दुई लघुकथा

दुई लघुकथा

समय चक्र

माथ्ला गाउँबाट आएका एकहुल केटाहरूले कान्छोलाई लखेट्दै ढुङ्गा र इँटाका टुक्रा बजार्दै थिए। त्यहाँ अघिदेखि नै उभिरहेका मान्छेहरूलाई सोधे– “यत्तिका केटाहरूले एउटा कान्छोलाई किन लखेटीलखेटी चुटेका रहेछन्।”

“के हुनु नि ? कान्छाले माथ्ला गाउँकी चन्द्रालाई पत्र लेख्यो भनेर।” त्यहीँ उभिरहेका ठुल्दाइले भने।

‘पत्र लेख्यो भन्दैमा मान्छेको ज्यानै लिने गरी चुट्ने ? लौन ठुल्दाइ, कान्छोलाई बचाउनुहोस्।”

उनले इसारा गर्दै भने– “चुप लाग पत्र लेख्ने हो त त्यसले हाम्री छोरीलाई !”

कान्छोलाई नजिकबाट देखेको पनि वषौँ भइसकेको थियो। आफूभन्दा ठुलालाई सम्मान र सानालाई आदर गर्ने सहृदयी कान्छोलाई आफू नजिकै उभिएर पनि बचाउन नसकिएको परिदृश्यसँगै पीडा बोधले कान्छोसँग आँखा जुधाएर बोल्न सकिरहेकी थिइनँ।
कान्छो त्यो घटना पछि रातारात कहाँ गयो कसैलाई थाहा भएन।

वर्षौपछि फेरि सडकमा मान्छेहरूको खैलाबैला मच्चियो। माथ्लो गाउँबाट केही केटाहरूलाई प्रहरीले हतकडी लगाएर ल्याइरहेका थिए। कोही भन्दै थियो– “वषौँदेखि हाम्रो गाउँमा गुण्डागर्दी मच्चाउँदै आएका केटाहरूले बालिकाको हत्या गरेछन्।”

ओहो ! अत्याचारको पराकाष्टा। फटाहाहरूले ज्यान लिइकन छोडे। त्यस समय बर्दीधारी इन्चार्जले पुलुक्क हामीतिर फर्किएर हेर्‍याैँ।

त्यो त कान्छो पो रहेछ !

 

आँखीझ्याल

रमिलाले निमन्त्रणा दिँदै कुमारीलाई भनी– ‘कार्यक्रम राम्रो छ, जानुपर्छ है !’
‘कसको कार्यक्रम हो ?’
‘ए, तिमी चिन्दिनौ ? उहाँ क्या !’

‘ए, उनैको हो कार्यक्रम ?’
रमिलाले हो भनेपछि कुमारीले के के कुरा सम्झी।
केही वर्षदेखि उनका बारेमा सञ्चार माध्यमबाट विभिन्न कुरा सुनिँदै आएका थिए।
कोही भन्थे, ‘यी भित्र लुुकेको अलग राज छ।’
कोही भन्थे, ‘यी सामाजिक अभियन्ता हुुन्।’
कोही भन्थे, ‘यी राष्ट्रभक्त हुुन् !’
कोही भन्थे, ‘यी कमाउधन्दा गरिरहेछन्।’
सबै पक्षका कुरा सुुने पनि कुमारीले केही भन्न सकिरहेकी थिइन।
आज संयोगले नजिकबाट भेट्ने अभिलाषा बोकेर ऊ रमिलाको पछि लागी। उनीहरू कार्यक्रम स्थलमा पुग्दा तिनै व्यक्ति र अर्का एकजना मात्र थिए त्यहाँ। रमिला र कुमारीले जुम्ल्याहा हात गरे।
उनले पनि मुन्टो हल्लाए।

कुमारीका आँखा घरि घरि उनलाई पढ्न खोजिरहेका थिए।
तर उनी तुरुन्तै त्यहाँबाट जुरुक्क उठेर एकातिर लागे।
उद्घोषकले कृतिकारको नाम लिएपछि मात्र उनी कार्यक्रमस्थलमा आए। लोकार्पणपछि पुस्तक बाँडियो।
कुमारीले पानाहरू पल्टाउँदै गई, ‘पात्रहरूसँगको भलाकुुसारी गजबकै रहेछ।’
उसले मनमनै भनी, ‘कसरी तिमी एक्लै छुु भन्छौ ? सबै त छन् तिमीसँगै।’
ऊ पुस्तकसँगै संवाद गरिरहेकी थिई।

लेखकले मास्क खोल्दै भने– ‘तिमीले साँच्चै चिनिनौ !’
कुमारी तीन छक्क परी। ती त आफूले डिभोर्स दिएको लोग्ने पो रहेछ !
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved