आगामी निर्वाचनमा उम्मेदवार नबन्ने बाबुरामको घोषणा

नेपालभ्युज

आगामी निर्वाचनमा उम्मेदवार नबन्ने बाबुरामको घोषणा

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फ आसन्न निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।

०६४, ७० र ७४ मा गोरखा २ बाट विजयी गराएकोमा गोरखालीप्रति आभार व्यक्त गर्दै भट्टराईले आगामी निर्वाचनमा चुनावी प्रतिस्पर्धामा नउत्रिने स्पस्ट पारेका हुन्।

आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका र केही सुरूभएका आयोजना पूरा हुन बॉकी रहेका उनले बताए।

बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहने भट्टराईको प्रतिबद्धता छ।

२०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउने–जाने र जनताको घरदैलोमा पुग्ने काम गरिराख्दा धेरै सिक्ने अवसर पाएको उनले लेखेका छन्। आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहने उनको भनाइ छ।

यस्तो छ भट्टराईको स्टाटस

प्रिय गोरखा,
२०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार ब्यक्त गर्दछु।
आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाॅहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।
मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बाॅकी छन्। बॅकीरहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु।
२०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउनेजाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखें र तपाईंहरूबाट धेरै सिक्ने अवसर पएॅ। आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु।
चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।
म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहॅा साथमा हुनेछु।
आसन्न वडादशै,तिहार,नेपाल सम्वत् नयाॅ वर्ष लगायतका सबै पर्वहरूमा हार्दिक शुभकामना!


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved