चीनमा ससुराली देशबाट आयातित चाड दशैं

चिनियाँसँग बिहे गरेका नेपाली चेलीको दशैं अनुभव

चिनियाँसँग बिहे गरेका नेपाली चेलीहरूले दशैँसँगै तिहार, तीज र अन्य चाडपर्व पनि मनाउँछन्। नेपाली चाडपर्व आउँदा युट्युबमा गीत हेरेर रुने र नेपालमा भिडियो कल गरेर दुःख बिर्साउने कार्य त उनीहरूको नियति भइहाल्यो। यसबाहेक आफ्ना छोराछोरीलाई नेपाली संस्कृति सिकाउनका लागि नेपाली पोशाक लगाएर टीका लगाइदिने र आफूभन्दा ठूलालाई ढोग्दै आशीर्वचन लिने परम्परा पनि सिकाएका छन्।

चीनमा ससुराली देशबाट आयातित चाड दशैं

बेइजिङ। चिनियाँहरू दशैँ मान्दैनन्। तर केही चिनियाँका घरमा दशैँको रौनक देखिएको छ। ती चिनियाँका घरमा दशैँ प्रवेश गर्नुको मुख्य कारण उनीहरूका बुहारी र श्रीमती हुन्। नेपाली चेली बिहे गरेर भित्रिएका चिनियाँका घरमा नेपालमा जस्तै दशैँ मनाइएको छ।

चिनियाँसँग बिहे गरेका नेपाली चेलीहरूले हरेक वर्ष जस्तै यो वर्षको दशैँ पनि धूमधामसँग मनाएका छन्। यसपटक उनीहरूलाई दशैँ मनाउने समय पनि अनुकूल थियो। यतिबेला चीनमा राष्ट्रिय दिवसको साप्ताहिक सुनौलो बिदाको अवधि हो। अक्टोबर १ तारिख चीनको राष्ट्रिय दिवस हो। यस अवसरमा चीनमा एक साताको बिदा हुने गर्छ।

दशैँ पनि यही बेला परेपछि नेपाली चेलीले आफ्ना छोराछोरीलाई रमाएर टीका लगाई दिएका छन्। अरू बेला दशैँको समयमा चीनमा बिदा नपर्ने भएकाले कि त नवमीको साँझमा नेपाली चेलीले आफ्ना छोराछोरीलाई टीका लगाई दिन्थे कि दशमीको साँझमा। यदि टीकाको दिन शनिवार अथवा आइतवार परेको खण्डमा उनीहरू औधी खुशी हुन्थे।

यो पटक चीनमा पनि सार्वजनिक बिदा भएकाले बुधवार बिहान सपरिवार भेला भएर आफ्ना छोराछोरीलाई टीका लगाई दिएर विभिन्न नेपाली परिकार बनाएर खाएका छन्। घटस्थापनामा राखेको जमरासँगै टीका लगाएर आशीर्वाद दिँदै नेपालमा जस्तै चाड मनाएको उनीहरूले नेपाल भ्युजलाई बताएका छन्।

चिनियाँसँग बिहे गरेका नेपाली चेलीमध्ये रविना राई, माया मगर र सुमित्रा राईले बुधवार बिहान दशैँको टीका लगाएका हुन्। रविना र सुमित्रा सोलुखुम्बुका हुन् भने माया सिन्धुपाल्चोककी हुन्। सन् २००८ मा चीनको आन्हुई प्रान्तका चिनियाँसँग प्रेम विवाह गरेर आएकी सोलुखुम्बुकी रविना राईका १३ वर्षीया छोरी र ८ वर्षीय छोरा छन्।

सुमित्रा राई र उनका श्रीमानलाई टीका लगाइ दिँदै रबिना राई

रविनाले पहिले आफ्नो श्रीमान् र सासूससुरासँगै टीका लगाइन् र आफ्ना छोराछोरीलाई टीका लगाइ दिइन्। त्यसैगरी उनको घरमा आइपुगेका गाउँलेबिहनी सुमित्रा राईको परिवारलाई पनि टीका लगाइ दिइन्।

पाहुनासँगै घरपरिवार मिलेर दशैँ मनाउन पाउँदा खुशी लागेको रबिनाले बताइन्। उनीहरूले टीका लगाएको हेर्नका लागि छिमेकी चिनियाँहरू पनि भेला भएका थिए।

नेपालभ्युजसँग कुरा गर्दै रबिनाले भनिन् ’बिहे गरेर चीनमा आएको १४ बर्ष नाघिसक्यो। कहिलेकाहीँ नेपाल जाने गरे पनि कोरोना महामारीका कारण चार वर्षदेखि नेपाल जान नपाएको उनले गुनासो गरिन्। आफूले चिनियाँसँग बिहे गरे पनि आफ्ना छोराछोरीलाई नेपाली संस्कार र संस्कृति सिकाइरहेको उनले बताइन्।

आफ्ना छोराछोरीलाई टीका लगाएर दक्षिणा दिएपछि नमस्ते गर्दै रबिना राई

सिन्धुपाल्चोककी माया मगरले सन् २०११ मा चीनको चच्याङ प्रान्तको निङपो बसोबास गर्ने चिनियाँ युवासँग प्रेम विवाह गरेर चीन आइन्। उनका पनि एक छोरी र एक छोरा छन्।

कोरोना अगाडिका दशैँमा प्राय नेपाल पुग्ने माया चार वर्षदेखि नेपाल जान पाएकी छैनन्। कोरोना अगाडि उनी नेपाल जान नपाउँदा आमालाई चीनमै बोलाउने गर्थिन्। अनि दशैँमा आमाको हातको टीका लगाउने उनको चलन थियो।

कोरोनापछि भने उनले चिनियाँ परिवारसँग दशैँ मनाउन थालेकी छन्। नेपाल जस्तो रमाइलो नभए पनि टीका लगाउने र शुभकामना आदानप्रदान गर्ने गरेको उनले बताइन्।

उनले भनिन् ’यसपटकको दशैँ चीनमा पनि सार्वजनिक बिदा परेकाले राम्ररी टीका लगाउन पाइयो। नत्र त छोराछोरी बिहानै स्कुल गइहाल्छन्। एक्लै के दशैँ मनाउनू।’

रबिना राईको परिवार

सुमित्रा राईले चिनियाँसँग बिहे गरेर चीनमा आएको तीन वर्षभन्दा बढी भयो। सुमित्राकी दिदी सकुन्तला राई सन् २००८ मै चिनियाँसँग बिहे गरेर चीनको आन्हुई प्रान्तमा आएकी थिइन्।

यतिबेला सकुन्तला राई चाहिँ दशैँ मनाउन नेपाल गएकीले सुमित्रा राईले आफ्नी गाउँले दिदी रबिना राईको घरमा पुगेर दशैँ मनाएकी छन्।

आफ्नो दुई वर्षे छोरा र श्रीमानसहित रबिनाको घरमा टीका लगाउन गएको सुमित्राले बताइन्। रमाइलो मान्दै सुमित्राले भनिन् ’गाउँमा भए पेरुङ्गामा सुँगुरको साप्रो र रक्सीका बोतल लिएर टीका लगाउन माइती गइन्थ्यो होला। यहाँ चिनियाँ परिवारमा बियर कोसेली लिएर आइयो।’

रबिना दिदी र चिनियाँ भेनाबाट निधारभरि टीका लगाएर आशीर्वाद लिँदा आफूले नेपालमा माइतीघर नै पुगेको अनुभव गरेको सुमित्राले सुनाइन्।

रबिना राईका श्रीमान् छोराछोरीलाई टीका लगाइदिँदै

त्यसो त चिनियाँसँग बिहे गरेका नेपाली चेलीहरूले दशैँसँगै तिहार, तीज र अन्य चाडपर्व पनि मनाउँछन्। नेपाली चाडपर्व आउँदा युट्युबमा गीत हेरेर रुने र नेपालमा भिडियो कल गरेर दुःख बिर्साउने कार्य त उनीहरूको नियति भइहाल्यो। यसबाहेक आफ्ना छोराछोरीलाई नेपाली संस्कृति सिकाउनका लागि नेपाली पोशाक लगाएर टीका लगाइदिने र आफूभन्दा ठूलालाई ढोग्दै आशीर्वचन लिने परम्परा पनि सिकाएका छन्।

टीका लगाउने तयारीमा माया मगर

रबिना, माया र सुमित्रा जस्ता सयौँ नेपाली चेलीहरू चीनमा बिहे गरेर बसेका छन्।

कोही खुलेर नेपाली चाड मनाउँछन् भने कोही नेपाली चाडबाड सम्झिएर भिजेका आँखामा टिस्युपेपर रड्छन्।

एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा स्थानीय चिनियाँ कोही पनि हिन्दू धर्म मान्दैनन्।

३५ देखि ४० प्रतिशत चिनियाँहरू बुद्ध चाडबाड सम्झिएर भिजेका आँखामा टिस्युपेपर रड्छन्। धर्म मान्छन् भने केही क्रिश्चियन धर्म मान्छन्।

चीनको पश्चिमी भागमा पर्ने कान्सु र सिङचियाङ प्रान्तमा भने अधिकांश इस्लाम धर्म मान्ने गर्छन्।

स्थानीय चिनियाँले दशैँ नमनाए पनि नेपालीसँग बिहे गरेकाले उनीहरु दशैँका बारेमा भने परिचित छन्।

ससुरालीबाट आयातित चाड दशैँमा चिनियाँहरू पनि रमाउँदै आएका छन्।

 

 

 

 

माया मगरका छोराछोरीको बीचमा एक चिनियाँ बालिका

रबिना र सुमित्राका छोराछोरी

 

सुमित्रा राईको परिवार

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved