प्रिय कथा

बुढो रुखको प्रेम विज्ञप्ति

‘यसर्थ प्रेम हत्यारा हो। खुसीको हत्यारा, सपनाहरूको हत्यारा। आशा र अपेक्षाहरूको हत्यारा। कहिलेकाहीँ त लाग्छ, स्पर्श अनुभव हुने यो छातीको बीचबाट चिरेर त्यो अनुभूतिको डल्लो बाहिर मिल्काइदिऊँ। एकपटक पखालेर मुटु फेरि सिलाइदिऊँ ! तर कसरी चिर्न सक्थेँ म आफ्नै छाती ? आफ्नै छाती चिर्ने हतियार बनाउनै कसले सक्यो र ?

बुढो रुखको प्रेम विज्ञप्ति

(रचनागर्भ– यो कथा सात वर्ष अगाडि लेखिएको बिल्कुल काल्पनिक कथा हो। एउटा कार्यक्रममा आदरणीय प्रदीप गिरिको प्रवचन सुनेपछि म निकै प्रभावित भएकी थिएँ। त्यसपछि उहाँको विद्वताले मलाई निकै मोहित बनाएको थियो। त्यसपछि मैले उहाँलाई धेरै सुनेपछि मैले दुई वटा कथा लेखेकी छु। त्यसमध्ये एउटा यो हो। साँच्चै भन्ने हो भने मलाई उहाँको बौद्धिकतासँग प्रेम भएको थियो। त्यही आधारमा मैले यो कथा लेखेकी हुँ। तर यो जीवनकालमा मैले उहाँलाई व्यक्तिगत रुपमा भेट्न कुनै दिन गइनँ। र, अहिले उहाँको भौतिक अस्तित्व पनि हामीमाझ छैन। यो रचनागर्भ भनिरहँदा म उहाँलाई हार्दिक श्रद्धाञ्जली पनि भन्न चाहन्छु।)
००
‘तपाईँसँग प्रेम सहन गर्ने मुटु छैन भने तपाईँले प्रेम गर्ने धृष्टता नगर्नु होला। किनकि मेरो दृष्टिमा प्रेम एउटा बन्दीगृह हो। यसले तपाईँको भावनालाई सदाका लागि कैद गरिदिन सक्छ। नितान्त रित्तो बनाइदिन सक्छ। यसबाट छुटकारा पाउन तपाईँको मुटुको रक्तसञ्चार रोकिनुपर्ने हुन्छ। तर एक्लो र रित्तो अनुभूति दिने यो मायावी खेल तपाईँ आफ्नो जीवनकालमा निश्चित रुपमा खेल्नु हुनेछ।’ बुढो रुख बोलिरहेको छ। म दत्तचित्त उनको बोलीमा हराउँदै गइरहेकी छु।

उनका आँखामा जालो लागिसकेका छन्। अनुहारका रेखाहरू प्रस्टै देखिएका छन्। बोल्दा पनि स्वाँ स्वाँ हुने गर्छ।
–आजकल मेरो घाँटीमा समस्या आएको छ। बीच बीचमा उनी भनिरहन्छन् र फेरि बोलिरहन्छन्। कति मीठो वाणी, कति सुन्दर अभिव्यक्तिहरू। म उनका शब्द शब्दमा हराउँदै जान्छु। लाग्छ जीवनको तत्वज्ञान सबै उनीसँग छ।

यति बेला रातको दस बजेको छ। हामी एउटा घरको पाँचौँ तला माथि छौँ। पाँचौँ तलाबाट हेर्दा रात्रिकालीन काठमाडौँ केही फरक देखिएको छ। फरक यस अर्थमा कि हरेक घरमा बल्ने बत्तीहरूको लय विश्रृंखलित छन्। ‘लय मिलेका भए काठमाडौँ अझै सुन्दर देखिन्थ्यो होला।’ शहरतिर हेरेर उनी भन्छन्।

म बुढो रुख नजिकै बसिरहेकी छु। उनलाई बुढो रुख म यस अर्थमा भनिरहेकी छु कि उनको नजिक बस्दा मलाई शीतल अनुभव हुने गर्छ। आफूले नदेखेको जीवनको कैयौँ खण्डलाई मैले उनको आँखामा देख्न सक्छु। उनको वाणीमा सुन्न सक्छु। मतलब सुनिरहेकी छु। उनको चाउरिँदै गएको अनुहारमा यति बेला शान्ति छैन। लाग्छ केही भन्न उकुसमुकुस भइरहेका छन्।

– यो घरको रुफटप गार्डेन मेरो होइन, यो मेरी प्रेमिकाको हो। तर उनले मलाई छोडेर गइन्। उनले भने। उनको वाणीले प्रभावित भएर एकदिन म उनलाई भेट्न गएकी थिएँ। त्यसपछि कहिलेकाहीँ उनले मलाई त्यहाँ आमन्त्रण गर्थे। उनको दाबी थियो कि अहिले उनले मलाई प्रेम गरिरहेका छन्। अर्थात् जीवनको उत्तरार्द्धमा उनलाई सुन्न मन पराउने प्रिय स्रोता भएकी छु म।

रेलिङहरूमा झुन्डिएका ल्याम्पहरू बलिरहेका थिए। तल सडक सुनसान हुँदै थियो। रुफटप गार्डेनको पाँचौँ तलामाथि एउटा सोफामा बसेर बुढो रुखले तातो पानी पिइरहेका छन्। मेरो गिलासमा भने उनी सधैँ ह्वीस्की खन्याउँछन् र भन्छन्– ‘जे गर्नु छ उमेरमै गर्नुस्, उमेर सकिएपछि सबै कुरा सकिन्छन्। प्रेम, सेक्स या फेरि डिङ्क्स यसलाई झेल्ने भनेकै उमेरले हो। उमेर सकिएपछि त प्रेमको नाममा अध्यात्म बाँकी रहन्छ। यी अब मलाई सुरा र सुन्दरीको आवश्यकता छैन। हरेक कुराको समय हुँदो रहेछ। समय सकिएपछि तपाईँ मेरो अगाडि नाङ्गै नाचे पनि म हेरिदिन मात्र सक्छु। कुनै बेला हेर्न पनि मन नलाग्ने हुन सक्छ। यसै पनि तपाईँ मलाई बुढो रुख भन्नुहुन्छ। तर प्रेमको एउटा अलौकिक रूप पनि छ त्यो अध्यात्म हो। अन्ततः आध्यात्मिक प्रेमले नै मानिसलाई पशुयोनीबाट मुक्त गरिदिन्छ।’

उनले यसो भनिरहँदा म अलिकति मुस्कुराउँछु र भन्छु– ‘यो थाहा पाउन पनि त उमेरको लामो उकालो उक्लिनु पर्ने रहेछ।’ ‘बुढो रुखमा फल लाग्दैन। तर तपाईँको एउटा मुस्कान एकछिन यहाँ सुस्ताएर जान सक्छ। त्यतिबेला तपाईँले मबाट केही शीतलता महसुस गरेँ भनेको सुन्दा पनि ठूलो शान्ति प्राप्त हुँदो रहेछ।’ मेरो कुरालाई ध्यान नदिएरै उनी बोलिरहन्छन्।

यति बेला पचहत्तर टेक्दै गरेको बुढो रुखसँग मेरो गहिरो मित्रता छ। जसलाई उनी प्रेम भन्छ। म त्यसमा प्रेमभन्दा बढी उनैले व्याख्या गरेको अध्यात्म देख्छु। थाहा छैन, के कुराले हामीलाई जोडी राखेको छ। उनी अक्सर समाज, दर्शन र आफ्नो पुराना अनुभवहरू सुनाउँछ। धेरै रुचिकर हुन्छन्, कहिलेकाहीँ झर्को पनि लाग्छ। फेरि पनि उनी सुनाइरहन्छ, म सुनिरहन्छु।

उनको यस्तो कुरा सुनेर म झस्किन्छु। किनकि भोलि मेरो हविगत योभन्दा नालायक हुन सक्छ। र, मसँग मित्रता गर्न कुनै ‘योङ व्वाय’ उपस्थित नहुन सक्छन्। त्यसकारण पनि मलाई तातो पानी पिउनु छैन। म ह्वीस्की थप्छु। किन किन एउटा सभामा उनको प्रवचन सुनेपछि मलाई उनीसँग बसेर सँगै रक्सी पिउने रहर जागेको थियो। उनको चेतना उचाइ र जीवन दर्शनको विद्वत्ताले मलाई कायल पारेको थियो। जीवनको तत्त्व ज्ञानलाई वाणीमा बोकेर हिँड्न सक्ने मानिस मलाई महापुरुष जस्तै लाग्छन्। थाहै नपाई मेरो उनीहरूसँग प्रेम भएको थियो।

यति बेला पचहत्तर टेक्दै गरेको बुढो रुखसँग मेरो गहिरो मित्रता छ। जसलाई उनी प्रेम भन्छ। म त्यसमा प्रेमभन्दा बढी उनैले व्याख्या गरेको अध्यात्म देख्छु। थाहा छैन, के कुराले हामीलाई जोडी राखेको छ। उनी अक्सर समाज, दर्शन र आफ्नो पुराना अनुभवहरू सुनाउँछ। धेरै रुचिकर हुन्छन्, कहिलेकाहीँ झर्को पनि लाग्छ। फेरि पनि उनी सुनाइरहन्छ, म सुनिरहन्छु।

यसरी आफ्नो मनको कुरा सुनाउँदा हुनसक्छ उसको अन्तर कुन्तरमा बाँकी रहेका जीवनका प्यास मेटिन्छन्। या, उमेरका केही तिर्सनाहरू ब्युँझिन्छन् र उसलाई सान्त्वना दिएर जान्छन्। ‘मेरो कमजोरी भनूँ या भावुकता ? मलाई तत्त्व ज्ञान असाध्यै मन पर्छ। र उनीसँग तत्वज्ञानको ठूलो भण्डार छ। जीवनलाई जटिल बनाउने कि सहज त्यो आफ्नै हातमा हुन्छ।’ उनी भन्छन्। ‘आफ्नो हातमा केही हुँदैन’ म भन्ने गर्छु।

बुढो रुखसँगको मेरो सम्बन्ध विल्कुल फरक छ। उनले मसँग अन्तरङ्ग कुराकानी गर्छन्। उनको सेक्स जीवन, प्रेम र अत्यन्त निजी कुराको संवादमा सहभागी हुन्छु। उनी मलाई मन परेको प्रेम कविता पढेर सुनाउन भन्छन्। दोहोर्‍याएर तेहोर्‍याएर मैले मेरा प्रेम कविताहरू उनलाई सुनाउँछु। सुन्दासुन्दै उनी निन्द्रादेवीको काखमा पुग्छन्। जब उनी निदाउँछन् म एक खालको आत्मसन्तुष्टि प्राप्त गर्छु।

उनीसँग विचित्रका प्रेम कथाहरू छन्। अविवाहित प्रेम कथा, विवाह गर्न चाहेर हुन नसकेका प्रेम कथा, सामाजिक जीवनले उत्पन्न गरेका प्रेम कथा जुन मात्र पहिलो पटक सुनिएका हुँदैनन्। केही प्रसङ्गहरू दोहोर्‍याएर सुनिसकिएका हुन्छन्। र, केही नसुनेका प्लटहरू पनि आइपुग्छन्।
‘तपाईँलाई थाहा छ? केही वर्ष अगाडि नै मैले उसलाई छोड्ने निर्णय गरिसकेको थिएँ। उसलाई के भन्ने, ऊसँग जोडिएको सम्वेदनशीलतालाई तोड्ने निर्णय गरेको थिएँ। तर कसरी तोड्ने ? के हो छोड्ने भनेको ? आखिर मैले उसलाई समातेर राखेको पनि त होइन। ऊसँगका केही अनुभूति मात्रै थिए मसँग। फेरि किन यति धेरै दुखी हुन्छ मन ? किन यति बिघ्न अप्ठेरो अनुभूति हुन्छ हृदयलाई ? के मैले उसलाई आफ्नो ठान्नु नै गलत थियो र ?’ उनले एकाएक प्रश्न गर्छन्।

‘अब यो उमेरमा के को अप्ठेरो ? कसलाई छोडेको कुरा गर्दै हुनुहुन्छ तपाई ?’ म प्रतिप्रश्न गर्छु। ‘सम्वेदना छोडेर छोडिने चिज होइन रहेछ योङ लेडी !’ उनी मेरो प्रश्नको जवाफ दिँदैनन्। आफ्नै सुरमा बोलिरहन्छन्। ‘न सजिलै जोड्न चाहेर जोडिने वस्तु हो। जोडिने त सम्बन्ध रहेछ र तोडिने पनि सम्बन्ध नै रहेछ। ऊसँग मेरो शारीरिक संसर्ग तोडिएको जुग भइसक्यो। तर बाँकी रहेका छन् प्रेमका लेसहरू। प्रेम पनि के भन्ने त्यसलाई पीडा भन्न सकिन्छ। छातीभित्र घाउ बनाएर बस्दा रहेछन् ती अनुभूति जसले अत्यन्त खुसी दिएका थिए कुनै बेला।’ यसो भनिरहँदा उनको अवाज थरथराइरहेको थियो।

बुढो रुखको पीडा घट्नुको साटो झन् झन् बढ्दै गएको मलाई अनुभव हुन्छ। मैले उनका हातहरूलाई केहीबेर आफ्नो हत्केलामा राखेर रगेड्छु र उनको गिलासमा तातो पानी भरिदिन्छु। विगतको कुनै स्मृतिलाई देखिरहेझैँ लाग्ने उनका आँखाहरू थप अशान्त हुँदै गएका थिए।
‘के तपार्इंले मलाई एउटा चुम्बन गर्न सक्नु हुन्छ ?’ उनले एकाएक सोधे।

म जिल्ल पर्छु। थाहा छैन किन मानिस निरीह र कमजोर भएका्े बेला किन स्पर्श र साथ खोज्ने गर्छ ? सायद एउटा चुम्बन पछि उसले आफूलाई एक्लो नभएको महसुस गर्दो हो। जब पीडाले गलित हुन्छन् बुढो रुखलाई एउटा स्पर्शको आवश्यकता भएको मलाई महसुस हुन्छ।
‘तपार्इंले शान्त हुने प्रयास गर्नु भएन। बस्, आफैँलाई पीडा दिइरहनु भएको छ।’ यति भनेर मैले उनका निभ्न लागेका आँखाहरूमा चुम्बन गरिदिन्छु। केहीबेरलाई उनी शान्त हुन्छन्।

‘वाहियात ! यो संसारमा कुन चैँ त्यस्तो मानिस देख्नु भएको छ, जसले आफैँलाई पीडा दिन चाहेको होस् ?’ ‘तपाईँनै मेरो अगाडि हुनुहुन्छ, अरूलाई खोज्न म किन जाऊँ ? आफूलाई दुःख दिन अरूसँग प्रेम गर्नेहरूसँग मेरो घोर विमति छ।’
‘म निदाउन चाहन्छु सधैँका लागि। घृणा गरेर यो संसारलाई, बिर्सिदिएर सबै विग्रह र विमतिहरूलाई। निर्धक्क सुत्न चाहन्छु। तर मभित्र एउटा ननिदाउने मान्छे छ डियर स्त्री। जसले मलाई शान्त रहनै दिँदैन। नसम्झने प्रयासमा म पुनः त्यही दृश्यहरू सम्झिइरहन्छु। तिनै घटना र परिघटनाहरू मेरा वरिपरि नाचिरहन्छन्।’

यति भनेर उनी जुरुक्क उठ्छन्। र, रेलिङ्गको आड लिएर अँध्यारो सडकतिर टोलाउन थाल्छन्।
रात चकमन्न गुज्रिरहेको थियो। पर कतै कुकुर भुकेको मसिनो आवाज हामी दुवैले सुनिरहेका थियौँ।
‘यो सडक सडक मात्र होइन, यहाँ कुनै दिन मसाल बालेर कुदेका थियौँ हामी। टायर बालेर धमिल्याएका थियौँ आफू माथिको आकाश। र, गोली चलेर रगताम्मे भएको थियो चौबाटो। यी सब तथागत विगतका स्मृति मात्र हुन्, जसलाई यति बेला सम्झिने मेरो कुनै रुचि होइन। नितान्त व्यक्तिगत विषयको कुरा भइरहेको बेलामा साला, त्यो आन्दोलनको धुवाँ किन मिसिन आइपुग्छ मेरो दिमागमा ?’ उनी गनगनाउँछ र आफैँसँग झनक्क रिसाउँछन्। त्यसपछि आफ्नो स्थानमा गएर बस्छन्। र, गिलासको तातो पानी हातमा लिन्छन्।

मेरो अनुमान मात्रै होइन साँच्चिकै, यति बेला उनीभित्र घृणाको संसार उम्लिरहेको थियो। समाज, राजनीति र जीवनको अपूर्ण शब्दकोषले उनका गला अवरुद्ध हुने गर्थे। लाग्थ्यो मान्छेको व्यवहारप्रतिको आक्रोशलाई निर्मम हत्या गरेर फालिदिने चाहना उनलाई भइरहेको छ।
‘नियतिले अपूर्णता हेर्न र भोग्न पठाएको खलनायक जस्तो लाग्छ मलाई यो जीवन। शब्द र अक्षरको संसारमा जीवनको व्यवहार अटाएको हेर्न खोज्दा खोज्दै समय सकियो। तर शब्दकोश जस्तै व्यवहारकोष बनाउन सकिएन।’ भावुकतावश उनी पोखिँदै जान्छन्। र, त्यही प्रेम कथामा विलीन हुन पुग्छ, जुन यौवनको उन्मादमा उसले बिताएको हुनु पर्छ।

गङ्गामा नदी मिसिए जस्तै। हावामा हावा ठोकिए जस्तै। उनको प्रेमको आकार, निराकार भएर जान्छ।
‘आफ्नै आत्मालाई साक्षी राखेर उत्पन्न भएको भावनाको अँगालोबाट जब बाहिर परिन्छ, अनि त्यो स्पर्शको अनुभूतिमा एउटा अफिम युद्ध शुरु हुन्छ। आलिङ्गनवद्ध भएर हेरेको बिहानीपखको त्यो रातो घाम के सुन्दर थिएन ? दिनको उज्यालो मिसिँदै गर्दा तातिँदै गएको आलिङ्गनको राप कसरी चिसो हुन्छ तपाईँलाई थाहा छ ?’

‘मलाई थाहा छैन र थाहा पाउने रुचि पनि छैन।’

‘त्यो समयको खेल हो, जब समयले निष्काम बनाउँदै लैजान्छ, अनि भावनाहरू खुम्चिन थाल्छन्। उज्यालोलाई जीवनको सुन्दरता मानेर मैले पनि भनेको थिए– प्रिय उज्यालो ! तिमी त्यो अनुभूति हौ, जसले जीवनलाई बाँच्ने कला सिकाएको छ।’

‘त्यतिबेला लागेको थियो यसैगरी हिँड्ने छु। र, हिँडिरहने छु। एउटा छुट्टै संसारको यात्रा गरिरहने छु। आकाशमा उडिरहेका जोडी चराहरू जस्तै उसैको हात समातेर उडिरहने छु। बादलका मुस्लाहरूमा, पहाडका उचाइहरूमा, नदी र सिङ्गो आकाशको गहिराइहरूमा। हो अनन्तसम्म…. जीवनको अन्त्यसम्म….।’

बुढो रुखले आँखा चिम्लिन्छन्। लाग्छ, उनी त्यो गहिराइमा प्रवेश गरेका छन्, जहाँ उनले बाँचेर आएको दुनियाँ दफन भएको छ।
‘यो कुन प्रसङ्ग हो बुढो रुख ?’ मैले सोध्छु।

‘फगत सपना
फगत संघर्ष
फगत अनुभूति
फगत प्रेम
र फगत स्पर्श !’
‘जब उमेरको आवेगले ती साझा सपनाहरूको धज्जी उडाउँछ, अनि बाध्यताको पहाड मुन्तिर निउँरमुन्टी लगाएर आफ्नै आत्मविश्वासले आत्महत्या गर्छ। त्यसपछि च्यातिन्छन् प्रेमका आकृति, च्यातिन्छ फूलजस्तै मुस्कुराउने स्त्री अनुहारको मोह। तपाईँलाई थाहा छ, जब आफ्नोपनको अक्षर भत्किन थाल्छन्, तब कसरी छिन्नभिन्न हुँदै जान्छन् जीवनका सौन्दर्यहरू ?’
‘त्यस्तो कुरा थाहा पाउने रहर किन गर्नु ! तर दुर्भाग्य त्यो नियति सबैको निश्चित छ।’

‘यस्तो कुरा थाहा पाउने रहर कसैले गर्दैन योङ लेडी ! त्यसैले प्रेम विल्कुल आत्मघाती समर्पण हो। आफैसँगको डरलाग्दो ड्रग युद्ध हो ! जसमा आफ्नो सधैँ हार र समयको सधैँ जित निश्चित छ। त्यसपछि छाती चिरिने तरङ्गहरू मात्र बाँकी रहन्छन्। उकुसमुकुस बढ्छ। मन, मन नभएर काटेर नुन दलिएको घाउ भइदिन्छ। छट्पटीको कुण्डमा होमिएको जिन्दगी यस्तो लाग्छ, पल पल मर्दैछ आफ्नै काखमा। थोरै थोरै गरेर मारिरहेको छु आफैँलाई। उफ्ः त्यो घाँटी अठ्याउँदै छोड्दै, अठ्याउँदै छोड्दै गरे जस्तो अनुभूति।’

बुढो रुख सुस्ताउँछन्। मैले उनको सुस्केरामा गहिरो पीडा अनुभव गर्छु। सायद उमेर बढ्दै गएपछि यो पीडाको सिकार सबैले हुनु पर्नेछ।
‘शान्त हुने प्रयासमा प्रिय बन्छन् रक्सी र चुरोट। र, थपिँदै जान्छ नशाको लत। जसरी अहिले तपार्इंले थपिरहनु भएको छ। थप्दा थप्दै रक्सी सिद्धिन्छ, तर पीडा सिद्धिँदैन। धाराप्रवाह पानीमा थापिएर हरेक स्पर्शहरू पखाली दिने मन हुन्छ। तर अहँ ! ती घिनलाग्दा स्मृतिहरू पखालिन मान्दैनन्। हरपल ती राक्षसी क्रियाहरूले घाँटी अँठ्याइरहन्छ।’

‘यसर्थ प्रेम हत्यारा हो। खुसीको हत्यारा, सपनाहरूको हत्यारा। आशा र अपेक्षाहरूको हत्यारा। कहिलेकाहीँ त लाग्छ, स्पर्श अनुभव हुने यो छातीको बीचबाट चिरेर त्यो अनुभूतिको डल्लो बाहिर मिल्काइदिऊँ। एकपटक पखालेर मुटु फेरि सिलाइदिऊँ ! तर कसरी चिर्न सक्थेँ म आफ्नै छाती ? आफ्नै छाती चिर्ने हतियार बनाउनै कसले सक्यो र ?

थाहा छ, म यात्राको अन्तिम मोडमा छु। फेरि पनि मनभित्र अन्तरद्वन्द छ। त्यो स्त्री शक्तिले एकपटक स्पर्श गरेर जाओस् भन्ने इच्छा अझै जीवित छ।’

बुढो रुख सुस्ताउँछन्। मैले उनको सुस्केरामा गहिरो पीडा अनुभव गर्छु। सायद उमेर बढ्दै गएपछि यो पीडाको सिकार सबैले हुनु पर्नेछ। ‘शान्त हुने प्रयासमा प्रिय बन्छन् रक्सी र चुरोट। र, थपिँदै जान्छ नशाको लत। जसरी अहिले तपार्इंले थपिरहनु भएको छ। थप्दा थप्दै रक्सी सिद्धिन्छ, तर पीडा सिद्धिँदैन। धाराप्रवाह पानीमा थापिएर हरेक स्पर्शहरू पखाली दिने मन हुन्छ। तर अहँ ! ती घिनलाग्दा स्मृतिहरू पखालिन मान्दैनन्। हरपल ती राक्षसी क्रियाहरूले घाँटी अँठ्याइरहन्छ।’

‘त्यो कस्तो इच्छाशक्ति हो बुढो रुख ? यतिबेला तपाईँमा घृणा र प्रेम दुवैको अन्तरद्वन्द चलिरहेको देख्छु म। यो बीचमा तपाईँले खोजेको स्त्री स्पर्शको स्वरूप के हो ?’

‘त्यो मनको स्पर्श हो योङ लेडी। यो उमेरमा मैले खोज्ने स्पर्शको स्वरूप गर्मीले असिनपसिन भएको व्यक्तिलाई एक लहर चिसो बतासको स्पर्श जस्तै हो। त्यो हृदयलाई स्पर्श गर्ने आदर्श प्रेम हो। आदिकालदेखि स्त्री र पुरुषलाई एक बनाउँदै आएको एउटा मीठो तरङ्ग हो।’
‘आदर्श र प्रेम कसरी एउटै कुरा भयो बुढो रुख ? जहाँ आदर्श हुन्छ, त्यहाँ प्रेम भएको मैले देखेकी छैन। र, जहाँ प्रेम हुन्छ त्यहाँ आदर्श टिके जस्तो पनि लाग्दैन।’

‘यसैकारण तपाईँसँग मेरो अलौकिक प्रेम छ योङ लेडी ! तपाईँ विचारमा परिपक्व हुनुहुन्छ। र, तपाईँसँग आदर्शवादी बनिरहनु पर्दैन। आफ्नो यथार्थसँग साक्षात् हुन पाउनु पनि परम आनन्द हो। र म यतिबेला त्यो आनन्दको उचाइमा छु।’

‘हरेक व्यक्तिको अनुभवमा प्रेम र सम्बन्धको आकार फरक फरक हुन सक्छ। तर मैले स्पष्ट बुझेकी छु, खुसी विभाजित वस्तु हो। र, हामी सधैँ आधा खुसी बाँच्छौँ। भ्रम के रहन्छ भने म ऊसँग पूर्ण भएर बाँच्ने छु, त्यसपछि कुनै अपूर्णता बाँकी रहने छैन। तर त्यो यात्रा सकिएर अर्को यात्रा शुरु हुन नपाउँदै थाहा हुन्छ कि त्यहाँ पनि आधा जिन्दगी थियो। आधा प्रेम थियो।

र, आधा आधा खुसीहरू थिए। त्यसैले तथाकथित सम्बन्धहरू सबै भ्रम हुन्। तपाईँले खोजेको हृदयको स्पर्श पनि एउटा भ्रम हो। प्रिय बुढो रुख, अब तपाईँ ती भ्रमहरूबाट मुक्त हुनुहोस्। र, स्विकार्नुहोस् कि प्रेम शरीरसँग नै सम्बद्ध वस्तु हो। अझ स्पष्ट रुपमा भनिदिन्छु। प्रेम सेक्ससँग सम्बद्ध वस्तु हो, जो तपाईँबाट अब सम्भव छैन।’

‘थाहा छ योङ लेडी, मलाई सब थाहा छ। मैले खोजिरहेका कुराको कुनै अर्थ छैन। यात्रा सकिएको छ। अब मसँग मात्र सम्झनाहरू रहन सक्छन्। तिनै सम्झनाले दिने केही पीडाहरू हुन सक्छन्।

तपाईँलाई यथार्थ भन्छु यतिबेला– त्यो स्पर्श, त्यो प्रेम दुवै मेरो पीडाको विषय होइन। यो सब मैले आफ्नो कमजोरी लुकाउन तपाईँसँग मञ्चन गरेको एउटा प्रस्तुति मात्र हुन सक्छ। किनकि म जान्दछु त्यो स्त्री नहुँदी हो त म के हुँदो हूँ ? त्यो प्रेम नहुँदो हो त मैले तपाईँसँग कसरी गुनासो गरिरहेको हुँदो हुँ ? त्यसैले त्यो स्त्री नै अध्यात्म हो। र ऊसँग जोडिएको जीवन नै प्रेम हो।’
बुढो रुखको आवाज मलिन हुँदै जान्छ।

मैले आफ्ना दुवै हातहरू लगेर उनको ढल्किँदै गरेको अनुहार उठाउँछु। र, बिस्तारै आफ्नो टाउको उनीतिर झुकाउँछु। उनले आफ्ना परेलाहरू बन्द गरिसकेका हुन्छन्। मैले ती बन्द परेलामा एकपटक फेरि चुम्बन गरिदिन्छु।

उनले आँखा खोल्दैन। मानौँ ऊ यत्तिकै निदाउन चाहेको हुन्। उनले थर्थराउँदै आफ्ना हातहरू उठाउँछ र मेरो शीर बडो प्रेमपूर्वक आफ्नो छातीमा लगेर टाँस्छन्। मैले एकछिन् आफ्नो शीर उसको छातीमा राखिदिन्छु। उनी निदाउँछन्। म उठ्छु उनलाई एकछिन हेरिरहन्छु आफ्नो बाटो लाग्छु।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved