दशैँमा कस्तो मासु कति खाने ? यस्तो छ विज्ञको सुझाव

एउटा सन्तुलित भोजनमा आवश्यक अनुपातमा १० देखि १५ प्रतिशत प्रोटिन, ६० देखि ८० प्रतिशत कार्बोहाइडेट, तथा १० देखि ३० प्रतिशत फ्याट समावेश हुन्छ । शरीरलाई स्वस्थ राख्न पानीले पनि महत्वपूर्ण भूमिका खेल्छ ।

नेपाल भ्युज

दशैँमा कस्तो मासु कति खाने ? यस्तो छ विज्ञको सुझाव

काठमाडौं । दशैँ पर्व अरु समयभन्दा बढी माछा मासु र चिल्लो खाना बढी खाइन्छ । त्यसो त अपवादबाहेक नेपाली समाजमा माछा मासुबिना चाडपर्वको कल्पनासम्म गर्न सकिँदैन ।

अन्य आर्थिक अवस्था कमजोर भएकाहरूले समेत ऋणधन गरेर मासु खाने चलन छ । कवाफ, सेकुवा, भुटन, सुकुटीजस्ता परिकारका अगाडि काउली, मुला, सागजस्ता तरकारीको कुनै गन्ती गरिँदैन ।

आवश्यकताभन्दा बढी मासु सेवन गर्दा हुने असरबारे कोहीले ख्याल गरेको पाइदैन । विज्ञले भने चाडपर्वमा पनि आफ्नो खानपानमा ध्यान दिन सुझाव दिइरहेका छन् ।

केको मासु खान उत्तम हुन्छ ?

नेपालमा फरक-फरक जात भएकाले मासुको रोजाइ पनि फरक-फरक छ । कसैले खसी खानुहुन्छ, कसैले कुखुरा, राँगो भने कतिपयको बंगुर र बँदेल खाने चलन छ । आफ्नो संस्कृति परम्पराअनुसार रोजाइ फरक-फरक छ र अधिकांशले भने दशैँमा खसीबोका खाने गर्नुहुन्छ ।

खसीको मासु स्वादिलो हुन्छ भन्ने मान्यता पनि छ । पछिल्लो समय च्याङ्ग्रा खानेहरू पनि धेरै हुनुहुन्छ । दशै‌ंमा आफूलाई जुन स्वाद मनपर्छ सोहीअनुसारको खाँदा खासै फरक पर्दैन ।

तर, बोका राँगा र बँदेलको मासु रातो मासुको वर्गमा पर्छ । रातो मासु स्वास्थ्यका लागि भने त्यति उपयुक्त मानिँदैन । त्यसैले, सकेसम्म आफूलाई हानी नहुनेगरी खाँदा उत्तम हुन्छ ।

कति मासु खाने ?

खानामा दैनिक रूपमा मासु समावेश गर्दा यसले बढी फाइदा दिन सक्छ। तर एकै पटक धेरै खायो भने समस्या पनि निम्तन सक्छ । सामान्यतया हाम्रो जस्तो अविकसित देशका नागरिकले एक किलो तौल अनुसार एक ग्राम मासुु खान उपयुक्त हुन्छ । भन्न खोजेको के भने एउटा व्यक्ति ६० किलोको छ भने उसलाई ६० ग्राम प्रोटिन खान फाइदाजनक छ ।

एक सय ग्राम खसीको मासुमा लगभग २० देखि २३ ग्राम प्रोटिन हुन्छ । यसलाई आधार मान्ने हो भने एउटा स्वास्थ्य व्यक्तिले एक पाउ, देखि डेढ पाउसम्म मासु खाँदा समस्या नहोला । यदि, दैनिकरूपमा मासु खाने व्यक्तिले अझै कम खानुपर्छ जस्तो कि अरुले सय ग्राम खान्छन् भने ८० ग्राम खानुपर्छ ।

स्वस्थकर मासु कसरी चिन्ने ?

स्वस्थकर मासु हुन पशु नै स्वस्थ हुन जरुरी छ, तर स्वस्थ पहु भइकन पनि वध गरिसकेपछि ध्यान नदिँदा मासु बिग्रन सक्छ, त्यसैले मासु खरिद गर्दा विशेष ध्यान दिनुपर्छ ।

जस्तै, वधस्थल सफा छ कि छैन, मासु चिस्यानका लागि व्यवस्था छ कि छैन भन्ने कुरा बुझ्नुपर्छ । मासु काट्न उच्च गुणस्तरका खुकुरी, अचानोलगायत सामग्री प्रयोग गर्ने र उपभोक्ताप्रति जिम्मेवार बिक्रेताबाट मासु खरिद गर्दा स्वच्छ मासु पाइने सम्भावना बढी रहन्छ।

यस्तै, सकेसम्म मासु पसलबाटै मासु खरिद गर्नुपर्छ ।

मासु खाँदा के कुरामा ध्यान दिने ?

सकेसम्म ताजा मासु खानुपर्छ । नेपालीहरूले प्राय: कवाफ बनाएर खाने चलन छ अझ भनौं आज पकाएको मासु तताउँदै खाने गरेको देखिन्छ । बढी तताउँदा स्वाद त पक्कै मिठो बन्छ तर त्यसले स्वास्थ्यमा हानी पुर्‍याउँछ ।

सकेसम्म थोरै तेल र कम मसलाको प्रयोग गरेर मासु पकाएको मासु खाँदा राम्रो हुन्छ। फ्राई गरेर खाँदा तेल धेरै हुन्छ। त्यसलाई केही बेर तारेर खानुपर्छ । त्यस्तै, सुकुटीलाई भुटेर खाँदा वा तेलमा तारेर खाँदा पनि ख्याल गर्नुपर्छ। एउटै तेलमा पटक-पटक फ्राई गर्न हुन्न।

सकेसम्म मासुलाई भुटेर भन्दा उसनेर खाँदा राम्रो घर ल्याइसकेको मासुमा पनि बोसो भए हटाएर खानुपर्छ ।

दशैँमा खानाको सन्तुलन कसरी बनाउने ?

हामीले दशैंमा मासु मात्र खाएर त भएन । हामीले खाने खाना सन्तुलित हुन जरुरी छ । सन्तुलित भोजनको सेवनले शरीरलाई स्वस्थ तथा र स्फूर्त राख्न मद्दत गर्छ ।

यसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउनुका साथै विभिन्न रोगहरुबाट शरीरलाई सुरक्षा प्रदान गर्छ । त्यतिमात्र हैन,यसले शरीरको वृद्धिविकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ । ,

थरीथरीको खानेकुरा मिश्रण गर्दैमा त्यो सन्तुलित हुन्छ भन्ने हुँदैन । सन्तुलित खानामा तरल पदार्थ, माइक्रोन्युट्रियन्टस्, क्यालोरी लगायतको पौष्टिक पदार्थ पर्याप्त मात्रा हुन्छ, जसको सेवनले समग्र स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्छ ।

सन्तुलित आहारले एनिमिया, मोटोपना, उच्च रक्तचाप, हृदय रोग, मधुमेह , स्ट्रोक, अस्टियोपोरोसिस, क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ । यो दशैंमा मात्र होइन कि दैनिक जसो हाम्रो आहारलाई सन्तुलित बनाउनुपर्छ ।

दशैंमा पनि मासुसँगै सागपात, दही मोही, फलफूल प्रशस्त खानुपर्छ । मासु खाँदा पनि एकैपटक धेरै खानुभन्दा थोरै थोरै खान सकिन्छ। एकैपटक धेरै मासु तथा मासुजन्य परिकार खाँदा पेटमा समस्या हुन्छ।

आहार सन्तुलित बनाउन के गर्ने  ?

एउटा सन्तुलित भोजनमा आवश्यक अनुपातमा १० देखि १५ प्रतिशत प्रोटिन, ६० देखि ८० प्रतिशत कार्बोहाइडेट, तथा १० देखि ३० प्रतिशत फ्याट समावेश हुन्छ ।

शरीरलाई स्वस्थ राख्न पानीले पनि महत्वपूर्ण भूमिका खेल्छ । सामान्यतया, एक स्वस्थ वयष्कलाई दिनमा कम्तीमा आठ देखि दश गिलास पानी सेवन गर्न सुझाव दिइने गरिन्छ ।

प्रत्येक दिन सबै किसिमका खाद्य पर्दाथको चयन गरेर त्यसमा पनि निश्चित प्रकारकै खाद्य पदार्थलाई खानामा समावेश गरेर शरीरलाई पोषण प्रदान गर्न सकिन्छ ।

पोषणविद् उमा कोइरालासँग नेपालभ्युजकर्मी प्रकाश बस्यालले गरेको कुराकानीमा आधारित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved