गोरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गोरखा २ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका टिकादत्त पोखरेलले आफ्नो १०० वर्षको जन्मोत्सव मनाएका छन् ।
सिरानचोक-४ माझगाउँवेशीस्थित निजी निवासमा परिवार र छरछिमेकका माझ हर्षोल्लासका साथ उनले जन्म सतक मनाएका हुन् । वि.सं. १९८० कात्तिक १४ गते जन्मेका उनले सोमबार आफन्तजन र छरछिमेकलाई घरमा आमन्त्रण गरी टिकाटाला गरेर र केक काटेर जन्मदिवस मनाएका हुन् । सो अवसरमा उनले २०५१ सालमा दिवंगत भएकी आफ्नी जीवनसंगिनी मुमादेवी पोखरेलको स्मरण गरेका थिए । उनका तीन छोरा र चार छोरीहरू छन् ।
नेपाली सेनाको जागिर त्यागेर २००४ सालमा मुक्तिसेनामा भर्ती भई राणा शासन अन्त्यका लागि लडाइँ गरेको प्रसंगको पनि स्मरण गरेका थिए । जन्मोत्सव समारोहमा संक्षिप्त बोल्दै उनले अहिलेका नेताहरूले देशलाई लुटेर आफूले कमाएका, सहिदको सपनालाई लत्याएका, सबै काम विदेशीको इशारामा गरेको आरोप लगाए।
विभिन्न समयमा भएका आन्दोलन र क्रान्ति सफल भएको भनेर जतिसुकै उद्घोष गरे पनि सिंहदरबारका चारै ढोका सर्वसाधारणका लागि सधैं बन्द रहेको भन्दै त्यसलाई खुलाउन आफू उम्मेद्वार बनेको उनले दाबी गरेका थिए । साथै, हिन्दू राष्ट्र स्थापना गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।
बीपी कोइरालाका सहयोद्धा रहेर लामो समय काम गरेका उनी नेपाली कांग्रेस (बीपी)मा आबद्ध छन् । अहिले सोही पार्टीबाट परेवा चुनाव चिन्ह लिएर प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् ।
Facebook Comment
Comment