काठमाडौं। पुकार बम सडकबाट चिनिएका नेता हुन् । अकुपाई बालुवाटार, नेताज्यू खबरदार, नेपाल खुला छ, संविधान कहिले, इनफ इज इनफ लगायतका अभियानमा सक्रिय बम प्रकारान्तरले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् ।
बमले विवेकशील नेपाली दल र साझा पार्टीबीच पार्टी एकीकरण भएपछि बनेको विवेकशील साझा पार्टीमा पनि लामै समय काम गरे । विवेकशील नेपाली दलका संस्थापकमध्येका एक नेता बमले सुरुमा भने मंसिर ४ काे चुनाव स्वतन्त्ररूपमा लड्ने घोषणा गरेका थिए । तर, भदौ २८ मा आएर उनले स्वतन्त्र पार्टीको चिन्ह रोजे ।
उनी चुनावमा उत्रिएको क्षेत्र काठमाडौं १ हो, जहाँ, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा (एमाले) नेता किरण पौडेल, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायत प्रतिस्पर्धी छन् । चिनिएकै अनुहार रहेकाले यसपटकको काठमाडौं १ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । तर, बमले भने यसपटक आफैँले बाजी मार्ने दाबी गरिरहेका छन् ।
उनले यसअघि २०७० र ७४ सालमा पनि चुनाव लडिसकेका छन् । तर, त्यतिबेला जित निकाल्न भने सकेनन् । उनै बमलाई नेपालभ्युजकर्मी धनबल राईले चुनावसँग सम्बन्धित प्रश्न राखेका छन् ।
सुरुमा स्वतन्त्ररूपमा चुनाव लड्ने घोषणा गर्नुभएका तपाईंले अन्तिमममा आएर किन राष्ट्रिय स्वतन्त्र पार्टी रोज्नुभयो ? के डर लाग्यो ?
त्योचाहिँ कस्तो भयो भने मैले सुरूमा घोषणा गर्दाखेरि नै मेरो उम्मेदवारी स्वतन्त्र, वैकल्पिक वा अभियानबाट हुनसक्छ भनेर प्रष्टरूपमा भनेको थिएँ । आजको दिन पनि त्यो यथावत् नै छ । रह्यो बाँकी प्राविधिक कुरा, सुरूका दिनमा पार्टीविहीन, दलविहीन हुँदै गर्दा दलतन्त्रको विकल्पचाहिँ दलकै रूपमा हुन्छ र हुनुपर्छ अथवा सामूहिकरूपमा नै जानुपर्छ भन्ने थियाे ।
अब शुद्ध स्वतन्त्रमात्रै भएर जाँदा भोलिका दिनमा चुनाव चिह्नलगायतका विषयमा विभिन्न ठाउँमा समस्या पर्छ भन्ने भयाे र हामीले कसको टिम राम्रो छ, हामी कोसँग जान सक्छौँ भनेर निर्क्यौल गर्याैँ, त्यसक्रममा हामी रास्वपामा जाेडियौँ । रास्वपाका टिमहरू हामीसँगै आएका पनि धेरै छन् । त्यसकारण हामी यहाँ यसरी जाेडियौँ । तर, हामी डराएर, हारिन्छ भनेरचाहिँ आएका हाेइनाैँ ।
कुनै पार्टीबाट घरदैलो तथा भेटघाटमा जाँदा आम-मतदाताको प्रतिक्रियाचाहिँ कस्तो पाउनुभयो ?
आज पनि हामीले चुनावी भेटघाट नै गरिरहेका छौँ । यो हाम्रो कार्यक्रम अब तेस्रो चरणमा प्रवेश गरेको छ । यो तिहारअघि हाम्रो तेस्रो चरण सकिन्छ र तिहारलगत्तै चौथो चरण सुरू हुन्छ । योबीचमा हामी पहिलो चरणमा पुग्दै गर्दाको जुन निराशा थियो, त्यो आशामा बदलिएको मात्रै छैन कि, जो मान्छेले हामीलाई ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेर भन्नुहुन्थ्यो, उहाँहरूले नै अहिले हामीलाई सघाइरहनुभएको छ, उहाँहरू हामीसँगै हिँड्नुभएको छ ।
हामीलाई आफ्नो टोल-टाेलमा, आफ्नो घर-घरमा उहाँहरू आफैँ लगिरहनुभएको छ । तपाईंले त्यसलाई भिडिओ तथा समाचारहरूमा पनि हेर्न र देख्न सक्नुहुन्छ । यसलाई हामीले निकै ठूलो परिवर्तन र उपलब्धि मानेका छौँ ।
फेरि हामीलाई विशुद्ध मतदाताले मात्रै होइन, अन्य पार्टी; कांग्रेस, एमाले, माओवादीकै साथीहरूले पनि एकदमै खुलारूपमा सघाइरहनुभएकाे छ । उहाँहरूले बढी भए पार्टीले केही समयका लागि कारबाही गर्ला, त्यसलाई सहुँला बुझुँला भनेर हामीसँगै हिँड्नुभएकाे छ ।
अहिले भर्खरै मात्रै पनि म माओवादी-एमालेका साथीहरूसँग भेटेँ, बसेँ । उहाँहरूले हामीलाई सघाउँदै पनि हुनुहुन्छ र फोटो, भिडिओ खिचेर पुकारजी तपाईंले ओपनली नै राखिदिनुस्, केही हुँदैन भनेर भन्नुभएकाे छ । त्यसकारण अब फरक दल, सिद्धान्त र मान्यता भएका साथीहरूले पनि यसपटक युवा, सक्षम र काम गर्नसक्ने आउनुपर्छ भनेर भनिरहनुभएको छ, साथ दिइरहनुभएकाे छ । योचाहिँ सबैभन्दा ‘बेस्ट पार्ट’ हो । यो हाम्रो लागि ठूलो उपलब्धि पनि हो ।
तपाईं यो भन्दै हुनुहुन्छ कि— मलाई पार्टीले नै सहयोग गर्दैछन्, म जित्छु !
मज्जाले ! मज्जाले !! मज्जाले !!!
जस्तो राप्रपाबाटै रुष्ट साथीहरू, दाइ-भाइहरूको साथ मिलिरहेको छ । उहाँहरूले रवीन्द्र मिश्रलाई टपक्क टिपेर पार्टीको दाेस्राे वरीयतामा राखेकोमा दुःख व्यक्त गर्नुभएको छ । आफ्नै घर बनाउन नसक्नेले अर्को घरमा आएर बिगार्छ कि भन्ने डर-त्रासको बीचमा इमान्दार राप्रपाका साथीहरूले पनि मलाई सहयोग गरिरहनुभएको छ । आन्तरिक बैठकहरूमा बोलाइराख्नुभएको छ ।
किनकि, रवीन्द्र मिश्र त हिजोको दिनमा विवेकशील साझा पार्टी आफैँले नेतृत्व गरेको, राम्रो भइसकेपछि पनि पार्टी तोडफोड गरेर सिद्ध्याएर आउनुभएको हो नि त ! अचानक आएर कुनै पनि योगदान छैन, ३०/३५ वर्षयता योगदान गरिरहेको साथीहरूलाई पछाडि पारेर उहाँ त पार्टीको दोस्रो वरीयतामा जानुभएको हो नि त ! अब त्यसमा रष्ठ साथीहरू मात्रै होइन कि, जसले इमान्दार भएर कुराहरू बुझेको छ, त्यो फरक विचार, सिद्धान्त भएका साथीहरूले सहयोग गर्नुभएकाे छ ।
सार्वजनिकरूपमै के भनिरहनुभएको छ भने घरदैलोमा त हिँडिराख्नुभएकै छ, पहिले-पहिले फोटो, भिडिओ लिन र सामाजिक सञ्जालमा राख्न गाह्रो मान्ने साथीहरू पनि अहिले राखिदिनुस् केही हुँदैन भनेर भनिराख्नुभएको छ, उहाँहरूको नि:स्वार्थ साथ मिलिरहेको छ ।
भनेपछि यसपटक तपाईंलाई पार्टीहरूले नै सहयाेग गर्दैछन्, पार्टीहरूले नै जिताउँदै छन ?
एकदम !
कांग्रेस, एमाले, माओवादी र राप्रपाबाट हामीलाई राम्रो साथ र सहयोग आइरहेको छ, यो क्रम चुनावसम्मै चल्छ ।
तर, तपाईंले जहाँबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ काठमाडौं १ त्यहाँ प्रायः चिनिएकै अनुहार छन् प्रतिस्पर्धीको रूपमा । त्यसमध्ये कसलाई प्रमुख प्रतिस्पर्धी मान्नुभएको छ ?
हामी तेस्रोपटक जनताको घर-घर पुग्दैछौँ । हामी त्यसरी घर-घर पुग्दा र बुझ्दाखेरि आफ्नो प्रमुख प्रतिस्पर्धी कांग्रेसकै उम्मेदवारलाई ठानेका छाैँ, मतदाताबाट हामीले सर्वेक्षण पनि गर्यौं, त्यसबेला पनि यही परिणाम आयो ।
किनभने उहाँ (प्रकाशन सिंह) ले यहाँबाट धेरैपटक जित्नुभएको छ । किरणजी त भर्खर आउनुभएको छ । राप्रपा प्रवेश गर्नुभएका रवीन्द्र मिश्र एक महिनाअगाडिसम्म के गर्ने, के गर्ने भन्नेमा हुनुहुन्थ्यो, उहाँ अझै दुविधामै हुनुहुन्छ । रमेश खरेलजीको कुरा गर्दा उहाँ आफ्नो पार्टीबाट नभई अरुकै चुनाव चिह्नबाट लड्दै हुनुहुन्छ, उहाँले जागिर खानेबाहेक केही गर्नुभएको छैन ।
हामी त ६ महिनायता अभियानमै छौँ । हाम्रो अभियान तेस्रो चरणमा छ, अहिलेसम्मको अनुभवले अलि बढी मेहनत गर्नुपर्नेचाहिँ प्रकाशमान सिंहसँगै हो । त्यसअनुसार नै हामीले मेहनत गरिरहेका छौं । मैले मेरो मुख्य प्रतिस्पर्धीचाहिँ प्रकाशमान सिंहलाई नै मान्छु । चुनावचाहिँ जितिन्छ ।
तपाईंले ‘क्यालकुलेसन’ गर्नुभएको छ ? यत्ति भोट आयो भने प्रकाशन सिंहसँग जित्छु, यति मतान्तरले जितिन्छ भन्ने ?
हिसाब-किताब खासरूपमा गरेका छैनौं । तर कामचाहिँ गरिरहेकै छौं । तर, यो ७० सालको चुनाव, ७४ सालको चुनाव र ७९ सालको स्थानीय चुनाव; यी सबैका तथ्यहरू विश्लेषण गर्दैगर्दा हामीले ३१ नं. वडामा चाहिँ अलिक बढी मेहनत गर्नुपर्ने देखेका छौं । जुन १ को ‘ख’ क्षेत्र पर्छ ।
अहिलेसम्मको ‘क्यालकुलेसन’मा हामीले ल्याउने भनेको लगभग १३ हजार जत्ति भोट हो, यदि यो आँकडामा भोट आयो भनेचाहिँ हाम्रो जित सुनिश्चित हुन्छ भन्ने छ । त्यहीअनुसार अहिलेसम्मको अभियानबाट हामीले ७ हजार ५ सयदेखि ८ हजारसम्म मतचाहिँ ल्याउन सक्छौं भन्ने विश्वास बढेको छ । यो मतचाहिँ सुरक्षित नै हो । बाँकी १ महिनामा ५ हजारका लागि मेहनत गर्नेछौँ । हाम्रो टार्गेट भनेको १३ हजार भोट हो ।
तपाईंले आउँदो चुनावबाट ५ वर्षसम्म काठमाडौं क्षेत्र नं. १ का जनताको प्रतिनिधित्व गर्नुभयो भने अहिले नभएका काम के-के हुन्छन् ?
मैले बारम्बार भन्दै आएको छु कि- विगत १२/१५ वर्षयता पुकार बमले नेतृत्व गरेको जति पनि अभियानहरू छन्, आन्दोलनहरू छन्, ती अभियान र आन्दोलनले स्थापित गरेका जत्ति पनि मुद्दाहरू छन्, जसले परिणाम नै लिएर आएका छन् । ती परिणाममाथि अझै सकारात्मक हस्तक्षेपकारी भूमिका खेल्ने त एउटा पाटो छँदैछ । त्यसपछि जुन यत्रो २०/३० वषदेखि सिंहदरबार र संसद्भित्र सिन्डिकेट छ, त्यहाँभित्र पुरानै पार्टीहरू दोहोर्याइ-तेहेर्याइकन गइरहेका छन्, त्यो सिन्डिकेट समाप्त पार्छौ।
टिममा हामीले ल्याएको अवधारणा ‘खुल्ला सिंहदरबार, खुल्ला संसद्’ हो, जुन ट्रान्सपरेन्ट हुनुपर्छ भन्ने हाम्रो जोडबल हो । त्यहाँभित्रका मनपरीतन्त्र र सिन्डिकेट रोक्नका लागि भरपुर प्रयास रहनेछ । नीतिगत भ्रष्टाचारको कुरा छ, हामीले नयाँ बनाउने मात्रै नभइ पुरानोलाई सुधार्ने अभियान चलाउनेछौँ । त्यस्तै लामो समयदेखि पुकार बमले गर्दै आएको शिक्षा, स्वास्थ्यसँग जोडिएको नीतिगत कुरामा जोड दिनेछौं ।
जनताको आधारभूत आवश्यकताभित्र पर्ने गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य सबैमा यीलगायत जत्ति पनि नीति-नियम बन्यो, यसलाई सुधार्ने कामसँगै अन्य कामहरू जस्तैः विदेशीको इशारामा बनेका नीति-नियमहरू छन्, जत्ति पनि नीतिगतरूपमा हुने भ्रष्टाचारहरू छन्, त्यसको उन्मूलन पनि हाम्रो प्राथमिकतामा पर्नेछ ।
त्यक्ति मात्रै होइन, हामीले यी विषयहरूको सूक्ष्म अध्ययन एवम् मूल्यांकन पनि गर्नेछौं । सदनभित्र अहिलेसम्म नयाँ हुने त छुट्टै भइहाल्यो, पुरानोमा भएका जत्ति पनि शिक्षा, स्वास्थ्य, रोजगारी, गाँस, बास, कपासका अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएका विषयहरू छन्; उनीहरूले सिंहदरबारमा आगो लगाइहाले भने त सकिहाल्यो, प्रमाणहरू नष्ट गरे भने त सकिहाल्यो नै, तर यदि प्रमाणहरू सुरक्षित रहेको खण्डमा बकैदा बाहिर ल्याउँछौं । हामी आफैँले ठेगान लगाउन नसके पनि त्यसलाई जनतासमक्ष भने ल्याउँछौं ।
अहिले शिक्षामा हेर्नुस् त; मास्टर्स गरिसकेको, ब्याचलर गरिसकेको, पीएचडी गरिसकेकाले पनि नेपालमा आफ्नो भविष्य देख्दैन । कारण के हो त ? खरबौँ लगानी भइसकेको छ, तर हामीले कस्तोखाले शिक्षा दिइरहेका छौँ ? हामीले त विदेशमा गएर गुलामी गर्ने युवाशक्ति उत्पादन गरिरहेका छौँ नि त ! अहिले हामीले हरेक दिन १७ हजार २ सय युवा बाहिर पठाउँदैछौँ । अहिले हामीले युवाहरू बेचिरहेका छौँ, यी नीतिगत कुराहरूमा गइरहेका छन् । यी नै विषयलाई सुधार गर्नु हाम्राे प्राथमिकतामा पर्छ ।
२५/३० वर्षयता जत्ति पनि नीतिहरू बनेका छन्, त्यसमा कतिपय त निकै नराम्रा पनि छन् । यी र यस्तै मुद्दाको चिरफार हामीले गर्नेछौँ । बाहिर सार्वजनिक पनि गर्छौ र पुराना पार्टीहरू कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेसवादी दलले भित्र खेलेको नकारात्मक भूमिका छन्, त्यसलाई हामीले भण्डाफोर गर्छौं । र, सबैभन्दा मुख्य कुरा भनेको हिजोको दिनमा चप्पल लगाएर आएको मान्छे, साइकल चढेर आएको मान्छेको आज काठमाडौंमा ४/५ वटा घर छ, गाडी छ । यस्ता कुरालाई पनि हामीले प्राथमिकतामा राख्छौँ, सम्पत्ति शुद्धीकरणको मुद्दालाई पनि हामीले प्रमुखताका साथ लिनेछौँ ।
Facebook Comment
Comment