छोरीका लागि ठाउँ खाली गर्न चुनाव नलड्ने निर्णय गरेको होइन : भट्टराई

नेपाल भ्युज

छोरीका लागि ठाउँ खाली गर्न चुनाव नलड्ने निर्णय गरेको होइन : भट्टराई

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन्।

अघिल्लो प्रतिनिधिसभामा गोरखा-२ बाट निर्वाचित पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन्।

सोमबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले आफू संसदीय राजनीतिबाट टाढा बस्ने बताए। उनले राजनीति जनता र समाजको सेवाको निम्ति गरिने स्वेच्छिक कर्म भएको उल्लेख गर्दै संसद् बाहिरबाट पनि जनताको सेवा गर्न सकिने बताए।

‘राजनीति भनेको चुनाव मात्रै हो, सत्ता मात्रै हो भन्ने जुन पर्न गयो, खासगरी ढिलो लोकतान्त्रीकरण भएको नेपालमा यो अत्यन्त विडम्बनापूर्ण कुरा छ। राजनीति भनेको समाज रूपान्तरणको निम्ति गरिने, जनताको र समाजको सेवाको निम्ति गरिने स्वेच्छिक कर्म हो,’ उनले भने।

नेताहरू जसरी पनि संसद्मा पुग्ने र पाएसम्म कार्यकारी पद लिने प्रवृतिले देशमा ठूलो विकृति र विसंगति ल्याएको उनको भनाइ छ।
‘हामीकहाँ जसरी पनि संसदमा पुग्ने र जसरी हुन्छ, पाएसम्म मन्त्री र कार्यकारी हुने भन्ने जुन प्रवृत्ति आयो। यसले देशमा ठूलो विकृति, विसंगति ल्यायो। लोकतन्त्रलाई आघात गर्‍यो भनेर नै मैले अलि पहिलेदेखि नै हामीले यसमा सुधार गर्नुपर्छ,’ उनलेभने।

उनले सदन बाहिरबाट गरिने कर्मपनि राजनीति भएकाले आफूले उपयुक्त समय आएकाले संसदीय राजनीति नगर्ने निर्णय लिएको बताए।

‘हामी पटक–पटक लामो समयदेखि सांसद भएका, कार्यकारी भूमिकामा रहिराखेका मान्छेहरूले त्यो मात्रै राजनीति हो भन्नु हुँदैन। हामीले सदन बाहिरबाट, सरकार बाहिरबाट गर्ने जुन कर्म हो। त्यो पनि राजनीति हो भन्नुपर्छ भन्दै आएको थिएँ। त्यही क्रममा नै मैले अलि पहिलेदेखि सोच्दै आएको थिएँ। अब यो उपयुक्त बेला हो। मैले नै पहल गर्नुपर्छ भनेर मैले गरेको हुँ,’ उनले भने।

भट्टराईले आफू पार्टी काममा भने निरन्तर रहने बताए। आफू समाजवादी धार बनाउन क्रियाशील हुने पनि उनले बताए। ‘बाबुराम भट्टराईलाई तपाईंले जनताको बिचमै देख्नुहुन्छ। म त्यसमै क्रियाशील भइराखेको हुन्छु। हामीले एउटा नयाँ वैकल्पिक राजनीतिक धार, समाजवादी धार निर्माण गर्ने हाम्रो प्रयत्न पनि जारी छ। नेपालको पीछडिएको अर्थ सामाजिक संरचना, भूराजनीति यो सबैलाई सम्बोधन गर्नको निम्ति हामीले समावेशी सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवादी धार उपयुक्त हुन्छ भन्ने कुरामा हामी सोचले लागेका छौँ। म पार्टीमा सक्रिय हुन्छु,’ उनले भने।

उनले राज्यका अंगहरूमा भइरहेको भ्रष्टीकरण, शासकीय स्वरूपमा परिवर्तन र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने सवालमा आफू संसद्बाहिरको सबै ठाउँबाट क्रियाशील हुने बताए। उनले गरिबी र बेरोजगारीको समस्या समाधानमा सुधार गर्न पनि आफूले आवाज उठाउने बताए।

‘हामीले नेपालमा लोकतन्त्रको अपूर्णता, शासकीय स्वरूप चलाएका छौँ। मिश्रित प्रकारको संसदीय व्यवस्था जस्तो। त्यसले राजनीतिक स्थिरता दिँदैन। त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् चाहिन्छ भन्ने कुरा मैले सुरुदेखि भनेको थिएँ। त्यो विषयमा मैले आवाज उठाउँछु,’ उनले भने।

भट्टराईले आफूले संसदीय निर्वाचनमा उमेदवार नहुन गरेको निर्णय कुनै पदलाई बार्गेनिङ गर्नका लागि नभएको स्पष्ट पारे। आफूले कुनै च्याखे नथापेको उनको भनाइ छ।

‘छिटो भन्दा छिटो कसरी यो देशलाई मध्यमस्तरसम्म पुर्‍याउने त भन्ने मेरो परिकल्पना हो। त्यसो भएको हुनाले म सक्रिय ढंगले लाग्छु। कुनै पदलाई बार्गेनिङ गर्नका लागि यो च्याखे थापेको भन्ने कसैले बुझ्छ भने अत्यन्त पीछडिएको चेतना हो। त्यसबारे मेरो भन्नु केही पनि छैन,’ उनले भने।

उनले आफूले छोरी मानुषी यमी भट्टराईका लागि ठाउँ खाली गर्नका लागि चुनाव नलड्ने निर्णय नगरेको पनि स्पष्ट पारे। छोरी काठमाडौंबाट निर्वाचनमा उठ्ने उनले बताए। छोरी आफैँ स्थापित रहेको भन्दै आफ्नो नामबाट छोरीलाई चिनाउनु जरुरी नभएको उनले बताए।

‘नयाँ त भनिराखेको छ मान्छेले विचारसहितको नयाँ पुस्ता आइराखेको छैन। त्यसैले विचार सहितको नयाँ पुस्ता आओस् भन्ने त मेरो चाहाना छ। त्यो भनेको मेरो छोरी भन्ने मात्रै अर्थ लाग्दैन। हाम्री छोरी पनि जतिबेला उनी सचेत भइन् आफ्नै स्वेच्छाले आन्दोलनमा उनी लागिन्। उनी ३७ वर्ष भइन्। करिब २२ वर्ष त उनको आफ्नै राजनीतिक जीवन भइसकेको छ। र। उनी आफैँ स्थापित छन्। हाम्रो छोरीको रूपमा उनलाई चिनाउनु पनि जरुरी छैन,’ उनले भने।

पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो पार्टी सत्तारूढ गठबन्धनमै रहेको पनि बताए। निर्वाचनसम्म गठबन्धन कायम रहनुपर्ने उनले बताए।‘म गठबन्धनकै अंग छु अहिले। त्यो राम्रो होस्। सफल होस्। कमसेकम प्रतिगमनतिर देश नजाओस्। संविधानबाट प्राप्त उपलब्धि छन् त्यो नगुमून् भन्नेमा म छु। मेरो शुभकामना यो गठबन्धन कायम रहनुपर्छ। यसले चुनावमा विजय हासिल गरोस् भन्ने मेरो शुभकामना,’ उनले भने।

उनले समकक्षी नेताहरूलाई लोभ, लालच नगरिकन नयाँ पुस्तालाई अगाडि ल्याउन आग्रह गरे। उनले राष्ट्रिय मुद्दाहरूमा दलहरूका बिचमा एकरूपता कायम गर्नुपर्ने बताए। उनले दलहरूको विकल्प स्वतन्त्र हुन नसक्ने भन्दै दलका कमजोरी दलबाटै हटाउनुपर्ने र नेताको कमजोरी राम्रो नेताले हटाउनुपर्ने बताए।

‘राष्ट्रिय रूपमा मुद्दाहरूमा एकरूपता कायम गर्ने, बहुदलीय प्रतिष्पर्धा नै हुनुपर्छ। त्यसको विकल्प छैन। कतिपयले अहिले स्वतन्त्र भन्ने लहर आइराखेको छ। स्वतन्त्र भन्ने कुरा हुँदैन दुनियाँमा। आखिर दल नै हो। दलका कमजोरी दलबाटै हटाउनुपर्छ। नेताका कमजोरी राम्रो नेताले हटाउनुपर्छ। दलको विकल्प व्यक्ति हुन सक्दैन। त्यस अर्थमा पनि म यो अभियानमा लागिराख्छु। नो भोटको व्यवस्था पनि हुनुपर्छ। राम्रो दल र राम्रो नेता आउनुपर्‍यो। दलको विकल्प व्यक्ति भनेर जाँदाखेरि त्यसले अराजकता मात्रै ल्याउँछ,’ उनले भने।

उनले पटक–पटक सांसद बन्ने अपेक्षा नराख्न भन्दै पूर्वप्रधानमन्त्रीहरूले निर्वाचनमा नउठी पार्टीभित्रको राजनीतिक कामहरु गर्न आग्रह गरे।

उनले भने, ‘हामी पूर्वप्रधानमन्त्री भइसकेका मानिसहरुले आफ्नै पार्टीभित्र राजनीतिक कामहरु गर्ने नि। अरु साथीहरुलाई संसदीय दलको नेताहरुमा अगाडि सार्ने त्यो पनि गर्न सकिन्छ। दलहरु बिग्रनुको पछाडि खासगरी कम्युनिष्ट, समाजवादी पार्टीहरूमा सत्ताभन्दा जनपरिचालन र पार्टीको काम प्रमुख हो भन्ने हुन्छ। तर हामी सबै सत्तामा जाँदा बिग्रियो।’ भट्टराईले पुरानै शासकीय प्रणाली सही थियो भन्ने भ्रममा युवा पुस्ता पर्नु नहुने बताए।

यो पनि पढ्नुहोस्

बाबुरामले गोरखा-२ छाड्ने, आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संसदीय चुनाव नलड्ने बाबुराम भट्टराईको संकेत


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved