ्ने बेला पोखरा–जोमसोम रुटमा हवाई उडान गर्ने कम्पनीका लागि भ्याइनभ्याइ हुने र अरूतिरको रुटका उडान कटौती गरेर भए पनि हवाई कम्पनीले पोखरा–जोमसोम उडान गर्ने गरेको उनले बताए ।

हाल पोखराबाट उडेको १० मिनेटमा जहाज म्याग्दीको घोरेपानी पुग्ने गरेको छ । जहाज घोरेपानीको आकाशमा पुगेपछि जहाजको पोखरा टावरसँग सम्पर्क टुट्ने गरेको छ ।

घोरेपानी कटेको जहाज लेते पुग्नुअघि बीचको तीन मिनेट कतै पनि सम्पर्क हुँदैन । प्राविधिकहरूले यसलाई ‘बफर जोन’ भन्ने गरेका छन् । लेते पुगेर जोमसोम सम्पर्कमा आएको जहाजले करिब चार मिनेटपछि जोमसोममा अवतरण गर्ने गरेका छन् ।

उक्त क्षेत्रमा क्षणभरमै हुने मौसमी परिवर्तनका कारण गत जेठ १५ गते बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर जहाज सोही क्षेत्रमा दुर्घटनामा परेको थियो । दुर्घटनामा २३ जनाले ज्यान गुमाएका थिए । यसअघि सोही रुटमा सन् २०१२ फागुनमा अग्नि एयरको जहाज दुर्घटनामा परेको थियो । त्यतिबेला दुर्घटनामा १५ जनाले ज्यान गुमाएका थिए । -गोरखापत्र दैनिकबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved