पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले किन जिताउने ? : कुन्ती पोखरेल

नेपालभ्युज

पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले किन जिताउने ? : कुन्ती पोखरेल

काठमाडौैं। राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेलले पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउन नहुने बताएकी छन् ।

मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलोका क्रममा उनले यस्तो बताएकी हुन् । राप्रपाबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी पोख्रेलले टुरिस्ट उम्मेदवारलाई जिताउँदा विकास नभएको उदाहरण र अनुभव रहेको भन्दै यसपटक आफ्नै माटोमा हुर्किएर भुगोललाई चिनेको उम्मेदवार जिताउन आवश्यक रहेको बताकी हुन् ।

उनले विगतमा पर्यटक उम्मेदवारका कारण काठमाडौं- २ मा विकासले गति लिन नसकेको बताइन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को शंखरापुरका क्षेत्रमा पश्चिम रुकुम, रोल्पाको भन्दा विकट स्थिति रहेको र निर्वाचन आफूले जिते पहिलो काम नै विकासको हुने प्रतिवद्धता गरिन् । आफ्नो एजेन्डा राष्ट्र, राष्ट्रियता र युवा शक्ति भएकाले दिनहुँ विदेशिएका नेपाली युवाहरूलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्ने , कागेश्वरी क्षेत्रमा चार लेनको बाटो भए पनि सडकमा नै ढल मिसिँदा कुनै पनि सवारीसाधन नचलेको स्थिति रहेको बताइन् ।

उनले आफूले जितेपछि पहिलो काम आफ्नो निर्वाचन क्षेत्रमा आएको बजेट हेर्ने र अनियमितता गरेको पाए कारबाही गर्ने पहिलो प्राथमिकता रहेको बताइन् । ‘मेरो प्रमुख एजेन्डा भन्नु नै राष्ट्र, राष्ट्रियता र युवा शक्तिका लागि हो । युवा वर्गहरू विदेश पलायन हुनुपर्ने बाध्यता छ, त्यसलाई रोक्नका लागि पनि हो । म यहाँ डुल्दा विकास नभएको पाएँ । कोटेश्वर, बानेश्वरतिर ठीक छ तर शंखरापुरमाथि गए रुकुम, रोल्पा जस्तो छ ।

कागेश्वरी भित्र सडकमै ढल छ । चार लेनको बाटोमा सवारी चल्दैनन् । यो क्षेत्रमा बजेट कति आएको छ त्यो हेर्न मन छ । पहिलो काम मेरो फाइल पल्टाएर यो क्षेत्रका जनताको लागि आएको बजेट हेर्ने काम हुनेछ । बजेट आएको र दुरुपयोग भएको पाएँ भने कारबाहीको लागि मैले सिफारिस गर्छु । बजेट आएको छैन भने वर्षौंदेखिको बजेट अब म यहाँ ल्याएर विकास गर्छु । यो क्षेत्रमा विकासको जिम्मेवारी म लिन चाहन्छु । पर्यटक उम्मेदवारलाई जिताएर पठाउँदा विकास नगरेको अनुभव हामीसँग छ,’उनले भनिन् ।

नेतृ पोखरेलले काठमाडौं २ मा बजेट नआएको पाए वर्षौंदेखिको बजेटको हिसाब गरेर विकासका काम अघि बढाउने बताइन् । विकासको जिम्मेवारी आफू लिन चाहेको भन्दै आसन्न निर्वाचनमा आफूलाई जिताउन मतदाताहरूसँग आग्रह गरिन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved