कालीकोटमा एक सय ५२ जना पाए आँखाको ज्योति

कालीकोटमा एक सय ५२ जना पाए आँखाको ज्योति

सुर्खेत। कालीकोटको रास्कोट नगरपालिकामा एक सय ५२ जनाको मोतिबिन्दु तथा आँखाको शल्यक्रिया गरिएको छ । कालीकोटको रास्कोट नगरपालिकामा आयोजनामा तेजको हिल एन्ड रुइट फाउन्डेसन आँखा अस्पताल सुर्खेतको आर्थिक सहयोगमा मोतिबिन्दु तथा आँखाको निःशुल्क शल्यक्रिया गरिएको हो ।

निःशुल्क मोतिबिन्दु तथा आँखा शिविरमा रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र पलाँता गाउँपालिकाका स्थानीयले सेवा लिएका थिए ।

कात्तिक २६ र २७ गते सञ्चालन भएको शिविरमा एक सय ५२ जनाले आँखाको मोतिबिन्दु तथा अन्य रोगको शल्यक्रिया गरिएको रास्कोट नगर अस्पतालका प्रमुख कौशल न्यौपानेले जानकारी दिए । ‘निःशुल्क आँखाको शल्याक्रिया शिविरमा ४५ वर्षदेखि ८७ वर्ष उमेर समूहका महिला, पुरुषहरूको मोतिबिन्दु तथा आँखाको शल्यक्रिया गरिएको छ ।’ उनले भने, ‘आँखा अस्पताल सुर्खेतका निर्देशक मनीष खतिवडा र डा.मञ्जु पन्तसहितको टोलीले आँखाका बिरामीहरूको शल्यक्रिया गर्नु भएको हो ।’

दुई जनाको दुवै आँखा नदेख्ने हुनुभएको नागरिकको शल्यक्रिया गरिएको र अन्यको एउटा आँखाको मात्रै शल्यक्रिया गरिएको नगर अस्पतालका प्रमुख न्यौपानेले बताए ।
शिविरमा मोतिबिन्दुको शल्यक्रिया गर्नु पर्ने अति गरिब विपन्न, दलित तथा पछाडिएको परिवारले लाभ लिएको रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाहीले बताए । ‘बाहिर गएर उपचार गर्न नसक्ने आँखाका बिरामीलाई नगरमा सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।’ उनले भने, ‘शिविरबाट यहाँका वृद्धवृद्धा तथा आर्थिक हिसाबले विपन्न रहनुभएका नागरिकले सेवा पाउनुभएको छ ।’

दुवै आँखा दुई वर्षदेखि देख्न छाडेको र अहिले गाउँमा नै शल्यक्रिया गरेर दुवै आँखा देख्न पाएको जीवनकै खुसीको क्षण भएको रास्कोट नगरपालिका–२ का ६७ वर्षीया अमनाथ सिम्खाडाले बताए । ‘मेरो दुबै आँखा देख्न नपाएको दुई वर्ष भयो । उपचारका लागि बाहिर जान सक्ने अवस्था थिएन,’ उनले भने, ‘दुई वर्षपछि यो संसार देख्न पाएँ निकै खुसी भएको छु ।’

उपचारका लागि टाढा जाने अवस्था नभएकाले आँखा देख्न नपाएको र आँखा के कारणले बन्द भएको हो त्यो पनि थाहा नभएको अहिले आँखा शिविरबाट आफूले गुमेको आँखा पुनः फर्किएको रास्कोट नगरपालिका–७ का जानुका बरालले बताइन् । ‘मैले मेरा आँखा के कारणले बन्द भयो । त्यो पनि थाहा पाएको थिइनँ ।’ उनले भनिन्, ‘शिविरबाट मैले गुमेको आँखा पुनः पाएँ । डाक्टरसाबहरूले मेरो आँखाको शल्यक्रिया गर्नुभयो । बल्ल मोतिबिन्दु भएको भन्ने थाहा पाए ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved