हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी मंसिरमा हुने राम्रो उम्मेदवारलाई छान्न मतदातालाई आग्रह गरेका छन् ।
बिहीवार मकवानपुरको बकैया गाउँपालिकाको जुरेलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भने ‘छोरी दिँदा जसरी सोच विचार गरेर दिन्छौँ, भोट दिँदा पनि त्यसै गरौं ।’
सिमित दलहरुले देशलाई चक्रव्युहमा फसाएको आरोप लगाउँदै उनले देश बचाउने अभिभारा जनताको काँधमा आएको भन्दै जनताहरु जागरुक बन्नुपर्ने धारणा राखे ।
उनले राप्रपाले पछिल्लो ५ वर्षको अवधिमा राष्ट्रियता र जनताको हितको पक्षमा वकालत गर्दै आएको दावी गरे ।
देशको विकास र समृद्धिका लागि आफ्नो पार्टीलाई जिताउन आग्रह गरेका उनले भने, ‘तपाईंहरुले भोट दिएर सरकारमा पठाउनुभयो भने हामी ओरालो लागेको अर्थतन्त्र सुधार गर्नेछौं । औद्योगिक क्षेत्रको विकास गरी रोजगारीको सिर्जना गर्नेछौं ।’
Facebook Comment
Comment