सिट बाँडफाँट टुंग्याउन गठबन्धन दलका शीर्ष नेताहरू निर्णायक छलफलमा

नेपालभ्युज

सिट बाँडफाँट टुंग्याउन गठबन्धन दलका शीर्ष नेताहरू निर्णायक छलफलमा
फाइल तश्वीर

काठमाडौं। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका दलहरूका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ।

दिउँसो ३ बजे सुरु भएको बैठकमा पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रुप दिन नेताहरू छलफलमा जुटेका हुन्।

प्रतिनिधिसभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेशसभातर्फको पनि अन्तिम रुप पाउने कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए।

सिट बाँडफाँटका बारेमा प्रतिनिधिसभातर्फको थोरै मात्र सहमति गर्न बाँकी रहेको उनले बताए। आजको शीर्ष नेतृत्वले प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँट सक्ने गरी कार्यदलले काम सकेर बुझाएको जनाइएको छ।

यस सम्बन्धमा छलफल गर्न सोमबार पनि रातिसम्म पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतृत्वको बैठक बसेको थियो। बैठकलाई निष्कर्षमा पुर्‍याउन आज बिहान दलहरूका आन्तरिक र द्विपक्षीय वार्ता पनि भएको जनाइएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन उम्मेद्वारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ।

त्यसअघि नै गठबन्धनका दलबीच सिट बाँडफाँट गरी दलले आ-आफ्नो दलका तर्फबाट उम्मेद्वारको अन्तिम सूची बनाउनुपर्ने हुन्छ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको जनाइएको छ।

यो पनि पढ्नुहोस्

सत्ता गठबन्धनको आजको बैठक होला त निर्णायक?

सत्ता गठबन्धनमा सिट बाँडफाँट सकस : कहाँ छ दोहोरो तेहरो दाबी?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved