एकअर्का पार्टीको मत ट्रान्सफर नहुने गठबन्धनमा चिन्ता, फकाउनेदेखि धम्काउनेसम्मको रणनीति

पछिल्ला दिनमा आयोजना हुने चुनावी सभामा देउवा, प्रचण्ड र नेपालले यस्तो चिन्ता दोहोर्‍याउँदैआएका छन्। कांग्रेस सभापति देउवाले माओवादी केन्द्र र नेकपा एकीकृतका कार्यकर्तालाई रुखमा भोट हाल्न सार्वजनिकरूपमा फकाउने समेत गरेका छन्। कांग्रेसका कार्यकर्ता र मतदातालाई हँसिया हथौडा र कलम चिह्नमा मत हाल्न प्रचण्ड र नेपालले सार्वजनिकरूपमा फकाउनेदेखि धम्काउनेसम्मका काम गरिरहेका छन्।

एकअर्का पार्टीको मत ट्रान्सफर नहुने गठबन्धनमा चिन्ता, फकाउनेदेखि धम्काउनेसम्मको रणनीति

काठमाडौं। सत्तारूढ गठबन्धनमा सीट बाँडफाँटका क्रममा प्रदेश सभा नुवाकोट क्षेत्र नंबर २ ‘ख’ मा नेपाली कांग्रेसले पायो। त्यहाँ उम्मेदवारी आकांक्षी थिइन् माओवादी केन्द्रका दिवंगत नेता पोष्टबहादुर बोगटी पत्नी राममाया बोगटी। पार्टीले उनलाई टिकट दिइसकेको थियो। तर सत्ता गठबनधनको भागबण्डाको क्रममा सो क्षेत्र कांग्रेसका बहादुरसिंह लामाले पाएपछि बोगटीले बागी उम्मेदवारी दिईन्। पार्टीको निर्देशनमा बोगटीले उम्मेदवारी फिर्ता गरिन् तर पाएको टिकट खोसिएपछि नुवाकोटका माओवादीका कार्यकर्ता खुशी छैनन्।

यस्तै प्रदेश (क)मा एकीकृत समाजवादीबाट पूर्वसांसद राजेन्द्रप्रकाश लोहनीको टिकट खोसियो। जहाँ माओवादीबाट रामप्रसाद ढुंगानाले उम्मेदवारी दिए। नुवाकोटमा तुलनात्मक रुपमा कमजोर देखिएको माओवादी र एकीकृत समाजवादीको टिकट खोसिएको झोकमा गठबन्धन छाड्ने चेतावनी समेत दिएका थिए। केन्द्रको आग्रहमा कार्यकर्ता सम्हालिएपनि एउटै चिन्ता छ, कांग्रेसका उम्मेदावारलाई माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताले मत देलान् त? नुवाकोटका गठबन्धनका कांग्रेसका नेताहरूसँग पनि यसको स्पष्ट उत्तर छैन। तरपनि उम्मेदवारहरु अर्कादलका कार्यकर्तालाई फकाउन कडा प्रयत्न गरिरहेका छन्।

नुवाकोट माओवादीका नेता भन्छन्, ‘‘स्थानीय तह चुनावमा आएको अन्तरविरोध नै हल भएको छैन। सबै माओवादी र एकीकृत समाजवादीले कांग्रेसलाई भोट हाल्छन् भन्ने के ग्यारेन्टी होला र?’’

काठमाडौं ५ को प्रदेश सभा (ख) मा एकीकृत समाजवादीको पनि उम्मेदवारी खोसिएपछि एकीकृत समाजवादीका कार्यकर्ता खुशी छैनन्। बालकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेकै वेला कांग्रेसका श्याम खड्काले उम्मेदवारी दिएपछि भोट एकीकृत समाजवादीका नेताहरु गएका छैनन्। त्यसो प्रतिनिधिसभातर्फ काठमाडौं ३ मा गठबन्धन भएकै छैन। जहाँ कांग्रेसबाट सन्तोष चालिसे उम्मेदवार छन्। यो क्षेत्रमा माओवादी केन्द्रबाट बद्रीप्रसाद बजगाईंले उम्मेदवारी दिएका छन्।

सीट बाँडफाँट नमिलेकै कारण काठमाडौं १० मा पनि गठबन्धन दलबीच प्रतिस्पर्धा छ। कांग्रेसबाट राजेन्द्रकुमार केसी र माओवादीबाट अन्जना विशंखे उम्मेदवार छिन्।

यो क्षेत्रमा सत्ता गठबन्धनबीच किन तालमेल भएन भन्ने प्रश्नमा माओावादी उम्मेदवार विशंखे कांग्रेसले दम्भ गरेको बताउँछिन्। काठमाडौं ३ र १० को तिक्तताले अरु क्षेत्रका समेत कार्यकर्ता प्रभाव पर्न सक्ने गठबन्कका नेताहरूमा चिन्ता छ।

यस्तै सत्तारुढ गठबन्धनका उम्मेदवारप्रति कार्यकर्ताहरू सन्तुष्ट नभएको निर्वाचन क्षेत्र हो दोलखा। स्थानीय चुनावको मत हेर्दा दोलखामा कांग्रेसले ३३ हजार ४३९ मत पाएको छ। माओवादी केन्द्रले १७ हजार ३७५ मत पाएको छ। जहाँ एमाले एमालेले ३९ हजार ५० मत पाएर पहिलो भएको थियो।

कांग्रेस र माओवादीको भोट जोड्दा एमालेलाई जित्न संभव देखिन्छ। तर, बढी भोट रहेको कांग्रेसले टिकट नभएको भन्दै कांग्रेसका कार्यकर्ता सन्तुष्ट छैनन्। ‘दोलखाका कांग्रेसले सर्लक्क माओवादीका उम्मेदवारलाई भोट देलान्?’ यसको उत्तर कसैसँग छैन।

यस्तै गुल्मी २ मा नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले उम्मेदवार दिएको क्षेत्रमा समेत कांग्रेस सन्तुष्ट छैन। जहाँ स्थानीय तहमा एकीकृत समाजवादीले जम्मा ६५८ मत मात्रै पाएको थियो। २९ हजार ८२१ मतसहित दोस्रो दल बनेको कांग्रेसका कार्यकर्ता गठबनधनकै साझा उम्मेदवार झाँक्रीप्रति बेखुशी रहेको बताइन्छ। तर, मतदाता रिझाउन उनले भगीरथ प्रयत्न गरिरहेकी छिन्।

स्थानीय तह निर्वाचनमा गठबन्धन आंशिक सफल भएको नजिरबीच आगामी संघीय निर्वाचनमा सत्तारुढ दलहरूले गठबन्धन गरेका छन्। तर चुनावमा गठबन्धनभित्रको मत साझा उम्मेदवारको पक्षमा ट्रान्सफर हुँदैन कि भन्ने दलहरूलाई छ। निर्वाचन क्षेत्रको उम्मेदवार, कार्यकर्तालाई मात्रै होइन दलका शीर्ष नेताहरूलाई पनि चिन्ता देखिएको छ। गठबन्धनको नेतृत्वकर्ता कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको व्यवहार र अभिव्यक्तिमा पनि यो चिन्ता मुखरित भएको छ।

पछिल्ला दिनमा आयोजना हुने चुनावी सभामा देउवा, प्रचण्ड र नेपालले यस्तो चिन्ता दोहोर्‍याउँदैआएका छन्। कांग्रेस सभापति देउवाले माओवादी केन्द्र र नेकपा एकीकृतका कार्यकर्तालाई रुखमा भोट हाल्न सार्वजनिकरूपमा फकाउने समेत गरेका छन्। कांग्रेसका कार्यकर्ता र मतदातालाई हँसिया हथौडा र कलम चिह्नमा मत हाल्न प्रचण्ड र नेपालले सार्वजनिकरूपमा फकाउनेदेखि धम्काउनेसम्मका काम गरिरहेका छन्।

अझ भनौं गठबन्धनका उम्मेदवारहरुले कांग्रेसको मत आफ्नो पक्षमा ल्याउन साम, दाम, दण्ड, भेद सबै उपाय लगाइरहेका छन्। गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको चुनावमा पनि गठबन्धनमा रहेका दलका कार्यकर्ताले एक अर्को पार्टीका उम्मेदवारलाई भोट नहालेको गठबन्धनमा विश्लेषण भएको थियो।

प्रचण्डले त शुक्रबार सबैदलहरू एउटै डुंगामा रहेको र, जिते सबैले जित्ने र हारे सबैले हार्ने बताए। सत्तारुढ गठबन्धनले शुक्रबार रुपन्देहीमा गरेको कार्यक्रममा उनले भने, ‘हामी कसैले के नसोचौं भने चुनाव सकिएपछि गठबन्धन सकिन्छ, अनि मेरो पार्टीलाई जिताउँछु अरु जेसुकै गरुन् भन्ने नसोचौं। त्यसरी सोच्यो भने आत्मघाती हुनेवाला छ, हामी एउटै डुंगामा छौं, जिते सबैले जित्ने र हारे सबैले हार्नेवाला छौँ।’’

यस्तै देउवाले समेत त्यस्तै अभिव्यक्ति दोहोर्‍याए। एनले कार्यकर्तालाई आग्रह गर्दै ‘ मिल्नुहोला, नमिले अरुले जित्ला’ भन्दै अभिव्क्ति दिन भ्याए। गठबन्धनको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शुक्रबार उनले भने, ‘‘हामी माथि राम्रैसँग मिलेकै छौं। तल अझ बढी मिल्नुपर्छ। मिल्नुहोला नमिले अरुले जित्ला।’’

गठबन्धनलाई कुनै पनि बहानामा शंका उत्पन्न नगराउन र आग्रहपूर्वाग्रह नराख्न पनि उनले आग्रह गरे। कांग्रेस नेता रामचन्द्र पौडेलले बुटवलमा शुक्रबार आयोजित कार्यक्रममा यस्तै भनाई राखे। उनले भने,‘‘पहिला व्यवस्था जोगाउ त्यसपछि आफ्ना दलसँगका मन मनमुटाव मिलाउँला।’’

उनले देश बचाउन भएको गठबन्धन पवित्र भएको बताउँदै त्यसअनुसार प्रचार गर्न नेता, कार्यकर्तालाई आग्रह गरे। यस्तै एकीकृत समाजवादीका अध्यक्ष नेपालले केही दिनअघि गठबन्धनले ललितपुरमा आयोजना गरेको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै आफूहररूले जसरी पनि जित्नु पर्ने तर्क गरे।

शीर्ष नेताहरूले यस्ता अभिव्यक्ति हरेकजसो कार्यक्रममा दिँदै आएका छन्। यसअघि कांग्रेसले माओवादीका उम्मेदवारलाई र माओवादीले कांग्रेसका उम्मेदवारलाई खुलेर मत नहालेको विश्लेषण गठबन्धनभित्र भएको थियो। एकीकृत समाजवादीले पनि अरु दलले आफ्ना उम्मेदवारलाई भोट नहालेको भन्दै असन्तुष्ट जनाएको थियो। त्यसको असन्तुष्टि नेताहरूले सार्वजनिकरूपमा अभिव्यक्त गरेका पनि थिए। संसदीय चुनावमा पनि त्यस्तो प्रवृत्ति दोहोरिमा शीर्ष नेतामा चिन्ता देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved